|

भद्रपुर (झापा) : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिवार झापामा एकसहित देशभर १८९ जना कोरोना सङ्क्रमित थपिएको जानकारी दिए। 

प्रवक्ता डा. देवकोटाले झापामा थप एक जनामा सङ्क्रमित देखिएको नियमित मिडिया ब्रिफिङमा सार्वजनिक गरेपछि पत्रकारसहित झापाली नागरिक कुन स्थानीय तहमा भेटिएको भनी सङ्क्रमित खोज्न थाले।

तर, यहाँका नागरिकले कुन स्थानीय तहमा संक्रमित भेटिएको हो भन्ने जानकारी पाउन सकेनन्‌। झापाली पत्रकारले समेत जिल्लामा थपिएको सङ्क्रमितबारे जानकारी पाएनन्‌। अनि पत्रकारले सङ्क्रमित थपिएको समाचार पनि लेखेनन्। पत्रकार नभएर जिल्लाका प्रहरी, प्रशासन प्रमुखसहित स्वास्थ्य कार्यालयले पनि झापाको सङ्क्रमित पुष्टि गर्न भ्याएसम्म सबैतिर सम्पर्क गरे। तर, जिल्लाका प्रहरी, प्रशासन प्रमुखसहित स्वास्थ्य कार्यालयले पनि त्यसलाई पत्रकार समक्ष पुष्टि गराउन सकेनन्।

यस बारेमा झापा प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरसँग बुझ्न खोज्दा उनले भने, ‘सङ्क्रमित थपिएको बारेमा कुनै आधिकारिक जानकारी आएको छैन, म पनि यस विषयमा बुझ्दैछु।’ तर उनले पनि सङ्क्रमित पुष्टि गर्न सकेनन्।

त्यस्तै प्रहरी कार्यालय झापाका एसपी कृष्णप्रसाद कोइरालाले भने, 'मन्त्रालयले झापामा एक जना सङ्क्रमित थपिएको जानकारी गराएपछि धेरै जनाले सम्पर्क गरेर यस बारेमा बुझ्न खोजें।’ तर, झापामा कुनै पनि सङ्क्रमित शनिवार नथपिएको उनले बताए। 

शुक्रवार पनि प्रवक्ता डा. देवकोटाले नियमित मिडिया ब्रिफिङमा झापामा २७ जना थपिएको जानकारी दिए। डा. देवकोटाले २७ जनामध्ये २४ जना कचनकवलका र ३ जना प्यारीभिट्टाका हुन भनी जानकारी दिए। तर, उनले सार्वजनिक गर्नुभन्दा पहिला नै कोसी अस्पताल विराटनगरबाट आएको तथ्याङ्कको आधारमा झापाली पत्रकारले २७ जना नै कचनकवलमा थपिएको भनी समाचार प्रकाशन गरिसकेका थिए। 

२७ जना कचनकवलकै भनी झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले पुष्टि गरेपछि त्यही आधारमा पत्रकारले समाचार बाहिर ल्याए। तर, डा. देवकोटाले २४ जना मात्रै कचनकवलमा भेटिएको सार्वजनिक गरेपछि फेरि झापाली पत्रकार अत्तालिए। उनीहरू फेरि ३ जना सङ्क्रमित रहेको प्यारीभिट्टा कुन स्थानीय तहमा पर्छ भनी खोज्न सुरु गरे। झापाका नभएर प्रदेश एकका विभिन्न जिल्लाका पत्रकारहरूले पनि झापाली पत्रकारलाई सम्पर्क गरेर झापामा प्यारीभिट्टा कहाँ पर्छ भनी सोधपुछ गर्न थाले।

अन्ततः प्यारीभिट्टा कुनै गाउँको नाम रहेछ, त्यो पनि कचनकवल गाउँपालिकाभित्रै पर्छ। डा. देवकोटाले एकै पटकमा सबै सङ्क्रमित कचनकवलकै हो भन्दा प्रष्ट हुन सकिन्थ्यो। तर, उनले त्यसो नभन्दा फेरि पत्रकारलाई हैरानी बेहोर्नुपर्‍यो। प्रमुख जिल्ला अधिकारी मगरले यसलाई कचनकवलकै हो भनेर दाबी गरेपछि पत्रकार ढुक्क भए। डा. देवकोटाले झापाका सङ्क्रमितको तथ्याकं बारेमा दुई पटक मात्र त्रुटि तथ्याङ्क सार्वजनिक गर्दै आइरहेका छन्। यसभन्दा अघि पनि उनले झापामा भेटिएका संक्रमितबारे त्रुटिपूर्ण तथ्याङ्क सार्वजनिक गरेका थिए। 

जेठ ११ गतेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. देवकोटाले  मोरङको बाह्रदशी–३ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको बताए। जबकि, मोरङमा बाह्रदशी गाउँपालिका नै छैन।

खासमा झापाको बाह्रदशी गाउँपालिका हुनुपर्नेमा डा. देवकोटाले मोरङ भने। बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले भने, ‘कोरोना संक्रमण देखिएको झापाको बाह्रदशी गाउँपालिकामा हो।’ सङ्क्रमित व्यक्ति एक साताअघि भारतको दिल्लीबाट आएका थिए।’ नियमित मिडिया ब्रिफिङमा डा. देवकोटाले वाचन गर्ने देशभरको कोरोना अपडेटको विवरण मन्त्रालयकै कर्मचारीले तयार पारेपछि मात्र उनले पढ्ने हो।

विवरण तयार पार्ने कर्मचारीले त्रुटिपूर्ण विवरण तयार पार्दा नै यस्तो समस्या आइरहेको झापाली सरोकारवाला निकायको भनाई छ। झापामा अहिलेसम्म १०७ जना कोरोना सङ्क्रमित पुष्टि भइसकेको छ। सबैभन्दा बढी कचनकवलमा भेटिएको हो। कचनकवलमा १०० जना सङ्क्रमित भेटिएका छन्। उनीहरू सबै भारतबाट आएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.