|

डडेल्धुरा : डडेल्धुरा सदरमुकाम नजिकै रहेको रातो गुराँस रिसोर्टमा एक युवतीको शंकास्पद मृत्यु भएको छ। प्रहरी जवान पदमा कार्यरत युवकसँगै रिसोर्टमा बास बसेकी उनको मृत्यु भएपछि आफन्तले उनको हत्या भएको बताएका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका ७ सल्लागाँउकी अन्दाजी २१ वर्षीय निर्मला बोहरा बुधबार बिहान रिर्सोटमा मृत अवस्थामा फेला परेकी थिइन्।

उनी अमरगढी नगरपालिका ८ मा रहेको रातो गुराँस रिसोर्टको बाथरुममा कपडा झुण्ड्याउने मसिनो ह्याङ्गरमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। डडेल्धुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले बिहान रिसोर्टबाट जानकारी पाएपछि घटनास्थलमा पुगेको र घटनाको अनुसन्धान भइरहेको बताए।

हत्या भएको आफन्ताले बताए पनि डिएसपी न्यौपानेले बोहोरोको अनुसन्धान जारी रहेको बताए। उनका अनुसार युवतीको शरीरमा बाहिरी चोट देखिएको छ। शवलाई पोष्टमार्टम गर्नका लागि डडेल्धुरा अस्पतालमा राखिएको छ।

जिल्लाको अजयमेरुस्थित प्रहरी चौकीमा कार्यरत प्रहरी जवान रामदिन चौधरीसँगै रिसोर्टमा बास बसेकी युवतीको मृत्यु भएपछि डडेल्धुरा तनावग्रस्त बनेको छ।

बुधबार बिहान करिब ७ बजेतिर ती युवतीका नाममा होटलमा कोठा बुक गरेपछि युवती रिसोर्टको कोठामा पुगेकी र त्यसकाे १५ मिनेटपछि ती युवक अर्थात् प्रहरी जवान युवतीको कोठामा पुगेको रिर्सोटका प्रबन्धक विष्णु भट्टले बताए।

प्रहरी जवान चौधरीले सरकारी रातो रंगको मोटरसाइकल प्रयोग गरेका थिए। घटनाका सन्दर्भमा प्रहरी नायव उपरीक्षक न्यौपानले शवको पोस्टमार्टम गर्नुपर्ने र पीडित पक्षले किटानी जाहेरी दर्ता गरेपछि थप अनुसन्धान गरिने बताए।

मृतक युवतीसँगै रिसोर्टमा बास बसेका प्रहरी जवान चौधरीलाई नियन्त्रणमा लिइसकेको प्रहरी स्रोतले जनाएको छ। मृतक युवतीका आफन्तहरूले युवतीले घरबाट आफ्ना सबै लुगा कपडा लिएर मंगलबार नै निस्केको बताएका छन्।

घटनामा संलग्न जो भए कारबाही हुन्छ

डिएसपी न्यौपानेले बिहीबार बिहान मात्रै शवको पोष्टमार्टम हुने जानकारी दिए। घटनाको सूक्ष्म ढंगबाट अनुसन्धान भइरहेको उनले जिकिर गरे।

‘घटनास्थलबाट मुचुल्का उठाएर ल्याइसकेका छौं। अब शव परिक्षणपछि मात्रै घटनाबारे रहस्य खुुल्ने छ’, उनले भने, ‘हत्या रहेछ भने चाहे जो सुकै होस्, दोषीलाई कारबाही हुन्छ।’

लकडाउनका बेला बन्द रहेको होटलमा भएको सो घटना निकै रहस्यमयी भएको स्थानीय बताउँछन्। मृतक युवतीका आफन्तहरुले प्रहरी जवान चौधरीका नाममा किटानी जाहेरी दिने तयारी गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.