|

बारा : कोरोना संक्रमितको संख्या बढ्दै गएपछि बाराको १६ वटै स्थानीय तहले आईसोलेसन वार्ड निर्माण गर्ने भएका छन्।

जिल्ला विपद व्यवस्थापन समितिको बैठकको निर्णयनुसार सबै स्थानीय तह आइसोलेसन वार्ड बनाउन जुटेका छन्। उपमहानगरपालिकाले ५०, नगरपालिकाले २५ र गाउँपालिकाले १० शय्याको आइसोलेसन वार्ड निर्माण गर्न लागेको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए।

जिल्लाभरमा १२९ वटा शय्याका आइसोलेसन छ। जसमा ४६ जना संक्रमितको उपचार भइरहेको छ।

क्वारेन्टाइन बढाइँदै

बाराका केही स्थानीय तहमा क्वारेन्टाइनको कम भएकाले त्यसलाई समेत बढाइने भएको छ। परवानीपुर गाउँपालिका प्रसौनी र फेटा गाउँपालिकामा कम संख्याको क्वारेन्टाइन भएकाले क्षमता बढाउन लागिएको हो। यी गाउँपालिकाहरुले दुई दिनभित्र ४० शय्याको क्वारेन्टाइन र १० शय्याको आइसोलेसन बनाउने छन्।

अहिले बारामा १७ वटा क्वारेन्टाइनमा एक हजार २७८ वटा शय्या क्षमता रहेको छ। त्यसमा एक हजार २४० जना रहेका छन्। त्यसैगरी एक हजार १०० जना भने होम क्वारेन्टाइनमा छन्। 

जिल्ला समन्वय समिति बाराका प्रमुख नवलकिशोर सिंहले क्वारेन्टाइन र आइसोलेसन दुवैको क्षमता बढाउनुपर्ने अवस्था आएको बताए। संक्रमित बढिरहेको अवस्था र भारतलगायतका विभिन्न ठाउँबाट आएकालाई सिधैं क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले तत्काल क्षमता बृद्धि गर्नुपर्ने देखिएको उनले बताए ।

परीक्षणका लागि क्याम्पसमा क्वारेन्टाइन 

कलैयास्थित रामराजा बहुमुखी क्याम्पसलाई करिब ३०० शय्याको क्वारेन्टाइन बनाइने भएको छ। त्यसका लागि संघीय संसदको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट ५० प्रतिशत र कलैया उपमहानगरपालिकाबाट ५० प्रतिशत खर्च व्यहोर्ने गरी कलैया उपमहानगरपालिकाबाट सञ्चालन गर्ने निर्णय भएको छ।

कलैया उपमहानगरपालिकाको जनसंख्या तथा भारतलगायत अन्य मुलुकमा गएका व्यक्तिहरु फर्किने बढ्दो संख्यालाई मध्यनजर गर्दै क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण गर्न क्याम्पसमा क्वारेन्टाइन बनाउने लागिएको कलैया उपमहानगरपालिकाका प्रमुख राजेश राय यादवले बताए। नारायणी सिंचाइ कार्यालयमा निर्माण गर्न समय लाग्ने देखिएको र प्रदेश सरकारबाट अस्थायी कोरोना अस्पताल निर्माण गर्न सहमति नभएकोले क्याम्पसमा बनाउने निर्णय भएको छ।

जिल्लामा हालसम्म ९२४ जनाको स्वाब संकलन गरिएकोमा २३७ जनाको अझै रिर्पोट आउन बाँकी छ। कलैया र जीतपुरसिमरामा कोभिड अस्थायी अस्पताल रहेका छन्। शैक्षिक तालिम केन्द्रमा निर्माण गरिएको अस्थायी अस्पतालमा ४६ जना उपचाररत छन्।

त्यस्तै, बैठकले कोरोना संक्रमण बढ्दै गरेको मध्यनजर गर्दै तत्काल दुई हजार पाँच थान पिसिआर टेस्टका लागि भेटिएम किट र एक हजार ५०० थान आरडिटी किट उपलब्ध गराउन अनुरोध गर्ने निर्णय भएको प्रजिअ पण्डितले जानकारी दिए। 

६ स्थानीय तहमा संक्रमित

बाराको ६ वटा स्थानीय तहमा कोरोना संक्रमण फैलिएको छ। तीमध्ये सबैभन्दा बढी महागढीमाई नगरपालिकामा संक्रमित रहेका छन्। 

महागढीमाई नगरपालिकामा २१ जना, पचरौता नगरपालिकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मीसहित १७ जना, कलैया उपमहानगरपालिकामा सुरक्षाकर्मीसहित ९ जना, सिम्रौनगढ नगरपालिकामा ७, जीतपुरसिमरा उपमहानगरपालिकामा १, बिश्रामपुर गाँउपालिकामा १, करैयामाई गाँउपालिकामा ३ जना, कोरोना संक्रमण पुष्टि भएको छ।

बारामा कोरना संक्रमितको संख्या ५९ रहेको छ। जसमध्य एकको मृत्यु भएको छ भने दुईजना उपचारपछि घर फर्किएका छन्। ४६ जनाको अस्थायी कोभिड अस्पताल गंगापुरमा उपचार भइरहेको छ  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.