|

भद्रपुर (झापा) : भद्रपुरस्थित मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनमा अस्थायी कोरोना उपचार अस्पताल बनाउने निर्णयप्रति जनस्तरबाट उठेको विवाद साम्य भएको छ।

भद्रपुरमा गठित कोरोना अस्पताल नागरिक सरोकार समाजले मेची अस्पतालको निर्माणाधीन भवनमै कोरोना अस्पताल बनाउँदा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले तोकेको मापदण्डअनुसार बनाएमा कुनै आपत्ति नहुने बताएपछि जनस्तरबाट उठेको विवाद साम्य भएको हो। विवाद साम्य भएसँगै मेचीकै निर्माणाधीन भवनमा कोरोना अस्पताल बन्ने निश्चित भएको छ।

मेची अस्पतालको निर्माणाधीन भवनमा समाजले आइतबार दिउँसो संक्षिप्त पत्रकार भेटघाट गर्दै अस्पताल वरिपरि संक्रमण फैलिने त्राससँगै मेची अस्पतालमा आउने विपन्न परिवार सेवा लिनबाट बञ्चित हुने निष्कर्ष निकाल्दै जनस्तरबाटै आवाज उठेको प्रस्टाए। तर, जनस्तरबाटै उठेको आवाजलाई राजनीतिकरण गरेर गठित समाजप्रति आरोप लगाउने कामले आफूहरुलाई दुःखी तुल्याएको समाजका संयोजक भक्त खवासले बताए।

जिल्ला कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले सर्वपक्षीय छलफलबाटै मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो। उक्त समितिले स्थानीयस्तरमा छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरेपछि अस्पताल आसपासका स्थानीयले त्यसको विरोध गरेका थिए। विरोध गर्दै स्थानीयको एक भेलाले समाज गठन गरेका थिए।

समाजले भद्रपुरमै कोरोना अस्पताल बनाउनुबाहेक अन्य विकल्प नरहेको बताउँदै संयोजक खवासले भने, ‘मेचीको निर्माणाधीन भवनबाहेक अन्य उपयुक्त स्थानमा बनाउनु पर्छ भनी जनस्तरबाट उठेको आवाजलाई सम्बोधन गरेको मात्र हो, तर, हामीले उठाएको आवाजलाई राजनीतिकरण गरियो। त्यस्तो गर्नुहुँदैन थियो। जिल्ला समितिले निर्णय गरेकै ठाउँमै तोकिएको मापदण्डअनुसार अब चाँडो भन्दा चाँडो कोरोना अस्पताल बन्नु पर्छ।’ 

भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारततेन्दु कुमार मल्लिकले निर्माणाधीन भवनभन्दा अन्य विकल्प खोज्दा राम्रो हुने बताए। ‘अहिले बन्दै गरेको अस्पतालको भवनमा कोरोना अस्पताल बनाउने निर्णय के आधारमा गरेको हो, त्यसले कहिलेसम्म पूर्णता पाउँछ, हेर्न बाँकी नै छ,’ उनले भने,  ‘कोरोना अस्पताल झापावासीका लागि आवश्यक छ, यो भद्रपुरमै बन्नुपर्छ। तर कोरोना अस्पतालको कारण मेची अस्पतालमा सेवा लिन आउने विपन्न परिवार बञ्चित हुनु हुँदैन।’ 

त्यस्तै ५ नम्बर वडा अध्यक्ष बन्धु कार्कीले अधुरो भवनमा कोरोना अस्पताल बनाउँदा वरिपरि संक्रमण फैलिने सम्भावना देखेर नै जनस्तरबाटै आवाज उठेको बताए। ८ नम्बर वडाध्यक्ष गौरव सुब्बा, मेची अस्पतालका पूर्वअध्यक्ष छत्रप्रसाद अधिकारी, डा. पृथ्वीविक्रम राई, तोयानाथ गडतौलालगायतले कोरोना अस्पतालको नाममा विपन्न परिवारलाई सरकारी सेवा लिनुबाट बञ्चित पार्नु नहुने बताएका छन्। उनीहरुले संक्रमण फैलिन नदिन आवश्यक जनशक्ति र थप पूर्वाधार निर्माण गरिनुपर्ने माग गरेका छन्। 

झापामा कोरोना सङ्क्रमितको सङ्ख्या १११ पुगेको छ। उनीहरूलाई उपचारका लागि धरान र विराटनगर लगिएको छ। त्यहाँ पनि उपचारका लागि बेड नहुँदा थप समस्या भइरहेको छ। जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दै गइरहेको र उपचारमा समस्या भइरहेकोले भद्रपुरमै कोरोना अस्पताल बन्दा यहाँका सङ्क्रमितलाई राहत पुग्ने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.