प्रेममा जातीय विभेद गर्नेलाई नछाडौं

|

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले रुकुम हत्याकाण्डका दोषीलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ। कांग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै रुकुम हत्या काण्डले उब्जाएका प्रश्नमा गम्भीर बन्दै कानून हातमा लिनेलाई तत्कालै कारबाहीको माग गरेका हाे।   

कांग्रेसले जारी गरेको विज्ञप्तीमा बेपत्ता तीन यूवाको खोजी गर्न पनि सरकारसँग माग गरिएको छ।  कांग्रेसले रुकुम घटनाले सामाजिक विभेद र विसंगतिको प्रश्‍न, राज्य प्रशासनको भूमिकामा प्रश्‍न र निष्पक्ष अनुसन्धान र दण्डको प्रश्‍न उब्जाएको भनेको छ। रुकुम घटनापछि तीन वटा प्रश्नहरु उब्जीएको कांग्रेसको ठहर छ। 

१) सामाजिक विभेद र विसंगतिको प्रश्‍न

कानुनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको छ, तर नयाँ संविधान पछिको नेपालमा पनि अझै पनि यस्ता घटना हुनु दुःखद छ। नेपाली कांग्रेसले रुकुमको घटनालाई दलित समुदायमाथिको हिंसाका रूपमा लिएको छ। प्रेम सम्बन्धमा जातीय प्रश्‍न खडा गरेर भएको हत्याका दोषीहरुलाई दण्डित गर्न नेपाली कांग्रेस माग गर्दछ।

२) राज्य प्रशासनको भूमिकामा प्रश्‍न

लकडाउनका समयमा एक जिल्लाबाट अर्को जिल्लामा युवाको समूह जाँदै गर्दा प्रशासनले रोकेको भए सायद यस्तो अप्रिय घटना नहुन सक्थ्यो। राज्यको उपस्थिति न त्यसबेला देखियो न आक्रमणको घटना हुँदै गर्दा। नेपाली कांग्रेसले यो तथ्यलाई गम्भीरतापूर्वक लिएको छ र प्रशासन अनुपस्थितिउपर केन्द्रीय सरकारको धारणा माग गर्दछ।

३) निष्पक्ष अनुसन्धान र दण्डको प्रश्‍न

केही निश्चित मानिसले गरेको आक्रमणमा पूरै गाउँ समाजलाई बदनाम गराउने र दोषीलाई जोगाउने षड्यन्त्र हुनसक्ने संकेत हामीले पाएका छौं। जातीय विभेदको संकुचित मनोविज्ञानले निहत्था युवामाथि आक्रमण गर्ने जो कोही हुन्, तिनलाई कुनै ढिलाइ नगरी गहन अनुसन्धानको प्रक्रिया पूरा गरेर कानुनतः अधिकतम् दण्ड दिन नेपाली कांग्रेस माग गर्दछ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.