|

प्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गइरहेको छ। तर, यतिबेला दुई महत्वपूर्ण विषयले नेपालीहरूमा उत्साह, उत्तेजना र खुसी सृजना गरेको छ। जसले गर्दा कोरोनाको प्रभाव पनि ओझेलमा परेको भान हुन्छI यसरी सबैलाई तताउने दुई विषय हुन् -सरकारले प्रस्तुत गरेको आगामी २०७७/२०७८ को नीति तथा कार्यक्रम र सुदूरपश्चिम भूभागको अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर जेठ ५ गते मन्त्रिपरिषद् बैठकले पारित गरेको नेपालको नयाँ नक्साI

यी दुवै विषयको शुरूवाती कदम र पहल आशा एवं खुसीका विषय हुन्। तर नतिजा भने हात लागेको अवस्था होइनन्I नीति तथा कार्यक्रमले समेटेका कुरा व्यावहारिक रूपमा कार्यान्वयन भएर अपेक्षित नतिजा आउन्जेल पर्खिनु पर्नेछ। पारित भएको नेपालको नयाँ नक्साको आधारमा नेपाली भूमि आफ्नो बनाउन नसक्दा सम्म धेरै अभ्यासहरू अझै गर्नुपर्ने छI अझ दोस्रो विषय त नेपाल सरकारले मात्र निर्णय गरेर हुने विषय होइन। तर दुवै नेपाली जनताको संवेदनासँग जोडिएका विषय हुन्I

नीति तथा कार्यक्रम

संसदमा प्रस्तुत आगामी वर्षको नीति तथा कार्यक्रम मार्फत् सरकारले २०७५/०७६ मा १० प्रतिशत नजिकको वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ। आगामी वर्ष दोहोरो अंक नजिकको आर्थिक वृद्धिदर हात पार्ने लक्ष्य लिएको छ। सबै क्षेत्रलाई समेटेर राम्रो नीति तथा कार्यक्रम आएको छ तर त्यसमा सबैभन्दा बढी प्राथमिकतामा राख्नुपर्ने कृषि क्षेत्रले पनि प्राथमिकता भने पाएको छI

प्राथमिकतामा कृषि

सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोषणा गरेको छ। कृषि उत्पादन वृद्धि गर्न खेती प्रणालीलाई आधुनिकीकरण र व्यवसायीकरण गर्ने तथा जग्गाको खण्डिकरण गर्ने तथा सबै खेती योग्य जमिनको समूचित प्रयोगको नीति लिएको छ। मत्स्य उत्पादनमा आत्मनिर्भर, निर्यात योग्य उच्च मूल्यका कृषि वस्तुको उत्पादनलाई प्राथमिकतामा सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

पहाड र तराईमा सिँचाई व्यवस्थाले जोड्ने तथा बाली लगाउनुपूर्व धान, गहुँ र उखुको न्यूनतम सर्मथन मूल्य तोकिने सरकारले योजना बनाएको छ।

सरकारले गाउँपालिका र नगरपालिकामार्फत् कृषि औजार मल तथा औषधि वितरण गरिने तथा सबै किसानलाई वैज्ञानिक कृषिमा प्रेरित गर्न कृषि ज्ञान केन्द्र स्थापना गरिने नीति लिएको छ। कागजमा यि सबै विषय जायज छन् र प्रशंसनीय पनि। तर व्यवहारिकरुपमा कार्यान्वयन हुन्छ कि हुँदैन शंका कायमै छI

बजेट र बिचौलिया

कृषि क्षेत्रमा बजेट सही तरिकाले बिनियोजन नहुँदा सम्म अनि, किसानको मुहारमा हाँसो र उपभोक्तामा आफ्नै किसानको स्वस्थ उत्पादन उपभोग गर्न पाउँदाको शान्ति नभेटिएसम्म कागजमै सिमित रहनेछन्I कोरोनाको कहरमा थाहा हुँदैछ कृषि उत्पादनको महत्व र किसानको मुल्य तर सरकारले यसलाई व्यवस्थित गर्न नसक्दा उपभोक्ता आयातित, विषादी परिक्षण विनाको तरकारी तथा फलफूल र अन्य उपभोग्य वस्तु उपभोग गर्न बाध्य छन्I

राजधानी उपत्यकाका कालिमाटी र बल्खुका तरकारी व्यापारीमा कोरोना संक्रमण देखिएको समाचार आइरहँदा तरकारी किनेर खान डराउनुपर्ने अवस्था सृजना भएको छI स्थानीय उत्पादन र किसानको पहिचान अनि उनीहरूको उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था नहुँदा बारीमै तरकारी सडेर गएका दृश्य संचारमाध्यममा देख्नुपर्दा नीति निर्माताहरु संवेदनहिन भएको बोध हुन्छI मन छटपटिन्छ।

किसानकै नाममा मिल्ने अनुदान वास्तविक किसानले नपाई बिचौलियाको हातमा पुगेको हुन्छI किसानका उत्पादन बारीमा सडेर लगानी खेरगईरहेको छ भने यता सरकारले ढुवानी कर्तालाई पोषण गरिरहेको समाचार आउँछन्I कोरोना पछिको अर्थतन्त्र भनेको केवल कृषि क्षेत्रको विकास र योजना पहिलो प्राथमिकता बनेर कार्यन्वयनमा अगाडि बढेन भने चित्रको आँप खान नमिले जस्तै अवस्था आउनेछI

कागजमा लिपुलेक

गत कात्तिकमा नै भारत सरकारले जम्बू र कश्मीरलाई युनियन सरकारमा गाभेलगत्तै  नेपालको लिपुलेक लिम्पियाधुरा क्षेत्र उसको राजनीतिक नक्साभित्र पारेको थियो। भारत-चीन युद्धका बेलामा भारतीय सेनाले कालापानी भू-भागमामा अड्डा जमाए। यसरी जबर्जस्ती नै नेपाली भूभागमा सेना राखेको विषयमा नेपालले आवाज उठाइरहँदा पनि भारतले सुनेन।

पछिल्लो समयमा अतिक्रमित क्षेत्रमा सडकको उद्घाटन गरेको समाचार बाहिर आएपछि, नागरिकहरूको दबावपूर्ण आवाजको परिणाम स्वरूप सरकारलाई त्यो क्षेत्र समेटी नक्सा जारी गर्न दबाब परेको हो। आफ्नो भू-भाग फिर्ता लिने विषयमा सबै राजनीतिक दलको सहमति देखिए पनि परराष्ट्र मन्त्रालयका तर्फबाट भारतविरुद्ध निर्णय लिन र वार्ता गर्न अग्रसर रहेको पाइएको थिएन।

यस भन्दा अघि पनि कर्मचारीस्तरका धेरै वार्ताहरूमा नेपाल पछि परेको अर्थात् हेपिएको भान हुन्छ। बिगतमा पनि नेपालका राजनीतिक नेतृत्वले लगातार कूटनीतिक नोट र वार्ताको पहल गर्दापनि भारतले वास्ता गरिरहेको थिएन।

अहिले नयाँ नक्सा जारी गर्दा जुटाएका सबै प्रमाणको आधारमा सरकारले आफ्नो भूभाग फिर्ता लिन सक्रियताका साथ कूटनीतिक पहल गरेन भने नक्सामा लिपुलेक भेटिएला तर भूमिमा भारतले कब्जा नछोड्ने स्थिति आउनेछI बरू यसको लागि अन्तर्राष्ट्रिय शक्तिहरूसँग पनि पहलकदमी जारी राख्नुपर्ने हो भने यसलाई निरन्तरता दिनु जरूरी छ। प्रतिक्रियात्मक भएर मात्र होइन सक्रिय कूटनीति मार्फत अगाडि बढ्नु बुद्धिमानी हुनेछ।

कोरोनाको आतंक

मानिसहरू नेपाली राजनीति, भारतीय संचार माध्यम लगायतका विषयमा उत्तेजित भईरहँदा कोरोनालाई भुलेको भान हुन्छI सडकमा गुडेका गाडीहरू, मान्छेको चहलपहल देख्दा लाग्छ हामी सामान्य अवस्थामै छौंI यो भाइरसले विश्व आक्रान्त बनाईसकेको अवस्थामा हामीलाई पशुपतिनाथले बचाउँछन्, नेपालीहरू जस्ता रोगपनि पचाउँछन् भनेर ढुक्क भइहाल्ने स्थिति छैनI

यसको अर्थ चिन्तित हुने, तनावमा जाने अवश्य होइन तर सचेत रहने र आफ्नो जीवनशैली र आचरणमा परिवर्तन ल्याउनुभने जरूरी छI हामी २ महिना भन्दा बढी समय बन्दाबन्दीमा बसिसक्यौं अझै कति बस्नुपर्ने हो थाहा छैन यसको अर्थ हामी बिगतमा जस्तो सामान्य अवस्थामा भने छैनौंI

हाम्रो खानपान, सोचाई, जीवनको गहिराई, आफ्नो स्वास्थ्य र अस्तित्वको ज्ञान जरूरी छI कोरोना कहर समाप्त भएको छैन, यसलाई हेलचेक्र्याइँका दृष्टिले लिने र नागरिकहरूले अरू सतर्कता अपनाउनुपर्ने तथा सरकारले अरू भईआइपर्ने समस्याका लागि तयारी बस्नुपर्ने अवस्थामा छौँ हामीI

आचरण र आत्मानुशासन

इतिहासको एउटा कालखण्डमा हाम्रै पालामा हामीले यस्तो अवस्था भोगिरहेका छौंI यो भन्दा अगाडिको जीवन पनि अरूलाई जान्ने, अरूलाई नै बुझ्ने र अरूकै कुरा गरेर समय बिताएका हुन्थ्यौंI यो बन्दाबन्दी पनि २ महिना बढि बिताईसक्यौं, के हामीले आफैंलाई जान्ने, बुझ्ने र गहिराईबाट स्व-पहिचान गर्नमा समय दियौँ त ?

समय परिस्थिति अनुसार हामी संयम, मितव्ययी, सहज आचरणमा रहेर स्वस्थ र हल्का खानपान, ध्यान, योग, अत्मानुशासनमा रहने अभ्यास गरौं। आफैंमा आत्मनिर्भर पनि बन्ने बाटो पहिल्याउनु पर्छI किनभने दैनिक संक्रमितको संख्या बढ्दै गईरहेको अवस्था भएकोले सरकारले मात्र केही गर्न सक्दैन।

सडकमा गाडी गुडिरहेका छन् भन्दै आफू पनि कुद्ने पसलमा भिडभाड नगरौं। देखेको सामान सबै किनेर संचय गरेर राखौं भन्ने भावना त्यागौं। अत्यावश्यक काममा निस्केको भन्दै सवारी पासको दुरूपयोग त गर्दै नगरौं। हामीले यस्ता स्वभाव च्यापिराख्नेहो भने बाघ आयो भन्ने कथा जस्तै भएर के अत्यावश्यक र के अनावश्यक रहेछ पछुताउनुपर्ने समय पक्कै आउने छ।

बिहान र बेलुका हिंड्ने नाममा घर बाहिर निस्किने जस्ता क्रियाकलाप सामान्य रूपमै गर्नेहरू देख्दा लाग्छ यो कोरोनाको भाइरससँग कुनै डर छैनI भाइरस हो कतिबेला, को मार्फत कहाँबाट सर्छ ठेगान हुँदैनI

थप सतर्कता, क्वारेण्टाइन, आइसोलेसन, स्वास्थ्य सामग्री लगायतका विषयमा अरू तयारी अवस्थामा बस्नुपर्ने देखिन्छI कोरोनाको प्रकृति हेर्दा अझै आउँदो ८-९ महिनासम्म  पनि यसको प्रभाव कायम रहन सक्ने अनुमान गरिदैछ I त्यसैले सबैमा संयमता, सहज आचरण, सरल जीवनशैली र आत्मबोधकासाथ यो समयलाई अरू बढि उपयोगी बनाउन सके यो पनि एउटा जीवनको स्मरणीय कालखण्डका रूपमा रहने छI

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.