|

कञ्चनपुर : नेपाल प्रवेशको पश्चिमी सीमा नाका गड्डाचौकीमा राष्ट्रिय झण्डा फहराएको छ। १३औं गणतन्त्र दिवसको अवसर पारी बिहीबार नेपालका सबै ७७ जिल्लाको प्रतिनिधित्व हुने गरी पश्चिमी नाकामा झण्डोत्तोलन गरिएको छ। 

नेपाल र नेपालीको पहिचानका लागि भीमदत्त नगरपालिकाले पश्चिमी सीमा नाकामा ७७ फिटको स्तम्भमा नेपाली झण्डा फहराएको हो। 

भीमदत्तका नगर नगर प्रमुख सुरेन्द्र विष्ट, उपप्रमुख सुशीला चन्द सिंह र प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले संयुक्त रुपमा झण्डोत्तोलन गरेका छन्।

झण्डोत्तोलनपछि कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी खतिवडाले पश्चिमी नाकामा राखिएको झण्डाले राष्ट्रको प्रतिनिधित्व गरिएको बताए। 
‘आज गणतन्त्र दिवसको दिन फहराएको यो राष्ट्रिय झण्डाले सिंगो राष्ट्रको प्रतिनिधित्तव गर्छ’, प्रमुख जिल्ला अधिकारी खतिवडाले भने, ‘यो झण्डा हाम्रो मान, सम्मान र प्रतिष्ठा र गौरब हो।’

विदेशिएकाले देशको माया राम्ररी अनुभूति गर्न सक्ने उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी खतिवडाले विदेशबाट घर फर्किएकाहरुले झण्डाको फेदमा बसेर थकाई मेट्न सक्ने बताए। 

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले पश्चिमी नाकामा फहराएको झण्डाबाट नेपाल र नेपालीको पहिचानलाई विश्वभर थप  बलियो बनाउन सहयोग पुग्ने बताए। 

‘माटो जन्मभूमि बिस्र्यौं भने मुलुक बन्न सक्दैन, त्यसका लागि सबै हामीमा इच्छा र प्रतिवद्धता चाहिन्छ’ नगर प्रमुख विष्टले भने,‘त्यसैले यो झण्डाले विश्वभर एकताको सन्देश दिन्छ, राष्ट्रयताको सन्देश दिन्छ, राष्ट्रियता र पहिचानलाई सृदृढ बनाउन थप सहयोग पुग्छ।’

भीमदत्त नगरपालिकामा गत वर्षदेखि झण्डा फहराउने कार्य सुरु गरिएको  थियो। नगरपालिकाले झण्डासंगै पार्क निर्माण गर्ने योजना समेत बनाएको छ। गणतन्त्र दिवसको शुभकामना दिदैं नगर प्रमुख विष्टले कोरोना महामारी तेस्रो विश्वयुद्ध भन्दा पनि खतरनाक देखिएकाले सबैले एकजुट भएर सामना गर्नु पर्नेमा  जोड दिए। 

नगर प्रमुख विष्टले दार्चुलाका अतिक्रमित लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितका सबै भूमि सम्मानपूवर्क फिर्ता हुनुपर्नेमा जोड दिए। भारतमा अंंग्रेजहरुले आफ्नो शासन कालामा सन् १९२० मा महाकाली नदीमा शारदा बाँध बनाएपछि पश्चिमी नाका प्रयोगमा आएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.