भर्ना गराउन मन्त्री पुग्‍नुपर्‍यो

|

इटहरी : शुक्रबार झापाको कचनकवलमा २७ जनामा कोरोना संक्रमण पुष्टि भयो। कोरोना पुष्टि भएपछि शुक्रबार राति धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएका उनीहरुले रातभर सडकमै बस्‍नुपरेको छ।

प्रतिष्ठान प्रशासनले समन्वय नै नभएको भन्दै २७ जना कोरोना संक्रमितलाई शनिवार बिहानसम्म अस्पतालको गेटमै राखेको हो । दिसा, पिसाव गर्ने ठाउँ पनि नपाएर आइसोलेसन वार्ड बाहिरै खुला चौरमा उनीहरु बस्‍न बाध्य भए। 

सङ्क्रमितहरु प्रतिष्ठानको पेइङ ब्लक (जहाँ कोरोना सङ्क्रमितलाई राख्ने आइसोलेसनको पार्किङ एरिया) मा रातभर बसेका थिए। उनीहरुले रातभर केही खान पनि नदिइएको गुनासोसमेत गरेका छन्।

शनिबार बिहान प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे प्रतिष्ठानमा आएपछि मात्रै संक्रमितहरुको सोधखोजमा प्रतिष्ठानका कर्मचारीहरु लागेका थिए । मन्त्रीले घटनाबारे सोधखोज गरेपछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा लैजान थालिएको थियो ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन्। अस्पतालमा तयारी अवस्थाको बेड ७० वटा मात्रै भएकाले भर्ना लिन समस्या भएको प्रतिष्ठानका प्रवक्ता डा. निर्देश सापकोटाले बताए ।

तर बिहीबार प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीसहित प्रतिष्ठानका प्रतिनिधिसँग प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छलफल गरेका थिए । छलफलका क्रममा उपकुलपति डा. गिरीले २ सय बेड भएको र त्यसमा ५० बेड खाली रहेको बताएका थिए ।

मन्त्रीले भने 'ठूलो लापरवाही भयो'

संक्रमितहरुलाई रातभर अस्पताल बाहिर राखेकोमा प्रदेश एकका सामाजिक विकासमन्त्रीले प्रतिष्ठानमा असन्तुष्टि व्यक्त गरे। पत्रकारको प्रश्‍नमा मन्त्रीले घिमिरेले अस्पतालले बिरामी भर्ना नगरेर ठूलो लापरवाही गरेको बताए ।

घिमिरेले यस्तो गतिविधि नदोहोर्‍उन पदाधिकारीहरुलाई कडा निर्देशन दिएको पनि बताए। घिमिरेको अनुसार  झापाबाट संक्रमितलाई धरान पठाउनुअघि मन्त्रालयबाट फोकल पर्सनलाई सूचना दिइएको थियो।

‘रिपोटिङ गर्दा २ सय बेड तयार छ भन्‍ने तर सेवा गर्नु पर्दा सबै भागाभाग गर्ने?,’मन्त्री घिमिरेले भने,‘म आएपछि मात्रै विभाग प्रमुख, अस्पताल प्रमुख, भिसी आउने काम भयो। के कारणले यस्तो भयो, अब फेरि हुनुहुँदैन भनेको छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.