बारा : बागमती प्रदेशको पूर्व अन्तिम जिल्ला सिन्धुलीको मरिनखोलाबाट बंगुरपालन गरेर परिवार पाल्ने आशा बोकेर चित्रबहादुर बिक तराई झरे। ७ महिनाअघि २९ वर्षीय चित्र ३ बच्चालाई च्यापेर पत्नीसहित बाराको निजगढ आइपुगे।
गाउँमा बेरोजगार भएर बसेका चित्रलाई बढ्दै गरेका छोरा–छोरी हुर्काउने र पढाउने चिन्ता थपिँदै थियो। चित्रको गाउँकै छिमेकी दाइ राजन पुलामी निजगढमा बंगुरपालन गर्दै आएका थिए। उनीसंग गाउँमा आउने–जाने गर्दा बंगुरपालन बारेमा कुरा हुन थाल्यो।
साढे ६ लाखमा बंगुरपालन सुरु
बंगुरपालन गरेर उज्वल भविष्य कोर्न निजगढ झरेका चित्रलाई बंगुरपालन गर्न जीतपुरसिमरा १६ टांगियाबस्ती घरभई निजगढमै बालबच्चा पढाउन कोठामा बस्दै आएकी जेठानी दिदी इन्दिरा बिक र राजन पुलामीले साथ दिने भए।
राजनले निजगढ ७ माझीटोलमा रहेको एउटा बंगुरको खोर भाडामा भेट्टाए। चित्रको परिवार बस्ने घरसहित ५५ हजार वार्षिक भाडाको सम्झौता भयो। ७ वटा बंगुरको माउसहित तीनै जना मिलेर ५ लाख तिरेर बंगुरपालन सुरु गरे। त्यसमा १ लाख ५० हजार थपेर खोरमा एउटा भालेसहित १३ माउ भए।
बंगुरपालनमा ६ लाख ५० हजार लगानी पुग्यो। १२ वटै माउले बच्चा जन्माउन थाले। खोरभरी बंगुरका बच्चा पाठाले भरिए। ६० वटा पाठा भएपछि चित्रले मनमनै व्यावसायिक सफलताको महल बनाउन थाले।
लकडाउनले बिजोग
खोरभरी भरिएका पाठा बेच्ने बेला भयो। प्रतिपाठा ३ हजारका दरमा बिक्री हुन्छ। एकै सिजनमा दुई लाख आम्दानी हुने अवस्था बनेपछि खुसी भएका चित्रका लागि लकडाउन र हावाहुरीसहितको वर्षा तगारो बनिदिएको छ। लकडाउन सुरु भएदेखि बेच्ने ठिक्क परेका पाठा बिक्री हुन सकेको छैन।
दाना खुवाएर पाल्नुपर्दा खर्च बढेको बढ्यै छ। बजारमा दानाको अभाव भएको छ। ‘१८ बोरा दाना खुवाइसके। व्यापारीले अभाव भएको भन्दै दानाको मूल्य बढाएका छन्,’ चित्रले भने, ‘बेच्नुपर्ने पाठालाई समेत दाना खुवाउनु परेपछि खर्च बढेको छ। दानामा मात्रै ५० हजार उधारो भइसक्यो।’ उधारो बढेपछि व्यापारीले दाना दिन आनाकानी गर्न थालेको उनले गुनासो गरे।
पाठा बचाउनै मुस्किल
उधारो बढ्दै गएपछि दाना घटाउन थाले। बजारमा दाना नपाउने र व्यापारीले दिन आनाकानी गरेपछि मकै पिनेर पीठो, च्याख्ला र ढुँटोसमेत खुवाउन थालेका छन्। माउलाई कामचलाउ भए पनि पाठालाई आहारा नमिलेकाले बिरामी पर्न थालेका छन्। पाठाले छेर्न सुरु गरेपछि भेटनरी डाक्टरलाई बोलाएर उपचार सुरु गरे पनि केही दिन ठिक भएजस्तै हुने त्यसपछि पुनः बिरामी भएर मर्ने क्रम चलेको छ।
औषधि उपचारमा १२ हजार खर्च भयो तर ३० वटा पाठा मरिसके। ‘खोरमा भएका आधाजति पाठा छेरेरै मरे। बचाउन सकिएन,’ चित्रले भने–बाँकी पाठाको पनि अवस्था उस्तै छ। मरेरै सकिने हो कि भन्ने चिन्ता छ।’
हावाहुरीले सतायो
वैशाख पहिलो र दोस्रो साता हावाहुरीसहित वर्षा भयो। रातको समयमा आएको असिना पानी खोरभित्रै पस्यो। ‘खोरमा चारैतिर खुल्ला हुन्छ,’ चित्रले भने–छड्के पानी खोरमा पस्यो। चिसोले पनि पाठालाई बिरामी बनाएको हुनुपर्छ।’ चिसोले भेटेको पाठालाई आमाको दूध पुगेन। दाना पचेन। स्याहार पुगेन। पाठा बिरामी परे।
ऋणमा डुब्ने चिन्ता
पाठा बिक्री गरेर आम्दानी लिने बेलामा भएका पाठा पनि भटाभट मर्न थालेपछि चित्र तनावमा छन्। ऋण लिएर बंगुरपालन सुरु गरेका चित्रलाई ऋणको भार अझै थपिएको छ। ‘सुरुमा लिएको अढाई लाख ऋण त छँदैछ,’ चित्रले भने–‘ऋण थपिँदै गएको छ, अब कसरी ऋण तिर्ने मनमा यही चिन्ता छ।’
छोटो अवधिमा धेरै आम्दानी लिन सकिने बंगुरपालन व्यवसायमा लागेका किसानलाई अहिले दानाको समस्याले पिरोलेको छ। बंगुरका पाठा बिक्री हुन नसक्दा आम्दानी भन्दा खर्च बढी भइरहेको छ।
ऋण तिर्न विदेशिने सोच
सामूहिक बंगुरपालनमा पत्नीलाई सामेल गराएर उनी अब वैदेशिक रोजगारीमा जाने सोचमा पुगेका छन्। बंगुरपालनमा पत्नीले काम गर्ने र आफू विदेश गएर ऋण तिर्ने र घरपरिवार पाल्ने योजनामा बनाएको उनले सुनाए। ‘यहाँको आम्दानीले अवस्था फेरिने देखिएन,’ चित्रले भने–‘ऋण भार र परिवारको अवस्था उकास्नुपर्ने छ। त्यसका लागि विदेशिनुको विकल्पन देख्दिनँ।’
कोरोना भाइरसको संक्रमणका कारण आर्थिक संकट व्यहोर्नुपर्ने अवस्थाका कारण रोजगारी कटौती हुने आँकलन भइरहेको बेलामा चित्रले कोरेको वैदेशिक यात्रकाको योजना त्यति सहज छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।