लकडाउनका कारण तरकारीकाे भाउ छैन

|

पर्वत : जिल्लाको कुस्मा नगरपालिका ९ कटुवाचौपारीका कृष्णप्रसाद अधिकारीको प्रमुख आयस्रोत तरकारी खेती हो। अघिल्लो वर्षको यही समयमा झन्डै ३ लाखका काँक्रा बिक्री गरेका उनलाई यस वर्ष भने काँक्रा बिक्री गरेर ३ हजार रुपैयाँ हात लाग्न पनि कठिन छ। 

‘अहिले लकडाउनका कारण काँक्राको भाउ नै छैन,’ उनले भने, ‘गत वर्ष यो बेलामा सय रुपैयाँ किलोमा बिक्री गरेको काँक्राको मूल्य अहिले १५÷२० रुपैयाँमा झरेको छ।’

काँक्रा बेच्ने समय सुरु हुनै लाग्दा लकडाउन पनि सुरु भएपछि कटुवाचौपारीबाट २० मिनेट टाढा सदरमुकाम कुस्मा बजारमा अध्ययन, पेसा, व्यवसाय वा अन्य कामका लागि बस्दै आएकाहरू गाउँ फर्किएका छन्। 

कटुवाचौपारीमा उत्पादन हुने गरेका तरकारी, फलपूmल तथा दुग्धजन्य बस्तुको बिक्री केन्द्र मानिएको कुस्मा नै सुनसान छ। कटुवाचौपारीका किसानले लगाएको तरकारी तरकारी न त बिक्री हुन पाएको छ न त उपयुक्त भाउ नै। 

स्थानीय महेश तिवारीको बारीमा पनि लौका, करेला, चिचिन्डो, घिरौंला, काँक्रालगायत तरकारीहरू लटरम्म छन्। उपयुक्त भाउ र बजार नपाएका कारण उनले खोलाबाट पानी बोक्दै सिँचाइ गरेर उब्जाएको तरकारी न त निःशुल्क बाँड्नु न त गाई भैँसीलाई खुवाउनु भएको छ। 

‘२० हजारको त बीउ मात्रै किनेको हो, खडेरी पर्दा खोलाको पानी गाग्रीमा बोकेर पानी हालेको हो,’ तिवारीले भने, ‘हामी बेरोजगारीले नै हो दुःख गर्ने, रोजगार पाएकाहरूलाई त आम्दानी होला। तरकारी बेचेर छोराछोरीलाई कापी किताब किन्ने मान्छेको बिजोग भयो।’ 

महिला कृषक सीता पराजुलीको अवस्था पनि उस्तै छ। तरकारीले भाउ र बजार नपाएका कारण डोकोमा तरकारी बोक्दा तालुका रौँ खुइलिने अवस्था हुँदा पनि कृषकहरूलाई समस्या परेको उनको भनाइ छ। 

‘नगरपालिका, कृषि केन्द्र वा मन्त्रालयबाट यहीँबाट हाम्रो तरकारी उठाउने पहल भइदिएको भए त दुःखमा पनि सन्तुष्टि मिल्थ्यो,’ उनले भनिन्, ‘डोकोमा तरकारी बोकेर सदरमुकाम लैजाँदा टाउकाका रौँ खुइलिए, पैताला भतभती पोलेर सुत्न हुँदैन। यस्तो हालत हुँदा पनि बजार लग्दा तरकारी बिक्री भएको छैन। हामी त खान नपाएर मर्ने भइयो।’  

सोही ठाउँका विष्णु पराजुलीले यस अगाडि ७ वर्षसम्म अँगाल्दै आएको व्यापारलाई छोडेर यसै वर्षबाट तरकारी उत्पादनमा लाग्ने सोच बनाएर गाउँ आएको भए पनि अहिलेको अवस्थाले निराश बनाएको बताए। तर उत्पादन धेरै गर्न सकेमा जिल्लाबाहिर पनि निर्यात गर्न सक्ने हो भने त्यसले भने ठाउँ पाउने आसामा रहेको उनको भनाइ छ। ‘हाम्रो उत्पादन कुस्माका लागि धेरै भयो, बाहिर पठाउँ भने एकै पटकमा एक ट्रक जम्मा हुँदैन।’ पराजुली भन्छन्, ‘एक गाडी बनाएर अरू जिल्लामा पठाउन पाए त बजार र भाउ पनि पाउँदो हो, हाम्रो व्यापार केन्द्र एक ठाउँ मात्रै हुँदा समस्या भयो।’ 

कटुवाचौपारीका महिला कृषकहरूले ‘पहिरे कृषि सहकारी संस्था लिमिटेड’ दर्ता गरेर व्यावसायिक रूपमा तरकारी फलाउँदै आएका छन्। सहकारीबाट पैसा निकालेर बीउ र मल किन्ने, आम्दानी भएपछि सहकारीलाई तिर्दै आएका कृषकहरूलाई यस वर्ष किस्ता तिर्न नै समस्या पर्ने देखिएको सहकारीकी अध्यक्ष राधा अधिकारी बताउँछिन्।

लकडाउन केही खुकुलो भएको बेलामा स्थानीय व्यक्तिको भ्यान रिजर्भ गरेर बिक्रीका लागि तरकारीहरु पोखरा पठाइएको भए पनि आम्दानी भएको रकमले गाडीलाई नै तिर्न नपुगेको उनको भनाइ छ। ‘बारीमै तरकारी कुहाएर फाल्नु भन्दा त बजार पाए बरु सस्तोमा भए पनि बेच्न हुन्थ्यो।’ उनी भन्छिन्, ‘बारीमै बन्दा कुहिएका छन्, झालमा फलेका काँक्रा पनि त्यहीँ कुहिन थालेका छन्।’ 

सहकारीबाट किस्तामा पैसा लिएर व्यावसायिक रूपमा तरकारी तथा फलपूmल खेती गर्दै आएका कृषकहरूलाई अहिलेसम्म कसैसँग ऋण खोज्नुपर्ने अवस्था नआएको भए पनि लकडाउनका कारण आएको आर्थिक मन्दीले आर्थिक चपेटामा पार्न सक्ने भन्दै उनीहरू चिन्तामा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.