|

जनकपुरधाम :  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकारसँग विशेष आर्थिक प्याकेज घोषणा गर्न माग गरेका छन्।

मुख्यमन्त्री राउतले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाएर कोरोनाविरुद्धको लडाईका लागि विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग गरेका हुन्। उनले भारतसँगको खुला सीमाना तथा भारतमा रोजगारी गर्दै आएका नागरिकहरुको स्वदेश फिर्ताले प्रदेशमा कोरोनाको संक्रमण बढने खतरा रहेको उल्लेख गर्दै हालको व्यवस्थापन अपुग देखिएकोले थप व्यवस्थापनका लागि विशेष प्याकेज उपलब्ध गराउन माग गरेका हुन्।

‘लकडाउनका कारण दैनिक जीवन यापनमा समस्या भोगेका  नागरिकहरुलाई प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरिएको छौंं’ पत्रमा भनिएको छ, ‘तर लकडाउन थपिदै जाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यीक बनौट, मानव विकास सुचकाङ्क र सामाजिक विकासको अवस्था समेतका आधारमा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतीपूर्ण रहेकोले संघीय सरकारबाट ठोस कार्यक्रम ल्याउन आग्रह गर्दछु।’ 

मुख्यमन्त्री राउतले कोरोना परीक्षणका लागि प्रदेश सरकारले तीन स्थानमा रियल टाइम पिसिआर संचालन गरेपनि भिटिएम किटको अभावमा अपेक्षित परीक्षण गर्न नसकिएको पनि पत्रमा उल्लेख गरेका छन्। 

उनले संघ सरकारलाई यथाशीघ्र भिटिएम किट, आवश्यक उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री उपलब्ध गराउन समेत माग गरेका छन्। साथै वैदेशिक रोजगारीमा रहेका प्रदेशका करिब १० लाख युवा स्वदेश फिर्ता हुन सक्ने सम्भावना रहेको भन्दै यसलाई दृष्टिगत गर्दै प्रदेशमा युवा रोजगार कार्यक्रम, कृषि केन्द्रित विशेष योजनाका लागी समेत विशेष आर्थिक प्याकेज उपलब्ध गराउन माग पत्र मार्फत गरिएको छ।

प्रदेश २ मा हालसम्म ३ सय २४ जना संक्रमित देखिएका छन्। ति मध्ये ९३ जना उपचारपछि घर फर्केका छन भने एक जनाको मुत्यु भएको प्रदेश सरकारले जनाएको छ।  प्रदेश सरकार, स्थानीय तह एवं स्थानीयको सहकार्य र समन्वयमा हालसम्म १६ हजार ९ सय १४ बेड क्षमताको ३ सय १ वटा क्वारेन्टाइन, आठवटै जिल्लामा कुल ६ सय ४५ बेड क्षमताको आइसोलेशन कक्षको निर्माण गरिएको छ।  प्रादेशिक अस्पताल जनकपुरलगायतका अस्पताललाई लेभल २ को कोभिड विशेष अस्पताल तोकि संक्रमितहरुको उपचार व्यवस्था मिलाईएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.