राहत होइन, रोजगारी दिन्छौँ

|

दाङ : नेपालमा लकडाउन लागू गरिएको २ महिना नाघिसकेको छ।  लकडाउनपछि विशेष गरी दैनिक ज्याला मजुदर गर्ने तथा अतिविपन्न परिवारहरुले धेरै समस्या भोगका छन्। जसले दैनिक ज्याला मजदुर गरेर विहान साँझको आफ्नो छाक टार्ने गर्दथे। लकडाउन (बन्दाबन्दी)का कारण विकास निर्माणको काम बन्द हुँदा उनीहरु अहिले कामविहीन बनेका छन्। तर दाङका १० स्थानीय तहहरुले आ–आफ्ना नागरिकहरुलाई पहिलो चरणमा राहत वितरण गरिसेका छन्, भने दोस्रो चरणमा राहत नभई रोजगार दिने र त्यहीबापत खाद्यान्न दिने निर्णय पनि गरेका छन्।

त्यसैगरी दाङमा अहिलेसम्म ३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यसैगरी अहिले दाङमा तेस्रो मुलकबाट भन्दा भारतबाट यहाँका नागरिकहरु आउन लागेकाले त्यसका लागि के कस्ता तयारी गरिएको छ, भन्नेबारे दाङको दंगीशरण गाउँपालिका अध्यक्ष भागीराम चौधरीसँग थाहा खबर दाङ सहकर्मी विकास डाँगीले गरेको संवादको सम्पादित अंश :

कोरोना रोकथामका लागि गाउँपालिकाले कस्तो प्रयास गरेको छ?

हामीले शुरुमा कोरोना भाइरसबारे गाउँपालिकाका नागरिकहरुलाई गाउँ-गाउँमा गई जनचेतना गराउनको पहिलो प्राथाकिता दिएर काम गर्‍यौं। त्यसैगरी कोरोना भाइरसविरुद्ध लड्नका लागि हामीसँग विपद् व्‍यवस्थापन समिति छ, त्यसैलाई पूर्णता दिनका लागि गाउँपालिकास्तर, वडास्तरको टिम बनाई तयार गर्‍यौं।

त्यसैगरी हामीले लकडाउन शुरु हुनेबित्तिकै तेस्रो मुलक तथा भारतबाट आएका नागरिकहरु लगत संकलन गरी उनीहरुलाई व्‍यवस्थापन तथा स्वास्थ्य चेकजाँच गर्‍यौँ।

त्यसैगरी, लकडाउन लम्बिँदै जादा राहत संकलन गर्ने र वितरण गर्ने काम गर्‍यौँ। त्यसपछि अझ लकडाउन थपिँदै जाँदा मजदुरका लागि नेपालका विभिन्न जिल्ला गएका गाउँपालिकाका नागरिकहरु आउने क्रम बढेपछि उनीहरुको स्वास्थ्य अवस्था चेकजाँच गर्दै होम क्वारेन्टाइनमा बसाल्ने व्‍यवस्था गरेका थियौँ।

गाउँपालिकाले वितरण गरेको राहत वास्तविक पीडित परिवारले पाए होलान?

हामीले गाउँपालिकाबाट एकद्वार प्रणालीबाट प्रत्येक वडामार्फत नै राहत वितरण गरेका थियौँ। अहिलेसम्म गाउँपालिकामा ७६० परिवारहरुले राहत पाएका छन्। जुन अतिविपन्न तथा दैनिक ज्याला मजदुर, ज्येष्ठ नागरिक, असाहय, असक्तहरुले नै पाएका छन्। कसैले डबल पाएका छैनन्, भने कुनै हुने खानेलाई दिएको छैन।

वडाले टोललाई र टोलले सिफारिस गरेकालाई मात्र राहत दिएका थियौँ। अहिले पनि छिट्टफुट रुपमा राहत वितरण भइरहेको छ। हामीले १ सय ७ क्विन्टल खाद्यान्न  वितरण गरेका छौँ। प्रतिपरिवारलाई. परिवार संख्याअनुसार एक जनालाई ५ किलो चामल, दाल, नुन र तेल दिएका थियौँ। केही राहत गाउँपालिकाले खरिद गरेको थियो,भने बाँकी विभिन्न सहयोगी संघ संस्थाले सहयोग गरेका थिए।

पहिलो चरणमा दिएको राहत त सकियो होला, अब फेरि दिनुहुन्छ त?

अब हामीले राहत दिँदैनौँ, अब हामीले दोस्रो चरणमा अतिविपन्न तथा दैनिक ज्याला मजदुर गर्ने व्‍यक्तिहरुलाई रोजगार अर्थात् श्रमको व्‍यवस्था गरिदिने र त्यहीबापत उनीहरूलाई नगद दिने योजना बनाएका छौँ।

हामीसँग प्रधानमन्त्री स्वरोजागर कार्यक्रमको बजेट पनि छ, अनि गाउँपालिकामा लकडाउनका कारण बन्द भएका अधुरा विकास निर्माणका योजनाहरु रहेकोले करिब १० जनाको ग्रुप बनाई सामाजिक दूरी कायम गरी रोजगार दिने योजना बनाएका छौँ। त्यसैले गर्दा उनीहरुले काम पनि पाउने र माम पनि पाउनेछन्। साथै काम गर्न नसक्ने ज्येष्ठ नागरिक, अशक्त, अपांगहरुलाई त्यहीअनुसार वितरण गर्नेछौँ।

राहत वितरण त आफ्ना कार्यकर्तालाई मात्र दिने गरेको गुनासो छ नि?

हाम्रो गाउँपालिकामा हामीले कसैलाई कुनै पार्टीका नभनी राहत दिएका हौँ। अन्य ठाउँमा कसले के गर्‍यो त्यो मलाई थाहा भएन, तर हाम्रो गाउँपालिकामा त्यस्तो भएन। हामीले राज्यको नीतिअनुसार नै एकद्वार प्रणालीबाट राहत दिएका थियौँ। यस्तो संकटका बेला राजनीति नगरी वास्तविक पीडितलाई राहत दिएको छौँ।

क्वारेन्टान मापदण्डअनुसार छन् कि,काम चलाउ मात्र?

हामीले नेपालका लकडाउन शुरु भएपछि १० बेडको बनाएका थियौँ। पछि नेपालका विभिन्न जिल्ला र तेस्रो मुलुकबाट गाउँपालिकाका नागरिकहरु आउने क्रम बढेपछि २५ बेडको बनाएको थियौँ। फेरि पछिल्लो समयमा प्रत्येक वडाहरुमा करिब २० बेडको बनाउने निर्णयअनुसार बनाउँदै छौँ।

अहिले पछिल्लो समय भारतका विभिन्न ठाउँबाट गाउँपालिका आउन लागेका करिब ६० जनाले जानकारी गराएका छन्। त्योभन्दा पनि बढी छन्, त्यसको लागि हामीले बुझ्दै छौँ। उनीहरु यहाँ आएपछि क्वारेन्टाइनमै राखेर स्वास्थ्य चेकचाँज गरी घर पठाउनेछौँ। क्वारेन्टाइनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र नागरिकहरु बस्ने छुट्टाछुट्टै कोठाको व्‍यवस्था गरेका छौँ। हामीले क्वारेन्टाइन मात्र नभई आइसोलेसन जस्तै बनाएका छौँ।

तत्काल भारतमा अलपत्र परेका गाउँपालिकाका नागरिक आए कसरी व्‍यवस्थापन गर्नुहुन्छ?

अब भारतबाट मात्र नभई  जिल्ला बाहिरबाट गाउँपालिकामा आउने जो कोहीलाई क्वारेन्टाइनमा राखेर उनीहरूको पिसिआर परीक्षणको रिपोर्टअनुसार घर पठाइउँछौँ। पहिलेजस्तो होम क्वारेन्टाइनमा बस्ने गरी पठाउँदैनौँ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीका लागि सुरक्षा सामग्री पर्याप्‍त छ त?

हामीले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई सुरक्षा सामग्री उपलब्ध गराएका छौँ। उनीहरुलाई पिपिई, मास्क, सेनिटाइजर सामग्रीहरुको व्‍यवस्था गरेका छौँ। 

क्वारेन्टानमा बसेका कुनै व्‍यक्तिलाई स्वास्थ्यमा समस्या भए कसरी उद्धार गर्नुहुन्छ?

हामीसँग अहिले ३ वटा एम्बुलेन्स छन्। स्वास्थ्य चौकीमा एउटा पहिले थियो। त्यसैगरी गत वर्ष गाउँपालिकाले २ वटा एम्बुलेन्स सञ्‍चालन गरेको थियो। ती सबैलाई बिरामी र चालकबीच सामाजिक दूरी कायम गर्न पाटेशन गरेका छौँ। चालकहरुलाई पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छौँ। २४ सै घण्टा तयारी अवस्थामा राखेका छौँ। यदि कसैलाई कुन समस्या आए हामीले तत्काल उद्धार गरी कोरोना विशेष अस्पतालमा पुर्‍याउनेछौँ।

प्रदेश सरकारले कोरोना रोकथामको लागि के सहयोग गरेको छ?

प्रदेश सरकारले कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रत्येक गाउँपालिकालाई १० लाख दिएको छ। त्यसैगरी, हामीले अहिले कोरोना नियन्त्रण र व्‍यवस्थापनका लागि कोष स्थापना गरेको थियौँ, त्यही कोषबाट ९ लाख खर्च भएको छ। त्यसैगरी प्रदेश सरकारबाट नभई अन्य बाहिरी संघ संस्थाहरुबाट पनि गाउँपालिकालाई सहयोग भएको छ। राहत तथा स्वास्थ्य सामाग्रीहरु सहयोग भएको छ।

गाउँपालिकाका अधुरा योजना शुरु भएका छन् कि बन्द छन्?

अहिले हामीले निर्माण बाँकी रहेका अधुरा काम सुरु गरेका छौँ।  काम गर्दा सामाजिक दूरी कायम गरी गराउँदै आएका छौँ। त्यसैगरी अहिले छोटो समयमा सक्ने कामहरु अगाडि बढाएका छौँ। वडाध्यक्ष र सचिवलार्ई  कम्तीमा  सक्ने साना योजनाहरुको अगाडि बनाउनसमेत आग्रह गरेका छौँ।

अन्तमा के भन्नु हून्छ ?

अब अहिले कोरोनाले अहिले नेपाललगायत  विश्व नै आक्रान्त पारेको बेला त्यसको रोकथाम र नियन्त्रण गर्न  गाउँपालिकाको एक्लो प्रयासले नहुने भएकाले यसमा सबै साथ आग्रह गर्दछु। साथै गाउँपालिकामा देशका विभिन्न ठाउँबाट होस् वा तेस्रो मुलक, भारत जहाँबाट आएको भए तापनि नलुक्न आग्रह गर्दछु। हामीलाई जानकारी गराई आफू र आफ्नो परिवार मात्र नभई समाजलाई पनि बचाउन आग्रह गर्दछु।

भागेर लुकर कोरोनासँग युद्ध जित्न नसकिने भएकाले सबै एक भएर लाग्नसमेत गाउँपालिकाका नागरिकहरुलाई आग्रह गर्दछु।  साथै  विनाका घरबाहिर कोही ननिस्कौँ, धेरै भिडभाड नगरौँ, भिडभाडमा नजाऊँ, बाहिरबाट आएका कुनै व्‍यक्तिलाई स्वास्थ्य समस्या देखिएमा स्वास्थ्यकर्मी  वा जनप्रतिनिधिलाई खबर गर्न र लकडाउनको पूर्ण रुपमा आग्रह गर्दछु।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.