प्रशासन भन्छ : दोषीलाई कारवाही गर्छौँ

|

पर्सा : वीरगन्जको नेसनल मेडिकल कलेजले स्वाब परीक्षणको रिपोर्ट नआई आफन्तलाई शव बुझाएको खुलेको छ। नेशनलले आफन्तलाई शव बुझाएको नौ दिनपछि ती व्यक्तिको रिपोर्ट पोजेटिभ आएको छ। 

गत जेठ २ गते नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारार्थ भर्ना भएका बाराको करैयामाई-७ का ७० वर्षीय चौधरीको पीसिआर रिपोर्ट पोजेटिभ आएको हो। चौधरीसहित नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ।   

अस्पताल भर्ना भएकै दिन ती वृद्धको स्वाव संकलन गरिएको थियो। आइसियुमा उपचारार्थ वृद्धको स्वाब परीक्षण रिपोर्ट नआउँदै गत जेठ ४ गते राति मृत्यु भएको थियो। 

कोरोनाको रिपोर्ट नआउँदै मृतकको शवलाई अस्पतालले आफन्तलाई जिम्मा लगाएको थियो। उनको दाहसंस्कार पनि भइसकेको अस्पतालका प्रवन्ध निर्देशक बसुरुद्धिन अन्सारीले पनि स्वीकारे। 

मृतकको शव आफन्तलाई जिम्मा लगाइसकेपछि जेठ ६ गते आफूहरुलाई शंकास्पद रिपोर्टको मौखिक जानकारी आएको थियो। लिखित जानकारी अझै आइनसकेको उनले स्वीकारेका छन्।  

रिपोर्ट नआउँदै बुझाउनु गल्ती

स्वाब संकलन गरी पठाएपछि त्यस्तो व्यक्तिको रिपोर्ट नआएसम्म बिरामीको मृत्यु भए पनि अस्पतालले आफन्तलाई शव दिन नमिल्ने प्रावधान रहेको चिकित्सकले नै बताएका छन्। चौधरी थरका मृतकको सन्दर्भमा नेशनल मेडिकल कलेजले त्यस्तो होसियारी नअपनाएको खुलेको छ। 

‘नेशनलबाट नारायणी अस्पतालमा स्वाव आइसेकपछि जेठ ४ गतेबाट स्वाव परिक्षण सनिङ्ग भएको हो। त्यो दिन पोजेटिभ आयो। ५ गते जेठमा पुनः परिक्षण गर्दा पनि पोजेटिभ नै आयो’, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ( मेसु ) डा मदन कुमार उपाध्यायले भने, ‘अनि जेठ ६ गते अरु स्वाबसँगै चौधरीको पनि काठमाडौंको टेकु पठाइएको थियो। त्यहाँ पनि उनको रिपोर्ट पोजेटिभ नै आएको छ।’

परीक्षण रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाउनु गम्भीर गल्ती हुने नी बताउँछन्। ‘रिपोर्ट नआएसम्म शव राख्नुपर्थ्यो’, उनले भने, ‘तर नेशनल मेडिकल कलेजले शव बुझाएर दाहसंस्कार नै भएको खबर आएको छ। त्यो बिषयमा सम्बन्धित निकायले हेर्ला, यसमा म केही बोल्दिनँ।’ 

आइसीयु विभाग बन्द 

नेशनल मेडिकल कलेजले भने मृतकको रिपोर्ट पोजेटिभ आएको हल्लासँगै ती बिरामी भर्ना गरिएको आइसीयू विभाग नै गएको ९ गते बन्द गरिएको सूचना जारी गरेको थियो। 

बन्द भएको दिन पनि दिउँसो मात्र ३ दिनका लागि भन्दै एक्कासि आइसीयु विभाग बन्द गरिएको सूचना सार्वजनिक भएको थियो। एक्कासि लिइएको निर्णयबारे कारण खोज्दा यस्तो रहस्य खुलेको हो।

आइसीयु विभाग बन्द गर्नुको कारण भने नेशनल मेडिकल कलेजले अर्कैै दिएको छ। हरेक ३-३ महिनामा आइसीयु विभाग फ्युमिगेशन गर्न यस्तो कदम लिनु परेको बहाना नेशनलले गरेको छ।

दोषीलाई कारवाही 

जिल्ला प्रशासन कार्यालयले मृतकको कोरोना रिर्पोटबारेमा आधिकारिक जानकारी आइनसकेकोले अहिले नै केही भन्‍न नमिल्ने जनाएको छ। 

यदि स्वाव संकलनपछि बिरामीको मृत्यु भएको हो र त्यसको रिपोर्ट आउनुपूर्व अस्पतालले आफन्तलाई शव बुझाएको हो भने दोषीलाई कारवाही गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.