४ वटा एक्जाभेटर र १० वटा टिपर नियन्त्रण

|

सिमरा  : मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको  भन्दै जिल्ला समन्वय समिति बाराले ३ खोलाका १४ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ।

जितपुरसिमरा उपमहानगरपालिकाअन्तर्गत ३ वटा खोला अनुगमन क्रममा समितिले ४ वटा एक्जाभेटर र १० वटा टिपरको चाबी शनिबार नियन्त्रणमा लिएको हो। 
‘खोलाको बहाव जथाभावी हुनेगरी असाध्यै लापरवाही ढंगले उत्खनन गरेको भेटिएको छ,’ बाराका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले भने। 

जिसस बारा सभापति नवलकिशोर सिंह, बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, प्रहरी प्रमुख कृष्ण पंगेनी र सशस्त्र प्रहरी प्रमुख दिग्विजय सुवेदीलगायत टोलीले आज जितपुरसिमरा उपमहानगरअन्तर्गत पसाहा, वालगंगा, र दुधौरा खोला अनुगमन गरेको थियो। 

वातावरणीय प्रभाव मूल्यांकनविपरीत ३ मिटरभन्दा बढी खनेको जथाभावी खोला ‘च्यानलाईजेसन’ गरेकाले तीन वटै खोलामा उत्खनन प्रयोग गरिएका साधनको साचो जफत गरिएको हो। स्थानीय प्रशासनको दबाबपछि माघ मसान्तमा बुझाउनुपर्ने नदीजन्य उत्खननबापतको दोस्रो किस्ताको राजस्व रकम बुझाएर ठेकेदारहरुले उत्खनन थालेका समितिले जनाएको छ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार नदीजन्य उत्खननको जिम्मा पाएका स्थानीय तहले नै राजस्व संकलनलाई मात्रै मुख्य प्राथमिकता राख्दा  ठेकदारको मनोबल बढ्दै गएको हो। ‘नियमविपरीत जथाभावी उत्खनन गर्ने ठेकदारलाई नगरपालिकाले पनि कारवाही गर्न सक्नुपर्छ’, बाराका एसपी पंगेनीले भने, ‘होइन भने हामीले मात्रै दिनकै अनुगमन गरेर चाबी खोसेर साध्य हुदैन।’

शनिबार गरिएको आकस्मिक अनुगमनका क्रममा ठेकदारले आफूअनुकूल जथाभावी उत्खनन गरेको भेटिएको बाराका सिडिओ पण्डितले जनाए। ‘हामीले ४ ओटा एक्जाभेटर र १० ओटा टिपरको चाबी नियन्त्रणमा लिएका छौं, भोलि (आइतबार) बिहान समन्वय समितिको बैठक बसेर कारवाहीको निर्णय गरेर मात्रै चाबी फिर्ता दिन्छौं,’ प्रजिअ पण्डितले भने। 

मंसिर दोस्रो साता जितपुरसिमरा उपमहानगर र ठेकदारबीच २ सय ७० दिन (जेठ मसान्तसम्म) ९४ लाख घनफिट नदीजन्य उत्खनन गर्ने सम्झौता भएको थियो।तर, पटक पटक चरम लापरवाही गरेर नदीजन्य उत्खनन गरेका ठेकदारहरुले हालसम्म कति उत्खनन, भण्डारण  र बेचबिखन गरे भन्ने विवरण जितपुरसिमरा उपमहानगरसँग पनि छैन। 

प्रतिखोला भ्याटसहित साढे ३ करोड देखि पौने ४ करोडमा उत्खनन जिम्मा लिएका ठेकदारहरुले माघ मसान्तमा बुझाउनुपर्ने राजस्व रकम केही दिनअघि मात्रै चेकमार्फत बुझाएका नगरपालिकाले जनाएको छ। 

ठेकेदार र जिससको मिलेमतो !

बालगंगा खोला अनुगमन समितिका संयोजक तथा जितपुरसिमरा १५ का वडाध्यक्ष रामप्रसाद लामिछानेले खोला उत्खनन गर्ने ठेकदार र अनुगमन गर्ने समन्वय समितिबीच मिलेमतो भएको आरोप लगाएका छन्। 

‘खोला उत्खननमा यसअघि पनि चरम लापरवाही भएको हो, तर आज समन्वय समितिले चाबी खोसेर नदीजन्य साम्रगीको मूल्य बढाउन मद्दत पु¥याएको छ, यसमा ठेकदार र समितिबीच मिलेमतो भएको देखिन्छ’, वडाध्यक्ष लामिछानेले भने। 

सरकारकाले कोरोना भाइरस संक्रमण फैलन नदिन जारी गरेको लकडाउनका कारण चैत ११ गतेदेखि बन्द रहेको नदीजन्य उत्खनन कार्य गत सातादेखि थालिएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.