|

सुर्खेत :  भारतबाट गाउँ फर्कंदै गरेका एक युवाको घर पुग्‍न नपाउँदै मृत्यु भएको छ। सुर्खेत जिल्लाको चिङगाड गाउँपालिका-५ का २२ वर्षीय वीरेन्द्र रोकायको एम्बुलेन्सले बोक्न नमान्दा मृत्यु भएको भारतबाट सँगै आएका छिमेकी हरिबहादुर खत्रीले जनाए। 

‘मंगलबार राति कर्णाली प्रदेश भित्रने मुख्य नाका बबईमा करिब सात बजे बजे गाडीमा बान्ता गरेका थिए, हामीले गाडीमा बसेर बान्ता आएको भनेर वास्ता गरेनौं, पछि भेरी पुलमा आएपछि छटपटाए’, उनले भने, ‘चेकपोष्टमा पुगेर एम्बुलेन्सलाई फोन गर्दा पनि एम्बुलेन्सले मानेन।’

खत्रीले भने, ‘हामीले फोन गर्दा एम्बुलेन्स आउन नमानेपछि चेकपोष्टका असई सापलाई फोन गर्न आग्रह गर्यौं, असई सापले पनि दुईवटा एम्बुलेन्सलाई फोन गर्नुभयो, इण्डियाबाट आएको भनेपछि एम्बुलेन्स आउनै मानेन’ उनले भने, ‘असई सापले एमबुलेन्स आउन मानेन, तपाईको गाउँपालिकामा फोन गरेर गाडी मगाउनुहोस् भन्नुभयो।’ ‘पछि प्रहरी र हाम्रो अनुरोेधमा हामी आएको बसले नै प्रदेश अस्पतालसम्म लगिदिएको  थियो’, खत्रीले थपे, ‘तर अस्पतालमा पनि जाँच नै गर्न नपाई ज्यान गयो।’

मृतकका आफन्तले अस्पताल पुर्‍याएको दुई घण्टापछि बिरामीको मृत्यु भएको जनाएका छन्। आफन्त खत्रीले भने, ‘अस्पताल ल्याएको बेला बिरामीको मुखबाट फिँज आइरहेको थियो, हामीलाई गेटभित्र नै छिर्न दिइएन, पछि स्कुटरमा आएका डाक्टरले छाती छाम्‍न लगाए र मृत्यु भइसकेको बताए।’

बिरामी अस्पतालको गेटभित्र छिर्नै पाएनन्  

मृतकसँगै आएका उनका दाजु गणेश रोकायले प्रदेश अस्पतालमा पनि चेक जाँच नगरिएको गुनासो गरे। साढे १० बजे अस्पताल पुगे पनि भित्र जान नदिएको उनको भनाइ छ।

‘हामीलाई बसले साढे करिब १० बजे अस्पतालमा पुर्‍याएको थियो’, उनले भने, ‘अस्पतालमा चेकजाँचको त कुरा धेरै टाढा छ, गेटभित्र टेक्न पनि दिइएन।’ पटकपटक डाक्टरलाई आग्रह गर्दा पनि हामी मिटिङमा छौँ भन्दै अलमल्याएको र साढे एक बजे आज चेक हुन्‍न भन्दै पालमा बिरामीलाई पालमा राख्‍न भनिएको दाजु रोकायले गुनासो गरे।  डाक्टरहरुले चेक गर्न को जाने भनेर छलफल गर्दागर्दै बिरामीको मृत्यु भएको उनको आरोप छ। 

बाटोमै मृत्यु भएको दाबी

यता, कर्णाली स्वास्थ्य निर्देशनालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले भने अस्पताल आउँदा बिरामीको मृत्यु भइसकेको दाबी गरेका छन्। ‘एम्बुलेन्सले बोक्न नमान्दा अस्पताल ल्याउन ढिला भएको  देखियो, अस्पतालमा डाक्टरले हेर्दा मृत्यु भइसकेको थियो’ उनले भने,  ‘अस्पतालमा उपचार नपाएको कुरा गलत हो, अस्पताल ल्याउँदा नै मृत्यु भइसकेको थियो।'

जति गर्न सक्थ्यौँ, डाक्टरसापसहित हामी खटिएका थियौं।’ उनले मृत्यु कुन कारणले भएको भन्ने कुराको यकिन रिपोर्ट आएपछि मात्र थाहा हुने बताए। कोरोना परीक्षणको रिपोर्ट आजै साँझ सात बजेसम्म आइपुग्ने उनको भनाइ छ।

बाथरोगका बिरामी

मृतकका आफन्तले मृतकले बाथरोगसम्बन्धी औषधी खाइरहेको बताएका छन्। मृतक भारतबाट आउँदा राम्रै भएको उनीहरूले जनाएका छन्। आफन्त हरि खत्रीले भारतमा हुँदा बाथरोगको औषधी खाइरहेको जनाए। ‘तीन दिनमा एक छाक मात्र खाना खाएका थियौं, औषधी पनि खान पाइएन’, उनले भने, ‘रुपैडिहाबाट राम्रै तरिकाले हिँडेको हो, पछि के भयो थाहै भएन।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.