|

डडेल्धुरा : बिहीबार राति एक कर्मचारीले क्‍वारेन्टाइन व्यवस्थापनमा जुटेका अमरगढी नगरपालिका–१० का वडाध्यक्ष विष्णु भट्टमाथि हातपात गरेका छन्। 

अमरगढी नगरपालिका–१० बुडाली घर भएका र हाल घरेलु विकास कार्यालय डडेल्धुरामा कार्यरत जोगराज ऐरले मदिरा सेवन गरी आफूमाथि हातपात गरेका वडाध्यक्ष भट्टले बताए।

भारतबाट आएका व्यक्ति बस्ने ठाउँ नभएर बाहिर बसिरहेपछि क्‍वारेन्टाइनमा राख्नुपर्छ भनेर व्यवस्था मिलाइरहेको समयमा आफूमाथि हातपात भएको उनको भनाइ छ।

वडामा रहेको क्‍वारेन्टाइनमा ७२ जनाको व्यवस्थापन गर्नुपर्ने र विद्यालयको भवनमा मात्रै सम्भव नभएको र रेडक्रसको भवनमा क्‍वारेन्टाइन व्यवस्थापन गरिरहेको समयमा मदिरा सेवन गरी आएका ऐरले गालीगलौजसहित हातपात गरेका वडाध्यक्ष भट्टले बताए।

‘उहाँले सुरुमा मलाई गाली बेइज्जत गर्नुभयो। किन गाली बेइज्जत गरेको भनेर सोध्दा तैंले वडामा आर्थिक अनियमितता गरेको छस्। तेरो म ज्यान लिन्छु भन्दै गाली गलौज गर्दै लात्ताले हाने’, उनले भने, ‘त्यहाँ नजिकै लुकेर ममाथि आक्रमण गर्ने योजना बनाएको रैछ। ममाथि हातपात हुँदा अरु साथीले छुटाए र म बाँच्न सफल भएँ।’

गत स्थानीय तहको निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका ऐर वडाध्यक्षमा भट्टसँग पराजित भएका थिए।

जेठ ११ गते पनि विद्यालयमा क्‍वारेन्टाइन बनाउन लाग्दा ऐरले अवरोध गरेका भट्ट बताउँछन्। हातपात गर्ने ऐरलाई बिहीबार राति नै पक्राउ गरी थुनामा राखिएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.