बलात्कार, बलात्कारीसँगै बिहे, जातीय लाञ्‍छना अनि मृत्यु

|

बुटवल : साढे १२ वर्षको कलिलो उमेरमै सकियो अंगिरा पासीको जीवन। गाउँकै रोहिणी खोलाको किनारस्थित रुखमा झुण्डिएको अवस्थामा फेला परिन् उनी। मर्नुअगाडि उनले जेजे भोगिन्, त्यसले नेपाली समाजको पशुवत् बर्बरता र विवेकलाई ‘श्रद्धाञ्जली’ दिएको छ। 

उनलाई बलात्कर गरियो। समाजले ‘न्याय’ सुनायो-‘जसले बलात्कार गर्‍यो, उसैसँग बिहे गर्नुपर्छ।’ बलात्कारीकै जिम्मा लगाएर उसैको घर पठाइयो। त्यहाँबाट तल्लो जात भनेर यातना दिई निकालियो।

शुक्रबार राति ११ बजेदेखि अर्कोदिन अपरान्ह ५ बजेसम्म रुपन्देही देवदहकी दलित बालिका अंगिराले यो सबै भोगिन्। र, अन्त्यमा गाउँकै खोलाको किनारस्थित रुखमा झुण्डिएको अवस्थामा फेला परिन्। समाजले भन्यो, ‘लाज छोप्न आत्महत्या गरिछ!’ 

साढे बाह्र बर्षे अंगिराको १८ घण्टे ‘डायरी’ 

देवदह-११ मा भएको यो घटनाको उपक्रम शुक्रबार रातिबाट सुरु हुन्छ। ९ बजे खाना खाएर आमा र भाइसँग बसिरहेकी थिइन् अंगिरा। उनका बुवाको ८ बर्ष अगाडि नै भारतको दिल्लीमा मृत्यु भइसकेको थियो। 

उनलाई गाउँकै २५ वर्षीय वीरेन्द्र भरले फोन गरेर घरदेखि २०० मिटर अगाडीको रुख नजिकै बोलाए। ११ बजेतिर स्थानीय केही युवकहरुले उनीहरुलाई आपत्तिजनक अवस्थामा देखे। युवकहरुले गाउँमा हल्ला पुर्‍याए। त्यतिन्जेलमा वीरेन्द्र भागिसकेका थिए। कानुन भन्छ,‘बालबालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गर्ने, फकाउने, दवाव दिने वा धम्क्याउने जस्ता कार्य करणी अन्तर्गत पर्छन्।’

अंगिराको घरमा बज्रपात आइलाग्यो। किशोरी छोरीलाई पराई पुरुषसँग देखेपछि घरमा उनलाई गाली गरियो। केही थप्पड हानियो। तर, टारेर टर्नेवाला थिएन। गाउँमा हल्ला फैलिसकेको थियो। 

अंगिराको घरमा ‘छोरी बिग्रिसकेकीले कतै पनि विवाह हुँदैन, त्यसैमाथि हामी तल्लो जातका मान्छे कसले विवाह गर्ला’, भनेर रुवाबासी भएको थियो। अंगिरा र उनका परिवारले रोएरै रात गुजारे। त्यसरात बालिका, कानुन र मानवता एकसाथ बलात्कृत भए। 

वडाअध्यक्षकै बदमासी

यो विषयमा छलफल गर्न अर्को दिन शनिबार बिहान वडाध्यक्ष अमरबहादुर चौधरीसहित समाजका अगुवाको भेला बस्यो। समाजले ‘न्याय’ सुनायो, ‘बालिकाको अब अन्त बिहे गर्न गाह्रो छ। त्यसैमाथि दलितकी छोरी। त्यसैले वीरेन्द्रले नै अंगिरालाई श्रीमती स्वीकार गर्नुपर्छ।’ 

बैठकमा वीरेन्द्रकी आमाका पनि थिइन्। उनले तल्लो जातकी छोरीलाई बुहारी बनाउँदिन भन्दै निर्णयको विरोध गरिन्। तर, समाजको ‘न्याय’ले अबोध बालिकालाई आफ्नै बलात्कारीको हात समाती उसकै घरमा बुहारी बनेर जान बाध्य पार्‍यो। अंगिरालाई आफूमाथि के भइरहेको छ, पत्तो थिएन। 

समाजले गाउँमा पहिलेदेखि नै उनीहरुबीच प्रेम सम्बन्धको गाईंगुईं चलेको भन्दै गरेकाले बिहे नै उपयुक्त ठहराएको थियो। तर, बालबालिकासम्बन्धी ऐन-२०७५ भन्छ, ‘बालबालिकाको विवाह तय गर्ने वा बालबालिकासँग विवाह गर्ने वा गराउने मुलुकी फैजदारी कार्यविधि (संहिता) ऐन २०७४ अन्तर्गतको बालबालिकाविरुद्धको दण्डनीय कसुर हो।’ 

अंगिराकी आमा शान्तिदेवी पासीले समाजले नै सबै कुरा निर्णय गरेको बताइन्। ‘प्रधानहरु लगायत यहाँका अगुवाहरुले बिहे गरिदिन ठीक हो भने। त्यसपछि केटाको पछि लागेर छोरी गएकी थिई’, उनले भनिन्। 

‘विवाह’ पछि वीरेन्द्रको घरमा पुग्दा आमाले भित्र्याउन दिइनन्। तल्लो जातकी केटीलाई बुहारी बनाउँदिन भन्दै लठ्ठीले हानेर धपाइन्। त्यसपछि उनीहरु कहाँ गए? यो प्रहरीको अनुसन्धानको पाटो बनेको छ। 

अंगिरा अपरान्ह ५ बजे रुखमा झुण्डिरहेको अवस्थामा भेटिइन्। देवदह-२ पेटवनियाको रोहिणी खोला किनारमा उनको लाश भेटिएको थियो। प्रहरीका अनुसार उनले गुलावी रंगको सुट र कालो सुरुवाल लगाएकी थिइन्। खुट्टामा चप्पल थिएन भने कुर्ताको गलाबाट छातीसम्म च्यातिएको थियो। भित्री वस्त्र देखिएको थियो। 

१८ घण्टाको अन्तरालमा साढे १२ वर्षीय अंगिराले समाजको बर्बरता, अमानवीयता र अन्यायबाट लतारिँदै मृत्यु अंगिकार गर्न पुगिन्। उनीसँगै समाजको विवेक र चरित्र पनि रुखमा झुण्डिएको छ। 

न्यायको आशा

अंगिराका आफन्त आत्महत्या नभई हत्या भएको बताउँछन्। ‘तल्लो जात भनेर कुटपिट गरेका हुन्। मरेपछि रुखमा झुण्ड्याए। अब न्याय माग्न कहाँ जाऊँ ? ठूलामान्छेहरु कसैलाई चिन्दिनँ’, आमा शान्तिदेवीले थाहाखबरसँग भनिन्। 

घटना बाहिरिएपछि केटा पक्षबाट वीरेन्द्रका काका दुई लाख रुपैयाँ दिन्छौं, यो घटनाबारेमा हल्ला नगर्नु भनेर सोमबार बिहानै केटी पक्षकहाँ आए। त्यसपछि स्थानीयहरुले पनि हत्या नै भएको हुनसक्ने आँकलन गरेका छन्। ‘दुई लाख रुप्पे दिन्छु भनेपछि यो हत्या नै भएको हो, हामीलाई शंका लागिरहेको छ,’ प्रह्लादले भने। 

प्रहरी नै चुक्यो

तर, बलात्कार, बलात्कारीसँगै जवरजस्ती बिहे, बालिकाको मृत्यु र त्यसमाथि भइरहेको मोलमालाई देखेर पनि प्रहरीले मुद्दा चलाउन आनाकानी गरेको थियो। प्रारम्भिक अनुसन्धानबाट आत्महत्या हो भन्दै घटनालाई साम्य बनाउन खोजेको थियो प्रहरीले पनि। 

मृत्यु हुनुभन्दा अगाडि बलात्कार र बालिकालाई जवरजस्ती विवाह गराउने कार्य फौजदारी कानुनकै बर्खिलाप भएको स्पष्ट भए पनि प्रहरीले पीडितपक्षबाट किटानी जाहेरी लिन मानेको थिएन। आइतबार जाहेरी दिन गएका पीडितपक्षलाई प्रहरीले फर्काइदिएको थियो। 

यद्यपि मृत्यु भएको चार दिनमा मानवअधिकारकर्मीको दबावपछि प्रहरीले जाहेरी दर्ता गरेको छ। ‘धेरै दवावपछि मात्रै प्रहरीले जाहेरी लिन मानेको छ,’ जाहेरी दिन आफन्तसँगै ईलाका प्रहरी कार्यालय पुगेका स्थानीय अगुवा अजय रौनियारले थाहाखबरसँग भने। 

तीनविरुद्ध जाहेरी 

जाहेरीमा मृतक बालिकाकी आमा शान्ति पासीले जबरजस्ती करणी गरी छोरीको हत्या गरेको दावीसहित अभियोगमा दोषीलाई कानुनी कारबाहीको माग गरेकी छन्। 

२५ वर्षीय वीरेन्द्र भर, उनकी आमा ५० वर्षीया अकाली भर र ५५ वर्षीया शितली भरलाई विपक्षी बनाई जाहेरी आएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी प्रतीतसिंह राठौरले जानकारी दिए। उनका अनुसार बिहे गराइदिने निर्णयकर्ताका रुपमा सामेल वडाध्यक्ष चौधरीमाथि किटानी जाहेरी परेको छैन। 

वडाध्यक्ष चौधरीले बालिकाको बिहे गराइदिने निर्णयमा आफ्नो भूमिका नभएको दाबी गरेका छन्। ‘घटनाको भोलिपल्ट बैठकमा आफन्त र स्थानीयले  केटीको इज्जत गएको भन्दै कुरा राखेका थिए’, उनले भने, ‘त्यहीअनुसार समाजले नै मौखिक निर्णय गरेको हो। घटनामा मलाईसमेत मुछ्ने काम भएको छ।’

प्रहरीले आरोपित कसैलाई पक्राउ गरेको छैन। जाहेरी लिन ढिला गरेकै कारण आरोपितहरु अहिले फरार छन्। प्रहरीले अदालतबाट अनुमति लिने प्रक्रिया अगाडि बढाइएको र मुख्य आरोपीको खोजीकार्य भइरहेको बताए। ‘घटनालाई हामीले गम्भिरतापूर्वक लिएका छौं। यसबारेमा सुक्ष्म अनुसन्धान गर्नेछौं,’ डीएसपी प्रतीक सिंह राठौरले भने। लुम्बिनी प्रदेशिक अस्पतालमा पोष्टमार्टम गरेर मंगलबार नै प्रहरीले आफन्तलाई शव बुझाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.