अस्पताललाई कारबाही गरिने

|

पर्सा : परीक्षण रिपोर्ट नआउँदै आफन्तलाई शव बुझाउने वीरगन्जको नेसनल मेडिकल कलेज सिल गरिएको छ। मृतकको रिपोर्ट पोजेटिभ आएको जानकारी पाउनासाथ बाहिरी मानिसको आवतजावतमा समेत रोक लगाइएको छ। 

अस्पतालको स्वास्थ्यकर्मीबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका एसपी गंगा पन्तले बताइन्। अझ सूक्ष्म तरिकाले निगरानी गर्ने कन्ट्याक ट्रेसिङ गर्नेजस्ता काम गर्ने तयारी भइरहेको उनले जानकारी दिइन्। 

अस्पताललाई कारबाही गर्ने निर्णय 

परीक्षण रिपोर्ट नआई शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको पर्साका सहायक सिडिओ ललित कुमार बस्नेतले बताए। कारबाहीका लागि गृह मन्त्रालयमार्फत स्वास्थ्य मन्त्रालयमा सिफारिस गर्ने निर्णय भएको उनको भनाइ छ। 

मृत्युअघि उपचार भएको विभाग सिल गर्ने, उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई पिसिआर परीक्षणका लागि स्वाब संकलन गर्ने, क्वारेन्टाइनमा राख्ने र मृतकको सम्पर्कमा रहेका सबैको कन्ट्याक्ट ट्रेसिङ गर्नेलगायत काम बढाउने निर्णय भएको पनि बस्नेतले बताए। 

उपचारका लागि गएको जेठ २ गते नेसनल मेडिकलमा भर्ना भएका करैयामाई ७ का ७० वर्षीय वृद्धको जेठ ४ गते राति निधन भएको थियो। उनमा कोरोना संक्रमण भएको सूचना पाएपछि अस्पतालले आइसियू विभाग फ्यूमिगेसनको नाममा तीन दिन बन्द गरेको थियो।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.