कृषक भन्छन् : मकै छियाछिया भएकाे हेर्नै सक्दैनाैं

|

बाँके। वसन्ते मकैलाई अमेरिकन फौजी किराले नोक्सान पुर्‍याएपछि बाँकेका किसान चिन्तित हुन थालेका छन्। फौजी किराले मकैमा ५० प्रतिशत क्षति पुर्‍याएको हिरमिनियाका किसान बताउँछन्। 

दाना लाग्न लागेको बेला फौजी किराले गुभो र पात खाएर सखाप पारेको डुडुवा गाउँपालिका ६ हिरमिनियाका अगुवा किसान गुरुदिन यादवले बताए। कडा खालको औषधि छर्किंदासमेत किरा नमरेको उनले बताए। धैरै पटक औषधि छर्किंदासमेत किरा नमरेपछि मकैलाई स्याहार सुसार गर्न छाडेको उनी बताउँछन्। ‘हरेक उपाय लगायौँ, तर किरा मर्ने कुनै संकेत छैन,’ उनले भने।

कोरोना भाइरस संक्रमणबाट जोगिन आह्वान गरिएको लकडाउनका कारण कृषि प्राविधिक नआउँदा उपचारमा समस्या भएको हिरमिनियाका अर्का किसान जयपाल मौर्यले बताए। ‘कृषि प्राविधिकले फोनमा सिफारिस गरेअनुसार औषधि छर्किंदा पनि किरा मर्दैनन्,’ उनले भने, ‘लकडाउनले औषधि पाउन पनि मुस्किल छ।’ 

चार बिघामा लगाएको मकै फौजी किराले नष्ट पारेको उनले बताए। किराले मकैको बोटा खाएर छियाछिया पारेको उनको दुखेसो छ। ‘अब त लागत नै नउठ्ने भन्ने चिन्ता हुन थाल्यो’, उनी बताउँछन्। हिरमिनियाका अर्का किसान रामलाल मौर्य पनि कृषि प्राविधिक ल्याउन नसकेको गुनासो पोख्छन्। ‘कृषि प्राविधिक नआउँदा वर्षभरिको कमाइ आँखै अगाडि सखाप हुँदैछ,’ उनले भने। 

प्रकोप भन्न मिल्दैन : कृषि प्राविधिक

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, मकै जोन कार्यक्रमअन्तर्गत डुडुवा गाउँपालिकाका किसानले लागाएको वसन्ते मकैमा फौजी किरा मात्र लागेको परियोजनाका निमित्त प्रमुख युवराज विकले बताए। 

मकै जोन कार्यक्रमअन्तर्गत बाँकेका विभिन्न स्थानीय तहका करिब ६ सय हेक्टर जमिनमा लगाएको मकैमा फौजी किराले क्षति पुर्‍याएको स्विकारे। मकै सखाप हुने गरी फौजी किरा भने नलागेको उनको भनाइ छ। ‘मकैमा फौजीकिरा लागेर नोक्सान त गरेको छ, तर यसलाई प्रकोप नै भन्न मिल्दैन,’ उनले भने। 

प्राविधिक भन्छन् : २० प्रतिशत मकैमा मात्र क्षति

फौजी किराले १५–२० प्रतिशत मकैमा मात्र क्षति पुर्‍याएको विकले दाबी गरे। ‘कृषकले ५० प्रतिशत भने पनि हाम्रो अध्ययनले १५–२० प्रतिशत क्षति पुर्‍याएको देखाउँछ,’ उनले भने।
 
मकै जोन कार्यक्रम लागु भएको क्षेत्रमा कोरोनाको उच्च जोखिम रहेको बताउँदै फौजीकिराले मकैमा क्षति पुर्‍याएको जानकारी पाए पनि जान नसकेकेको उनको भनाइ छ। 

मकै जोन कार्यक्रमअन्तर्गत बाँकेमा यस वर्ष सात सय २२ हेक्टरमा मकै खेती गर्ने योजना बनेको थियो। ‘हिउँदै मकै लगाउने बेला पानी परेर किसानले छर्न पाएनन्। वसन्ते मकैमा फौजीकिराले दुख दिएको छ,’ उनले भने, ‘यस वर्ष लक्ष्य पुग्ने सम्भावना कम छ।’ 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.