|
फाइल फोटो

धादिङ : धादिङको सदरमुकाम धादिङबेसीमा जिल्ला बाहिरबाट तरकारी ढुवानी गर्न रोक लगाइएको छ। उता सदरमुकामसँगै सिमाना जोडिएको सिद्धलेक गाउँपालिकाका किसान तरकारी बेच्न नपाएर खेतबारीमा कुहाउन बाध्य छन्।

बाहिरी जिल्लाबाट तरकारी ल्याउँदा कोरोना संक्रमण फैलनसक्ने भन्दै स्थानीय टोल सुधार समिति, उद्योग वाणिज्य संघ र चेम्बर अफ कर्मश लगायतका संस्थाले तरकारी ढुवानीमा रोक लगाएपछि जिल्लाभित्रकै किसानले पनि आफूले उत्पादन गरेको तरकारी बजारसम्म लैजान सकेका छैनन्। 

लकडाउनको शुरूवातसँगै तरकारी ढुवानी रोकिँदा सदरमुकाममा ताजा तरकारी अभाव छ भने जिल्लाका व्यवसायिक तरकारी उत्पादन हुने क्षेत्रका किसान बजारको समस्याले तरकारी फाल्न बाध्य भइरहेका छन्।

धादिङको सिद्धलेक, गजुरी, बेनिघाटरोराङ, गल्छी, थाक्रे गाउँपालिका र धुनिबेंसी नगरपालिकास्थित राजमार्ग आसपासका सुन्दरपानी, बुङचुङ, सलाङघाट,चरौदी, बिशालटार, मझिमटार, ज्यामिरेघाट, रिचोकटार, छबिसे, आदमटार, बेलिनिटार, केउरेनीटार, कल्लेरीटार लगायतका स्थान तरकारी उत्पादनका लागि प्रख्यात छ।

जिल्लाकै डल्टार, भल्टार, सिम्ले, बालुवाफाँट, केवलपुर, धार्के, नौबिसे लगायतका स्थानहरुमाहरुमा पनि व्यवसायिक आकारमा तरकारी खेती गर्ने गरिएको छ। धादिङ जिल्लामा उत्पादन भएको तरकारी राजधानी काठमाडौँका साथै चितवन, पोखरा,  बुटवल र नेपालगन्ज लगायतका शहरमा बिक्री हुने गर्दछ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम गर्न सरकारले जारी गरेको लकडाउनको कारण किसानले उत्पादन गरेको तरकारी बिक्री हुन सकेको छैन। सरकारले लकडाउन कडाई गर्ने क्रममा आवश्यक समन्वय र व्यवस्थापन नगर्दा उत्पादित तरकारी बिक्री नभएको र खेतबारीमा नै कुहिन थालेको थांक्रे बालुवाफाँटका किसान बद्री रुपाखेती बताउँछन्। 

सरकारीले ताजा तरकारी ढुवानीमा रोक नलगाएको भएपनि ढुवानीका लागि सवारी साधन व्यवस्थापन नहँदा बजारसम्म तरकारी पुर्‍याउन नसकिएको किसानहरुको गुनासो छ। उता बजार पुर्‍याएको तरकारी पनि एकै ठाउँमा बिक्री नहुने समस्या रहेको छ। 

लकडाउन शुरू भएपछि धादिङका किसानहरुले फलाएको काँक्रो, फर्सी, बन्दा, घिंरौला, चिचिन्डा, गोलभेडा, भन्टा, बोडी, काउली लगायतको तरकारी बजार पुर्‍याउन सकिएको छैन। व्यापारीहरु आउनसक्ने आशमा खेतबारीमा टिपेर राखिएको तरकारी त्यतिकै कुहिने गरेको सिद्धलेक गाउँपालिका वडा नं १ का किसान कमला भट्ट बताउँछिन्‌। 

नियमित तरकारी लिन आउने व्यापारीहरुले काठमाडौंमा तरकारी किन्ने मान्छे नभएको भन्दै किसानको तरकारी उठाउन छाडेका छन्। सस्तो मूल्यमा दिँदा पनि लैजान नमानेपछि खेतबारीमै कुहाएर फाल्नु परेको केवलपुरका अगुवा कृषक श्यामचन्द्र आचार्यले बताए। 

लकडाउन नहुँदै टिप्ने समय नभएको र टिप्ने समयमा लकडाउनले बजार पठाउन नपाएपछि तरकारी खेतीका लागि गरिएको लगानी डुबेर ऋणमा फसेको गल्छी २ बेलिनिटारका धर्मराज खतिवडाले बताए।

लकडाउनका कारण बजार र सवारीसाधन बन्द रहेकाले तरकारी संकलन केन्द्रहरु पनि बन्द भएका छन्‌। संँधैभरि तरकारीले भरिभराउ हुने बुङचुङ, सलाङघाट,चरौंदी, विशालटार, मलेखु, गजुरी, आदमघाट, धार्के, थाक्रे लगायतका स्थानमा रहेका तरकारी संकलन केन्द्रहरु यतिखेर सुनसान जस्तै छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.