|

काठमाडौं : कोरोना भाइरसको महामारीका कारण दुई महिनादेखि बन्द रहेको ला लिगा ११ जुनदेखि शुरु हुने सम्भावना बढेको छ। 

अध्यक्ष जभियर टेबासले जुनको दोस्रो साताबाट प्रतियोगिता हुन सक्ने बताएका हुन्। उनले स्थानीय टेलिभिजनसँगको कुराकानीमा ११ जुनबाट प्रतियोगिता गर्न सम्भव हुने बताए। 

जसमा पहिलो खेलमा रियल बेटिस र सेभिल्लाबीच प्रतिष्पर्धा हुनेसमेत उनले स्पष्ट पारेका छन्।

टेबासले अब सुरु हुने प्रतियोगिता केवल प्रतियोगितामात्रै नहुने भन्दै  कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेप्रतिको श्रद्धाञ्जली समेत हुने बताए। उनले यसको आधिकारीक घोषणा चाँडै हुने बताए।

यसअघि स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले पनि लालिगा ८ जुनपछिको अर्को साताबाट सुरु गर्न सकिने जिकिर गरेका थिए। उनले बिनादर्शकको खाली मैदानमा उच्च स्वास्थ्य सतर्कताका साथ खेल हुने बताए।

लालिगाका अध्यक्षले भने अहिले पनि महामारीबाट उत्पन्न खतरा टरिनसकेको तर अब सावधानी अपनाउन सके प्रतियोगिता गराउन सकिने आधारहरु स्पष्ट रहेको बताए। 

उनले भने, ‘अब प्रतियोगिता गराउने समय सीमित छ। त्यसैले प्रतियोगिता मिडविक र विकेन्ड दुबैमा हुने छ।’ उनले खेल हुने अघिल्लो दिन सबै टिमका सदस्यको कोरोना टेस्ट गरिने बताए । मैदान प्रवेश अगाडि खेलाडीको ज्वरो परीक्षण गरिने उनले स्पष्ट पारे ।

जारी लिगमा कोरोना महामारी सुरु हुनु अघिसम्म बार्सिलोना २७ खेलबाट १८ जितका साथ ५८ अंक बनाएर लिगको शीर्ष स्थानमा रहेको छ। 

रियल म्याड्रिड समान खेलबाट ५६ अंकका साथ दोस्रो स्थानमा रहेको छ। अब खेलमा ११ चरण प्रतिष्पर्धा बाँकी छ। प्रस्तावित कार्यतालिका अनुसार लिगको अन्तिम चरण जुलाईको अन्त सम्ममा हुने जनाइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.