काठमाडौं : रोगको कुनै आँखा हुँदैन, जसलाई पनि लाग्न सक्छ। अहिले कोरोना भाइरसले विश्व आक्रान्त छ। यो संकट न्यूनीकरण गर्न हरेक वर्ग, समुदाय र राष्ट्रले आफ्नो क्षमता अनुसार काम गरिरहेका छन्। नेपाल पनि पनि यतिखेर कोरोना जोखिममा छ।
संक्रमितको संख्या बढ्दै जादा स्वास्थ्यकर्मीको महत्व बढ्नु स्वभाविक हो। फ्रन्टलाइन (अग्रपंक्ति) मा रहेर काम गर्ने महिला तथा पुरुष चिकित्सक र नर्स अहिले अनवरत बिरामीको सेवामा छन।
लुम्बिनी प्रादेशिक अस्पताल ५ नम्बर प्रदेशको मुख्य अस्पताल हो। प्रदेशका १४ जिल्लाको केन्द्र मानिने अस्पतालमा नर्सिङ अफिसरको रुपमा कार्यरत छिन ज्योति पौडेल। पाँच वर्षयता बिरामीको सेवामा अनवरत खटिएकी उनी कोरोनाजस्तो महामारी रोगलाई निस्तेज पार्न पहिलो पटक आमनेसामने भएकी छिन्। यस अघिका सरुवा रोगसँग परिचित उनी यो महामारी प्रकोपबाट नागरिकलाई जोगाउने लडाइँमा छिन्।
जब चीन , इटाली र अमेरिकामा कोरोना संक्रमितहरुले ज्यान गुमाउन थाले, तब उनमा पनि बिस्तारै डर भरिँदै गयो। सुरुवातमा उनलाई लाग्थ्यो, 'कोरोना लागेपछि मरिहालिन्छ।'
'कोरोना संक्रमित बिरामीले कम्तिमा आफुले गरेको यात्रा, भेटेको मान्छेबारे सम्पूर्ण कुरा सत्य बोलिदिए कोरोना फैलिन रोकिन सक्छ, कतिपय व्यक्तिले झुट बोलिदिनुहुन्छ, त्यसले थप जोखिम निम्तने खतरा छ।'
भाइरस फैलँदै गयो। भारत हुँदै नेपाल आयो। चैतको पहिलो साता एक जना बिरामी (अपार पौडेल) नाम परिवर्तन कोरोना परीक्षणको लागि अस्पताल आए। उनी लगायत सम्पूर्ण स्टाफ अत्तालिए। अत्तालिनु स्वाभाविक थियो, किनभने त्यति बेलासम्म नेपालमा कोरोनाबारे पूर्ण सचेतना फैलाउने काम भएको थिएन। उनी सम्झन्छिन्, 'शंका गर्दैमा कोहि व्यक्ति कोरोना संक्रमित नै हुने रहेनछ, ती व्यक्तिको परीक्षण गर्दा कोरोना नेगेटिभ आएपछिभने बल्ल शान्त भयो मन।'
विस्तारै प्रदेश सरकार र केन्द्र सरकारले कोरोना व्यवस्थापनका अनेक उपायबारे जनचेतना फैलाउने काम गरेपछि भने पौडेलले कोरोना सामान्य भाइरस रहेछ भन्ने बुझिन। समयसँगै कोरोना संक्रमितहरु बढ्दै गए। संक्रमितहरु सामान्यतया: बिरामी जस्ता नदेखिने, हाँस्ने-बोल्ने गर्न थालेपछि डर पनि कम हुँदै गयो।
अस्पतालले अहिले बहिरङ्ग विभाग (ओपिडी) बन्द गरेको छ। 'पुरानो धागो कारखाना'मा कोरोना संक्रमित व्यक्तिहरु राख्ने ठाउँ बनाएको छ। त्यहाँ हाल ३६ जना आइसोलेसनमा बसेका छन्।
बिरामीसँग सीधा सम्पर्क हुने पेशा अँगालेकी उनी कोरोनासँग भन्दा संक्रमित र संक्रमण आशंका गरेका व्यक्तिले दिने झुटो 'ट्राभल हिस्ट्री'ले कोरोना फैलनसक्ने बताउँछिन्। 'कोरोना संक्रमित बिरामीले कम्तिमा आफुले गरेको यात्रा, भेटेको मान्छेबारे सम्पूर्ण कुरा सत्य बोलिदिए कोरोना फैलिन रोकिन सक्छ, कतिपय व्यक्तिले झुट बोलिदिनुहुन्छ, त्यसले थप जोखिम निम्तने खतरा छ।'
अहिले सरकारले निर्देशिका ल्याएको छ। उक्त निर्देशिका अनुसार एक समुहले १४ दिन बिरामीको हेरचाह गर्ने र त्यसपश्चात १४ दिन क्वारेन्टाइन बस्ने, अनि ७ दिन होम क्वारेन्टाइनमा बसेपछि पुन: अस्पतालमा काम गर्ने। यो योजना अन्तर्गत नै उनी लगायत सबै नर्सले काम गरिरहेका छन्। उनको ४ वर्ष र ५ महिनाको बच्चा छ। एकातिर कोरोना र अर्कातर्फ साना बच्चाहरु रहेपनि यो संकटमा फ्रन्टलाइनमा बसेर काम गर्नुपर्दा आफूलाई गुनासो भने नरहेको उनी बताउँछिन्।
'यहाँ हरेक मान्छेहरु कोरोनासँग लडिरहेका छन्, केही व्यक्तिले भने कोरोनासँग लड्नेलाई घरबाट निकालेका छन्, यो सुहाउँदो विषय भएन, नर्सलाई घरबाट निकाल्नेले बुझ्न जरुरी छ, भोलि बिरामी भए उनीहरूबाटै उपचार गराउने हो।'
यस्तै, पुरानो मेडिकल कलेज चितवनमा इमर्जेन्सी इन्चार्जका रुपमा कार्यरत रन्जु शर्माको अनुभव पनि पौडेलकै जस्तो छ। कोरोना भाइरसको फैलावटसँगै उनले पनि कोरोनासँग जुध्न आवश्यक कक्षा लिइन्। आमाको नर्स हुने रहर पूरा नभएपछि आफ्नो र आमाको रहर पूरा गर्न नर्सिङ पेशा अँगालेकी रन्जुले कोरोना मात्र होइन, जुनसुक्कै रोगसँग लड्न आफू तयार रहेको बताउँछिन्। उनी भन्छिन्, 'नर्सहरुलाई जुनसुकै रोगसँग आमनेसामने हुन डर छैन, तर यो हिम्मतलाई सम्मान गर्न चाहिँ समाजलाई आग्रह छ।'
अस्पतालमा काम गर्नेलाई रोग बोकेर हिँडेको भन्दै नर्सलाई कोठाबाट निकालेको घटनाप्रति उनको चित्त दुखेको छ। 'यहाँ हरेक मान्छेहरु कोरोनासँग लडिरहेका छन्, केही व्यक्तिले भने कोरोनासँग लड्नेलाई घरबाट निकालेका छन्, यो सुहाउँदो विषय भएन', उनी भन्छिन् , 'नर्सलाई घरबाट निकाल्नेले बुझ्न जरुरी छ, भोलि बिरामी भए उनीहरूबाटै उपचार गराउने हो।' अस्पताललाई कोरोना बोक्ने घर जसरी व्याख्या नगर्न उनी सबैलाई सुझाव दिन्छिन।
सरकारले लकडाउन जारी राखेको छ। यो लकडाउनको पूर्ण पालना गर्न उनी आग्रह गर्छिन। कतिपय व्यक्तिहरू लकडाउनको बेला सडकमा निस्केका छन्।पेशाले गर्दा निस्किनु एउटा कुरा होला, तर रमाइलो गर्ने नाममा कोरोना भित्रिन नदिन उनी आग्रह गर्छिन।
कतिपय साथीहरुले हतोत्साहित पनि गर्ने गरेका छन्।कोरोना लागे मरिने भन्दै अनेक तर्क गरिरहन्छन्। 'कोरोना लाग्न नदिन सबै उपाय अपनाउँदै बिरामीको सेवामा लागिरहेका छौं, यदी भाइरस सरिहाले पनि मरिहालिँदैन।' उनी यसरी नै साथीहरुलाई सम्झाउँछिन।
कोरोनाको औषधि पत्ता लागिसकेको छैन। कोरोना लागेका बिरामीहरु बढी हतोत्साहित हुनसक्ने भन्दै हरेक नर्सले बिरामीलाई उर्जा दिनुपर्ने उनी बताउँछिन्। 'औषधि छैन त के भो? कतिपय बिरामीलाई हामीले गर्ने व्यवहार, ओठको मुस्कान र बोली र भाषाले पनि औषधीको काम गर्छ।'
कोशी अस्पतालमा नर्सिङ इन्चार्जको रुपमा कार्यरत लक्ष्मी श्रेष्ठ स्वास्थ्यकर्मीमा मनोवल घटेपनि आफ्नो कामबाट भने पछि नहट्ने बताउँछिन्। 'यो व्यक्तिगत समस्या होइन, अन्तर्राष्ट्रिय समस्या हो। समस्याबाट भागेर पनि पुग्ने कहाँ हो थाहा छैन', उनी भन्छिन्, 'बरु यो साझा समस्यालाई समाधान गर्नतर्फ एकसाथ अघि बढ्नुको विकल्प छैन।'
कोरोना संक्रमितसँग आमनेसामने हुँदा सुरुमा मनोवैज्ञानिक रुपमा आफू पनि बिरामी भएको अनुभव हुने गरेको उनले बताइन्। डर सँधै डरमा मात्र सीमित हुँदैन । डरको पनि एउटा निश्चित आयु हुन्छ। अचेल श्रेष्ठलाई डरको आयु सकिएको जस्तो लाग्छ। 'कोशी अञ्चल अस्पतालबाट कोरोना संक्रमितहरु निको भएर फर्किसकेका छन्, यसले झन उर्जा मिलेको छ।'
नर्सले नर्सिङ पढ्ने बेलामा नै मानवजातिको हीत र आफ्नो पेशाप्रति इमान्दार हुने कसम खाने गर्छन्। त्यो कसम पूरा गर्न संकटबाट भाग्न सकिँदैन। परिवारको पूर्ण साथ पाएकी उनले नर्सिङ पेशामा आफूलाई गर्व लागेको बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।