आवश्यक जनशक्ति र उत्पादकत्व बढाउने लक्ष्य

|

बुटवल : बुटवल उपमहानगरपालिकामा भूमिको वैज्ञानिक प्रयोग, कृषि क्षेत्रको सबलीकरण र त्यसका लागि चाहिने जनशक्ति तयार पार्नेसम्मका कामको योजना अगाडि सारेको छ। 

बुटवलमा भूमि बैंक स्थापना गर्न, कृषिको उत्पादकत्व बढाउन तथा रोजगारी तथा उद्यमशीलता विकासका लागि ठोस कार्ययोजना निर्माण गर्न उप-महानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ। 

उपमहानगरका सेमलार र मोतिपुर समेटिने केही वडा खेतीयोग्य जमिन प्रसस्त रहेका क्षेत्र हुन। यी क्षेत्रलाई लक्षित गरेर सहरी कृषि प्रवर्द्धनका कार्यक्रम अगाडि बढाएको उपमहानगरले अहिले भूमि बैंक तथा श्रम बैंक सञ्चालन र कृषि उत्पादकत्व वृद्धि अध्ययनको तयारी गरेको छ। कार्यदलको प्रतिवेदनका आधारमा नीति तथा कार्यक्रममा समावेश गर्ने, बजेटको व्यवस्थापन गर्ने र त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयनमा लैजानेगरि तयारी भइरहेको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए। 

महामारीका विरुद्ध जुधिरहेका बेलामा सहरी कृषिमा पुनर्जागरण ल्याउनेगरि बुटवलले अर्को नमुना कामको थालनी गरेको हो। यसका लागि बुटवलले भूमि बैंक, श्रम बैंक र कृषिको उत्पादकत्व बढाउने कार्ययोजना तयार पार्न विशेष कार्यदल गठन गरेको छ। 

बुटवलमा करिब दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल खेती र कृषिसँग सम्बन्धित कामको प्रयोजन भइरहेको छ। बुटवलमा बजार क्षेत्र, बस्ती क्षेत्र, खेतीयोग्य क्षेत्र, हरियाली जंगल क्षेत्र, नदी उकास क्षेत्र र वगर क्षेत्रका रुपमा रहेको छ। बुटवलको हरियाली क्षेत्र मुलुकका कुनै पनि नगरपालिकाको भन्दा धेरै छ। केही वर्षअघि प्राविधिकहरुले देशभरका नगरहरुको अध्ययनका आधारमा सार्वजनिक गरेको तथ्यांकमा यहाँ झण्डै ५४ प्रतिशत हरियाली क्षेत्र रहेको छ। यहाँ करिब ४० हजार घरधुरी रहेका छन्।

बुटवलले केही समय अगाडि नै सुरु गरेको यसखालको कार्यक्रमलाई अहिले संघीय सरकारले नीति तथा कार्यक्रममा समेत समावेश गरेको छ। पछिल्लो समय वैदेशिक रोजगारका लागि युवा शक्ति विदेशिने, अव्यवस्थित बस्तीको विकास भएको, जग्गाको खण्डीकरण बढेपछि अधिकांश उर्वर जमिन बाँझो तथा एकीकृतरुपमा खेती हुन नसकेको, वर्षेनी आयात वृद्धिलगायत कार्य भइरहेकाले उत्पादनमा आएको कमीलाई सुधार्न बुटवलले यसखालको अवधारणा ल्याएको हो। जनप्रतिनिधि निर्वाचित भएदेखि नै यहाँ जथाभावी प्लटिङ र जमिन खण्डिकरणको काममा बन्देज लगाइएको छ। 

बुटवलले सहरी कृषिको प्रवर्द्धन, फसल धितो राखेर ऋण, जग्गा भाडामा लिएर खेती गर्नेलाई प्रोत्साहन अनुदान, कृषि उपकरण तथा बीउविजन प्रदानदेखि कृषि उपजको बजारिकरणसम्मका नमुना काम गर्दै आएको छ। त्यस्तै कार्यक्रमलाई अझ प्रभावकारी बनाउन अहिले भूमि बैंक, श्रम बैंक तथा कृषि उत्पादकत्व वृद्धि गर्ने अवधारणासहितको कार्यक्रम बनाइएको प्रमुख सुवेदीको भनाइ छ। 

कति हेक्टरमा हुन्छ खेती ?

बुटवलमा सिंचाइका सुविधा पुगेको जग्गाको क्षेत्रफल एक हजार सात सय ९७ हेक्टर रहेको छ। सिंचाइ नभएको तर खेती भइरहेको तीन सय ४६ दशमलव ५२ हेक्टर समेत गरि कुल दुई हजार एक सय ४४ हेक्टर क्षेत्रफल रहेको छ।

सबैभन्दा धेरै वडा न १९ मा झण्डै तीन सय ९३, वडा नं १८ मा दुई सय ८२, वडा नं १४ मा दुई सय ६१ रहेको छ। सबैभन्दा कममा वडा नं ५ रहेको छ। जहाँ शून्य दशमलव शून्य तीन हेक्टर क्षेत्रफल छ।

के हो भूमि बैंक ?

नेपालमा भूमि बैंकको अवधारणा सन् २००५ मा सुरु भएको थियो, जुन विश्व बैंकले थालनी गरेको थियोे र त्यतिबेला नेपालमा अत्यन्तै विवादित थियो। डा.पूर्ण नेपाली, राजेश पौडेल र रामहरि तिमल्सिनाले सार्वजनिक बहसका रुपमा भूमि बैंकका बारेमा छलफल सुरु गरेका छन्।

कुनै व्यक्ति वा कृषकले आफूले कृषिकर्म गर्न नसकेको अवस्थामा आफ्नो जग्गा भूमि बैंकको जिम्मामा दिने र बैंकले अन्य कृषकलाई जग्गा उपलब्ध गराई कृषिसँगै आर्थिक क्रियाकलापलाई निरन्तरता दिलाउने व्यवस्था नै भूमि बैंक हो। यसले गर्दा भूमि बाँझो रहन पाउँदैन।

भूमि बैंक भनेको कुनै पनि प्रयोग नभएका, बेवारिसे, खाली वा परित्यक्त भू-सम्पत्तिलाई कुशलतापूर्वक व्यवस्थापन र विकास गर्न सिर्जना गरिएको एक सार्वजनिक अधिकारसम्पन्न संस्था हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.