पिसिआर विधिबाट मात्रै कोरोना परीक्षण गर्न आग्रह

|

काठमाडौं : सरकारले संसदमा दर्ता गरेको संविधान संसोधनको प्रस्ताव प्रमुख प्रतिपक्ष कांग्रेसले समर्थन गर्ने भएको छ।

सरकारको तर्फबाट कानुन मन्त्री डा. शिवमाया तुम्बाहाङफेले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छापमा समावेश गर्न संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेकी छन्। 

आज आइतबार बसेको कांग्रेसको पदाधिकारीको बैठकले सरकारले दर्ता गरेको प्रस्तावको समर्थन गर्ने निर्णय गरेको हो। संविधान संशोधनको लागि दुईतिहाइ मत आवश्यक हुन्छ।

कांग्रेसले यस प्रस्तावको समर्थन गर्ने निर्णय गरेसँगै संविधान संशोधनको प्रस्ताव पारित हुने भएको छ। राष्ट्रियताको विषयमा कांग्रेस सधैँ सरकारको पक्षमा रहेकोले प्रस्तावको समर्थन गर्ने निर्णय गरिएको कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले बताए। 

‘राष्ट्रियताको विषयमा कांग्रेस सधैँ स्पष्ट छ। यो विषयमा पनि कांग्रेसले आफ्नो धारणा संसद, सडक हुँदै विभिन्‍न माध्यमबाट राखिसकेको छ। त्यसैले यस विषयमा सरकारलाई कांग्रेसको साथ छ,’ उनले भने।

उनका अनुसार आजको पदाधिकारीको बैठकले संविधान संसोधन प्रस्ताव अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। नक्सा र निशान छापमा समेटिने लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्र कूटनीतिक माध्यमबाट छलफल गरेर फिर्ता ल्याउन पनि सरकारलाई कांग्रेसले साथ दिने उनको भनाई छ।  

संसदबाट उक्त प्रस्ताव पारित भएसँगै संवैधानिक रुपमै भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको हुनेछ। संविधान संसोधनको विषयमा जनता समाजवादी दलका नेताहरु अरु विषयलाई पनि यही बेलामा संसोधन गर्नेबारे आफूसँग छलफल गरेकोबारे देउवाले पदाधिकारीहरुलाई ब्रिफिङ गरेका थिए।

तर आजको बैठकमा जनता समाजवादी पार्टीले देउवासँग गरेको प्याकेजमै संविधान संशोधन गरौँ भन्‍ने प्रस्तावमा कुनै छलफल नभएको कांग्रेसले जनाएको छ। कांग्रेसले भारतसँग तत्कालै कूटनीतिक रुपमा सीमा विवाद टुंग्याउन वार्ता गर्न पनि भनेको छ।

यस्तै कांग्रेसले कोरोना भाइरस (कोभिड-१९) को विषयमा विषयान्तर भएको सम्बन्धमा सरकारलाई ध्यानाकर्षण गराउने, क्‍वारेन्टाइनको मापदण्ड अनुसार व्यवस्थापन गर्न सरकारलाई अपिल गर्ने निर्णय गरेको छ। यस्तै कोरोना परीक्षण पीसीआर प्रविधिबाट मात्रै गर्न  माग गरेको छ।

कांग्रेसले विदेशमा अप्ठेरोमा परेका नेपालीहरुलाई छिटो नेपाल फिर्ता ल्याउन समेत कांग्रेसले माग गरेको छ। भारततर्फको सीमामा अलपत्र परेका नेपालीलाई व्यवस्थित ढंगले ल्याउन र क्‍वारेन्टाइनमा सुरक्षित र व्यवस्थित तरिकाले राख्‍नसमेत माग गरिएको प्रवक्ता विश्‍वप्रकाश शर्माले बताए। 

यस्तै ६० वर्षमुनिका एकल महिला र अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा कटौति गर्ने विषयमा समेत सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.