|

बैतडी : जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा कोरोना संक्रमितसँगै रहेका चारजना थुनुवाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ। साथै, संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका अन्य चारजनाको पनि रिपोर्ट नेगेटिभ आएको छ।

हिरासतमा रहेका २२ वर्षीय युवकमा संक्रमण पुष्टि भएपछि उनको प्रत्यक्ष सम्पर्कमा रहेकाहरुको कन्ट्राक्ट ट्रसिङ गरी स्बाव संकलन गरिएकामा उनीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए। 

यसअघि सोमबार पनि ३३ प्रहरीसहित ४६ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो। शिवनाथ गाउँपालिका घर भएका संक्रमित युवक गत बैशाख १५ देखि कर्तव्य ज्यान मुद्दामा हिरासतमा रहेका थिए। उनीसँग सम्पर्कमा रहेका गाउँका २२ जनाको रिपोर्ट भने अझै आउन बाँकी रहेको छ।

२३ जनाको स्वाब धनगढी पठाइयो

बैतडीमा आरडिटी पोजेटिभ आएका आठजना प्रहरीसहित २३ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि धनगढी पठाइएको छ। आइतबार आरडिटी पोजिटिभ आएका जिल्ला प्रहरी कार्यालयमा कार्यरत आठ प्रहरी, थुनुवा तीन, जिल्ला अस्पतालका १० स्वास्थ्यकर्मी र जिल्ला प्रशासनका तीन कर्मचारीको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको हो।  

आरडिटी पोजेटिभ आएका सबै प्रहरीलाई गोठलापानीस्थित बसपार्कमा आइसोलेसन निर्माण गरी राखिएको छ। बैतडीमा सुदूरपश्चिम प्रदेश सरकारले दुई महिनाअघि कोरोना प्रयोगशाला स्थापना गर्ने भने पनि स्थापना हुन नसक्दा पिसिआर परीक्षणका लागि धनगढी पठाउनुपर्ने बाध्यता छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.