गौरीफन्टाबाट भित्रिएका ६ जना संक्रमित

|

डडेल्धुरा : भारतबाट फर्किएका बुवाछोरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ। अछामको मेल्लखे गाउँपालिकाका–४ का ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरीमा कोरोना संक्रमण पुष्टि भएको हो।

आइतबार ३२ वर्षीय बाबुमा कोरोना पुष्टि भएको थियो। मंगलबार उनकी ११ वर्षीय छोरीमा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए। संक्रमित पुरुष छोराछोरी र श्रीमतीसहित ८ गते गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए। 

सेती प्रादेशिक अस्पतालका अनुसार उनकी श्रीमती र छोरामा भने कोरोना परीक्षण रिपोर्ट नेगेटिभ देखाएको छ। कोरोना संक्रमित संक्रमित बुवाछोरीको सेती अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ। 

गौरीफन्टाबाट आएका ६ मा संक्रमण

गौरीफन्टा नाकाबाट जेठ ८ गते उद्दार गरिएका ६ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। अछामको मेल्लेख गाउँपालिकाकी ११ वर्षीय बालिकामा आइतबार कोरोना पुष्टि भएसंगै सोही दिन उद्धार गरिएका संक्रमितको संख्या ६ पुगेको हो।

बालिकाका ३२ वर्षीय बुवामा आइतबार नै कोरोना पुष्टि भइसकेको थियो भने शनिबार चारजनामा कोरोना पुष्टि भएको थियो। गौरीफन्टामा २५ सयको भीडमा रहेका यहाँका ६ जनामा कोरोना पुष्टि भएको हो।

शनिबार बैतडीका चार जनामा कोरोनाको संक्रमण देखिएको थियो। शिवनाथ गाउँपालिकाका २० वर्षीय २ युवक, २२ वर्षीय एक युवक र २७ वर्षीय एक जनामा संक्रमण पुष्टि भएको थियो। चारै जना जेठ ८ गते भारतबाट गौरीफन्टा नाका हुँदै धनगढी भित्रिएका थिए।  

अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार संक्रमित ६ जनाकै सेती अस्पतालमा उपचार भइरहेको छ। 

उक्त दिन गौरीफन्टा नाकाबाट दुई हजार चार सय ९८ जनाको उद्धार गरिएको थियो। संक्रमित ६ जना बाहेक अधिकांशलाई अहिले सम्बन्धित पालिकाको क्‍वारेन्टाइनमा राखिएको छ।

संक्रमितको संख्या १७

सुदूरपश्‍चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ। मंगलबार अछामकी ११ वर्षीय बालिका र कैलालीको जानकी गाउँपालिकाका ३८ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसंगै संक्रमितको संख्या १७ पुगेको हो।

सुदूरपश्‍चिम प्रदेशमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए। धनगढी उप–महानगरपालिका ५ का ३४ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो। त्यसपछि चैत २२ गते थप तीन जनामा कोरोना पुष्टि भएको थियो। 

धनगढी उप–महानगरपालिका ५ की ३४ वर्षीया महिला, कैलाली लम्कीका २१ वर्षीय युवक र कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ वर्षीय युवकमा कोरोना पुष्टि भएको थियो। 

वैशाख १ गते लम्की चुहा नगरपालिका १ की ६५ वर्षीया वृद्धामा पनि कोरोना पुष्टि भएको थियो। सुदूरपश्‍चिमका संक्रमति १७ जनामध्ये पाँच जना संक्रमितले कोरोनालाई जितेर घर फर्किसकेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.