|

भद्रपुर : झापामा थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। झापा गाउँपालिकाका ४ बस्ने ३३ वर्षीय एक पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै जिल्लामा सङ्क्रमितको सङ्ख्या ३६ पुगेको छ। 

यसअघि कचनकवल गाउँपालिका ३३, बाह्रदशी गाउँपालिका एक र दमक नगरपालिकामा एक जनामा कोरोना भाइरसका बिरामी फेला परिसकेका छन्। त्यसमध्ये बाह्रदशी र दमकका गरी दुई जना सङ्क्रमित निको भई घर फर्किसकेका छन्, भने कचनकवलका ३३ जनामध्ये २३ जनाको धरान र १० जनाको विराटनगर कोरोना अस्पतालमा उपचार भइरहेको जनाइएको छ। 

झापा गाउँपालिकामा फेला परेका कोरोना सङ्क्रमित भारतको मुम्बईबाट आएका हुन्। रोजगारीका सिलसिलामा भारत गएका ती पुरुष जेठ ७ गते बुधबार स्वदेश फर्किएका हुन्। लुकिछिपी भारतबाट नेपाल छिरेका उनलाई गाउँ प्रवेश गर्न नदिई सोझै क्वारेनटाइनमा लगेर राखिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले जानकारी दिए।

कोरोना संक्रमण पुष्टि भएका ती पुरुष डिल्लीराज माविको क्वारेनटाइनमा बस्दै आएका थिए। उनीसहित त्यो दिन ३३ जना भारतबाट आएका थिए। उनीहरू सबैको स्वाब सङ्कलन गरी विराटनगर पठाइएको थियो। त्यसमध्ये उनको रिपोर्ट पोजेटिभ आएको हो। 

भारतीय सीमावर्ती नाकासँग जोडिएको झापामा गाउँपालिकामा पहिलो कोरोना सङ्क्रमित फेला परेको हो। सङ्क्रमित फेला परेसँगै गाउँपालिकाको ४ नम्बर वडामा उच्च सतर्कता अपनाउँदै चार किल्ला सिल गर्ने तयारीमा गाउँपालिका रहेको अध्यक्ष साहले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.