|

बाँके : इदका बेला हरेक वर्ष नेपालगन्जको बिपी चोकस्थित इदगाहमा इस्लाम धर्मावलम्बीको ठूलो भीड लाग्ने गर्दथ्याे । नमाज बढ्न बाँकेका विभिन्न स्थानबाट इस्लाम धर्मावलम्बी इदगाहमा आउँथे । 

ठूलो संख्याका इस्लाम धर्मावलम्बीले एकसाथ नमाज पढ्ने भएकोले शुभकामना आदानप्रदान गर्न राजनीतिक दलका नेता, कार्यकर्ता, मन्त्री, पूर्वमन्त्री, सांसद, पूर्वसांसद, मेयर, विभिन्न संघ, संस्थाका पदाधिकारीसमेत बिपी चोक पुग्थे।
 
इदगाहको चौर भरिभराउ हुन्थ्यो । ढिलो गएकाहरु ठाउँ नपाएर बिपी चोकको ‘फोर लेन’ सडकमै नमाज पढ्थे । सडकमा समेत ठाउँ नपाएकाहरु आसपास घरका छतमा गएर सामूहिक नमाजमा सहभागी हुन्थे । ‘सामूहिक नमाज पढ्ने र शुभकामना दिने समयमा सुर्खेत पूरै ढाकिएको हुन्थ्यो,’ वडाध्यक्ष जुम्मन खानले भने ।
 
बिपी चोकमा सबै जना जाने भएकोले पत्रकारको ठूलो जमात पनि शुभकामना दिन र समाचार संकलन गर्न त्यहाँ पुग्ने गरेका थिए । तर यस वर्ष न नमाज पढ्न उनीहरु त्यहाँ गए न त शुभकामना दिन कोही गएका छन्। कोरोनाका कारण सबै आ–आफ्नो घरमा नमाज पढिरहेका हाजी सकिल अहमद कादरीले बताउँछन्। 

कोरोनाका कारण सबैले नमाज घरमै पढेका छन्। सामूहिक नमाज पढिसकेपछि आपसमा शुभकामना आदानप्रदान गरी आत्मीयता, भ्रातृत्व, स्नेह साटासाट गर्ने र सुख, शान्ति तथा सद्भावको कामना गर्ने चलन छ ।

‘सानो होस् वा ठूलो, गरिब वा धनी। आपसमा गला मिलाएर इदको शुभकामना आदानप्रदान गर्ने प्रचलन छ,’ उनले भने, ‘तर यस वर्ष गला नमिलाई टाढाबाट शुभकामना आदान प्रदान भइरहेको छ ।’

सामूहिक नमाज र गला मिलाएर शुभकामना दिन नपाए पनि आपसी सद्भाव र शान्ति कामना गर्दै सबैले इद मनाएका इस्लाम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरी बताउँछन्। मुस्लिम समुदायका पाँच हजारभन्दा बढी व्यक्ति हरेक वर्ष इदगाहमा आएर सामूहिक नमाज पढ्ने गर्थे। तर यस वर्ष इदगाहको मुल गेटमै ताला लागेको छ। 

‘इदगाहमा आएर सामूहिक नमाज बढ्दाको मजै बेग्लै हुन्छ, यस वर्ष खल्लो भए पनि घरमै नमाज पढेर हर्षोल्लासका साथ इद मनाएका छौँ,’ उनले भने । कोरोनाका कारण इदको अवसरमा नेपालगन्ज बजारमा पनि चहलपहल छैन। 

इदको अवसरमा गरिबलाई दान

अरबी पात्रोअनुसार नवौं महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि रोजा समाप्तिको खुसीयालीमा सोमबार इद मनाएका हुन् । मस्जिद तथा इदगाहमा महिला, पुरुष, बालबालिका सबै जम्मा हुने चलन थियो। 

नमाज पढ्नुअघि सदका ए फित्र (दान) दिनु अनिवार्य हुन्छ । खुसीपूर्वक आफूले कमाइ गरेको रकमबाट गरिबलाई दान गरिने भएकाले यो पर्वलाई ‘इद उल फित्र’ भनिएको संविधानसभा सदस्यसमेत रहेका हाजी भोला सिद्दिकी बताएँछन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.