|

काठमाडौँ : नेत्रविक्रम चन्द विप्लव नेतृत्को नेकपाका केन्द्रीय सदस्य एवम् पार्टी प्रकाशन विभागका इन्चार्ज अनिल शर्मा ‘विरही’ हिरासतबाट २७ दिनमा रिहा भएका छन्। 

चितवन जिल्ला अदालतले शर्मालाई साधारण तारेखमा आइतबार थुनामुक्त गरेको हो। चितवन जिल्ला अदालतका १ नं. न्यायाधीश हेमन्त रावलको एकल इजलासले शर्मालाई साधारण तारिखमा थुनामुक्त गर्न आदेश दिएको हो।

शर्माविरुद्ध लगाइएको राज्यविरुद्धको अभियोग पुष्टि हुन नसक्ने भन्दै अदालतले उनलाई सफाइ दिएको हो । उनलाई चितवन प्रहरीले गत वैशाख २३ गते गम्भीर घाइते र सख्त बिरामी अवस्थामा भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट गिरफ्तार गरी राज्यविरुद्धको अपराधमा मुद्दा चलाएको थियो । लडेर ढाडको हड्डी भाँचिएपछि शर्मा उपचारका लागि अस्पताल पुगेका थिए। सुगरलसहितका दीर्घरोगबाट शर्मा गम्भीर बिरामी छन् ।

अदालतले शर्मालाई उपचारार्थ अस्पतालका सम्बन्धित चिकित्सकको परामर्शबिना अन्यत्र स्थानान्तरण नगर्न वा उपचारमा बाधा नपुर्‍याउन पनि सरकारलाई निर्देशन दिएको छ।

प्रहरीले शर्मालाई जनकपुरको एक घटनामा मुछेर त्यहाँ लैजाने तयारी गरेको थियो। तर अदालतको आदेशले प्रहरीको सम्भावित गैरन्यायिक कदम रोकिएको छ। अलालतले प्रहरीलाई भरतपुरकै अस्पतालमा लगेर उपचार गर्नसमेत आदेश दिएको छ। शर्माका विरुद्ध जिल्ला न्यायाधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए। 

शर्माका पक्षमा वरिष्ठ अधिवक्ता धर्मराज आचार्य, अधिवक्ताहरू कपिलचन्द्र पोख्रेल, कमल पाठक, गोपीलाल देवकोटा, राजकुमार श्रेष्ठ, रामचन्द्र देवकोटा, गङ्गाबहादुर कोइराला, नारायण गिरी, लक्ष्मण अधिकारी र सन्तोष कोइरालाले बहस गरेका थिए । शर्मालाई अदालतले साउन २१ गतेको तारिखसमेत दिएको छ । अदालतको आदेशसँगै हाल उनी भरतपुर अस्पतालमै उपचारमा फर्किएका छन् । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.