७ ट्रक स्वास्थ्य तथा खाद्य सामग्री अलपत्र

|

पर्वत : हिमालपारिको जिल्ला मुस्ताङका नागरिकका लागि तिब्बतका नागरिकहरूले पठाएको ७ ट्रक स्वास्थ्य तथा खाद्य सामग्री मुस्ताङबाट नेपाल–चीन कोराला नाकामा अलपत्र परेका छन्। 

स्थानीय प्रशासन, स्थानीय तह तथा अन्य सरकारी निकायको माध्यमबाट नआएको तथा कोरोना संक्रमणका कारण आएकाले सामग्री लिँदा जोखिम हुने सक्ने भन्दै स्थानीय तहले ती सामग्री स्विकार गर्न आनाकानी गरिरहेको छ। 

गत वैशाख २६ गतेदेखि ती सामग्री अलपत्र अवस्थामा छन्। 

विगतका वर्षहरूमा चाडपर्व, मेला तथा विपदमा दुई देशका नागरिकबीच भौतिक निर्माणका सामानदेखि खाद्यान्न लेनदेन हुने गरेको भए पनि अहिले ती सामग्री लिन नसकिने लोमान्थाङ गाउँपालिकाका प्रमुख सुवर्ण विष्टले थाहाखबरलाई बताए। ती सामग्री जसले पठाएको हो, उसले नै फिर्ता लैजानुपर्ने उनले बताए। 

स्थानीय तह भन्छ, ‘सरकार थ्रु आएन’

‘नाकामा सामग्री आएको बारेमा गाउँपालिकाले थाहा पाएको छैन, आधिकारिक व्यक्तिसँग कोअर्डिनेट गरिएको छैन। यस विषयमा म केही पनि बोल्न चाहन्नँ,’ विष्टले भने, ‘गाउँपालिकाले नचाहिने काम नगर भनेर सबैलाई भनेको हो। फेरि त्यो सामान बुझ्न को गयो मलाई थाहा छैन, जो गएको हो उसैले जिम्मा लिनुपर्छ।’

विगतका वर्ष पनि लेनदेनका कारोबार हुने गरेको थियो। तर त्यतिबेला मुस्ताङका नागरिकले आफूलाई आवश्यक सामग्री फारम भरेर पठाएपछि आउने गरेको थियो। अहिले भने फारमसमेत नभरी सामग्री ल्याइएकाले गाउँपालिकाले सामग्रीप्रति बेवास्ता गरेको हो। 

कोरोना भाइरस फैलिएको देशबाट आएको सामग्री राहतका रूपमा बुझ्न स्थानीय नागरिक तयार नहुने गाउँपालिकाका प्रमुख विष्टले बताए। ‘राहतको सामानभन्दा त मान्छेको जीवन ठूलो हो। अर्को कुरा प्रशासनलाई पनि खबर छैन, हामीलाई पनि खबर छैन। सरकारको थ्रुबाट काम भएको छैन। त्यो सामान कसरी लिन सकिन्छ?’, उनले प्रतिप्रश्न गरे। 

सामग्रीबारे स्थानीय प्रशासन पनि बेखबर

जाडो याममा हिउँदे व्यापार सकेर बेंसी झरेकालाई लकडाउनमा क्वारेन्टाइनमा राखिने गरेकाले उनीहरुलाई हुने गरी तिब्बतीहरुले ती सामग्री पठाएका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए। ती सामग्री स्विकार गर्ने र बाँड्नेबारे भने आफूलाई कुनै पनि जानकारी नआएको उनले बताए। 

‘अरू ठाउँका स्थानीय प्रशासनसँग समन्वय गरेर राहत तथा अन्य सामग्री आउने गरेको हो,’ उनले भने, ‘वैशाख २६ गते सामान झरेको भन्ने हामीले थाहा पाएका छौँ, तर यसबारे स्थानीय तहसँग पनि समन्वय नभएको सुनियो।’

लोमान्थाङका एक वडाध्यक्ष आएका सामग्रीबारे बुझ्न गएका र अहिले त्रिपालले ढाकेर सामग्री राखिएको उनले बताए। लकडाउनका कारण जनप्रतिनिधिहरू पनि हिँडडुल नगरेका, नाकाबाट सामान लिएर झर्ने बाटो अप्ठ्यारो भएकोले मुख्यतः समन्वयको अभावमै ती सामग्री तल नआएका उनले बताए। 

ल्याउने सम्भावना मरेकै हो त?

लोमान्थाङका प्रमुख विष्टले ती सामग्री फिर्ता हुने बताए पनि ग्यारेन्टी नभएको स्रोत बताउँछ। नाकामा आइपुगेका सामग्रीबारे विषयमा छलफलसमेत चलिरहेको छ। यद्यपि केही समयमै ती सामग्री लिने वा उतै फिर्ता गरिदिने भन्नेमा निधो हुने बताइएको छ। मुस्ताङका ५ गाउँपालिकामध्ये उपल्लो मुस्ताङका दुई लोघेकर र लोमान्थाङका नागरिक तथा तिब्बतियनसँग गहिरो भ्रातृत्व छ। तिब्बती नागरिकले ती दुई गाउँपालिकालाई लक्षित गरी सामग्री पठाएका हुन्। 

एन ९५ मास्क २ सय ५० थान, सर्जिकल मास्क १० हजार थान, ह्यान्ड ग्लोब्स ३ सय थान, डिसइन्फेक्सन सामग्री ९० थानलगायत सामान पठाइएका छन्। साथै क्वारेन्टाइन र आइसोलेसनमा बसेकालाई ओढ्न आवश्यक पर्ने सिरक, खाद्यान्नसमेत गरी ७ ट्रक सामान रहेको बुझिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.