|

बर्दिया : सदरमुकाम गुलरिया नगरपालिकामा संक्रमितको सम्पर्कमा आएका बर्दिया अस्पतालका १४ जना स्वास्थ्यकर्मीलाई क्‍वारेन्टाइनमा राखिएको छ। जिल्लामा थप ३ जनामा कोरोना पुष्टि भएको छ। 

गुलरिया १ खैरापुर क्‍वारेन्टाइनमा बसेका १८ वर्षीय एक युवकलाई ज्वरो आएपछि जिल्ला अस्पतालमा उपचारका लागि लगिएको र उनमा कोरोना पुष्टि भएको थियो। लगत्तै उनको सम्पर्कमा आएका १४ जनालाई क्‍वारेन्टाइनमा राखिएको स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए।

उनीहरुको आजै स्वाब संकलन गर्ने तयारी भइरहेको उनले बताए। अहिलेसम्म २ सय २ जनाको रिपोर्ट दाङबाट आउन बाँकी छ। पछिल्लो समय बर्दियाबाट स्वाब संकलन गरी दाङ पठाइएको थियो। राजापुरबाट थप ६५ जनाको सोमबार स्वाब संकलन गरिएको छ।

कोरोना पुष्टि भएका ती युवक भारतको बेङ्लोरबाट आएर क्‍वारेन्टाइनमा बसेका थिए। हाल आइसोलेसनमा रहेका उनको पोजेटिभ रिपोर्ट आएसँगै उनीसँग सम्पर्कमा रहेका १४ जना स्वास्थ्यकर्मीलाई क्‍वारेन्टाइनमा राखेर अस्पताल सिल गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए। 

अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्द गरिएको छ। बर्दियामा अहिलेसम्म कोरोना संक्रमितको संख्या ७ पुगेको छ। गुलरिया नगरपालिकामा ४, बाँसगढी नगरपालिकामा १, राजापुर नगरपालिकामा १ र बढैयाताल गाउँपालिकामा १ जना छन्। 

भारतबाट आएका कारण बर्दियामा संक्रमित बढ्दै

नेपाल–भारत सीमा जोडिएको बर्दियामा भारतबाट नेपाली आउने क्रम बढिरहेको छ। कोरोना परीक्षणको दायरा पनि बढाइएको बताइएको छ। बर्दियामा एक हजार २ सय ३५ जनाको स्वाब परीक्षण रिपोर्ट आइसकेको छ। अझै एक सयभन्दा बढीको रिपोर्ट आउँन बाँकी रहेको र संक्रमितमध्ये दुईको दाङ र एक जनाको बाँके खजुरामा उपचार भइरहेको छ। 
जेठयता भारतबाट १७ सय ९८ जना जिल्ला भित्रिएका सिडिओ प्रेमलाल लामिछानेले जानकारी दिए। उनका अनुसार दैनिक ३ देखि ४ सय जना भारतबाट आइरहेका छन्। यस हिसाबले संक्रमितको संख्या अझै बढ्ने उनले बताए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.