|
अहिले भाडाकाे घरमा रहेकाे शसस्त्रकाे बीओपी

काठमाडौं : सीमा सुरक्षाका लागि दार्चुलामा सशस्त्र प्रहरीको आफैँ भवन बनाउने प्रक्रिया अघि बढेको छ। दार्चुलाको छाङरुमा सशस्त्र प्रहरी पोस्ट स्थापना गर्न गृह मन्त्रालयले टेण्डर आह्वान गरेको हो।

सरकारले छाङरुमा सशस्त्रको पोस्ट निर्माणका लागि ११ करोड रुपैयाँसमेत विनियोजन गरिसकेको छ। सशस्त्र प्रहरी अहिले व्यक्तिको घर भाडामा लिएर बस्दै आएको छ।   

भारतले नेपाली भूमि अतिक्रमण गरेर एकलौटी ढंगले मानसरोबर जाने सडक बनाएपछि त्यस क्षेत्रको सुरक्षाका लागि गत वैशाख २१ गतेदेखि बोर्डर आउट पोस्ट (बिओपी) स्थापना  गरी सशस्त्र प्रहरी त्यस क्षेत्रमा तैनाथ छ। अहिले सशस्त्रको बिओपी पोस्ट भारतले अतिक्रमण गरी निर्माण गरेको सडकभन्दा १३ किलोमिटर वरै छ। 

छाङरु बिओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जनाको टोली तैनाथ छ। त्यस क्षेत्रमा नेपाल प्रहरीको २१ जनाको टोली भने पहिलेदेखि नै तैनाथ रहेको गृह मन्त्रालयले जनाएको छ। नयाँ बन्न लागेको सशस्त्रको बिओपी पोस्टको भवन डेढसय प्रहरी बस्न मिल्ने सुविधासम्पन्न बनाइने जनाइएको छ। 

नयाँ भवन निर्माण भएपछि त्यस बिओपीमातहत भारत र चीनको सीमा नाकाको सुरक्षा गर्नेगरी थप दुई पोस्ट पनि स्थापना हुनेछन्। दुईवटा पोस्ट स्थापनाका लागि गृहले ठाउँसमेत पहिचान गरिसकेको छ। एउटा पोस्ट कालापानीनजिकै कौवामा बस्नेछ भने अर्काे पोस्ट चीनसँगको सिमाना तिंकरमा बस्नेछ। थप दुईवटा बिओपी पोस्ट स्थापना गर्न गृह मन्त्रालयले जग्गा अधिग्रहण गर्ने प्रक्रिया पनि अघि बढाइसकेको जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.