अहिलेको प्रगति दुई दशकको उपलब्धि

|

काठमाडौं : सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको १४ खर्ब रुपैयाँको बजेटबारे मिश्रित प्रतिक्रिया आइरहेका छन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी बजेटको बचाउमा उत्रिएको छ भने प्रमुख प्रतिपक्षी कांग्रेसले कार्यान्वयन हुन नसक्ने प्रचारमुखी भन्दै आलोचना गरिरहेको छ।

लामो समय सत्तामा रहेर अर्थमन्त्रालयको बागडोर सम्हालिसकेका डा. रामशरण महतले डा. युवराज खतिवडाले ल्याएको यस पटकको बजेटलाई प्रचारमुखीको संज्ञा दिएका छन्। 

नेपाली कांग्रेसका नेतासमेत रहेका महतले सरकारले प्रचारात्मक शैलीको बजेट ल्याएको आरोप लगाएका हुन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले गरेको कार्यक्रममा शुक्रबार बोल्दै उनले बजेट इच्छा, आकाङ्क्षाले परिपूर्ण रहेको उल्लेख गरे। 

कृषि, रोजगारी क्षेत्रमा केही विषय समावेश गरिएको भए पनि सरकारको कार्यान्वयनको क्षमता नभएकाले आगामी आर्थिक वर्षको बजेटसमेत कार्यान्वयन हुने अवस्था नभएको महतले बताएका छन्।

शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, बैंकिङ क्षेत्रमा भएको प्रगति गएको दुई दशकबढीको उपलब्धि भएको स्पष्ट पार्दै उनले बजेट कार्यान्वयन हुन सक्नेभन्दा ठूलो रहेको उल्लेख गरे। 

कार्यान्वयन हुन सक्नेभन्दा ठूलो बजेट बनाइएको आरोप लगाउँदै उनले आफूहरुले झण्डै १४ खर्ब जतिको बजेट वस्तुपरक हुने सुझाव यसअघि दिएको स्मरण गरे।

तर पनि त्यसको सुनुवाइ नगरी हौसिएर बजेट ल्याइएको उनले बताए। बजेटको कूल ३६ प्रतिशत आन्तरिक स्रोतबाट उठाउने विषय राम्रो नभएको स्पष्ट पार्दै उनले राष्ट्रिय ऋण बढेर भावी पुस्तालाई समेत समस्यामा पार्न सक्ने चिन्ता जनाए। 

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शङ्कर शर्माले बजेटले केही विषय सकारात्मक भए पनि कार्यान्वयनको पक्षमा भने विशेष ध्यान दिनुपर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.