|

बर्दिया : बर्दियाका स्थानीय तहहरुले रेडियोबाट पढाइ सुरु गरेका छन्। विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिन नदिन देशभर लागु गरिएको लकडाउनका कारण समस्यामा परेका सामुदायिक विद्यालयका विद्यार्थीहरुका लागि ठाकुरबाबा नगरपालिकाले रेडियो टाइगरबाट पढाई सञ्चालन गरेको हो।

सामुदायिक विद्यालयका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुलाई पढाइमा सहयोग पु¥याउने उद्देश्यले ‘रेडियोबाट शिक्षा, टोलटोलमा शिक्षक, रेडियो पढाइ कार्यक्रम’ आइतबारदेखि सुरु गरिएको नगरप्रमुख घननारायण श्रेष्ठले जानकारी दिए। 

उनले भने, ‘यस्तो अवस्थामा रेडियो नै सबैभन्दा बढी प्रभावकारी भएकाले रेडियोसँग सहकार्य गरी रेडियोबाट कक्षा सञ्चालन गरिएको हौँ।’ ठाकुरबाबासहित बर्दियाका अधिकांश स्थानीय तहका विद्यार्थीहरुलाई पढाइमा सहयोग पुगोस् र घरभित्रै बसेर अभ्यास गर्न सकून भन्ने अपेक्षाले रेडियो टाइगर बर्दियाको सहकार्यमा पढाई कार्यक्रम सञ्चालनमा ल्याईएको उनले बताए।

नगरप्रमुख श्रेष्ठले ९ बजेर ५५ मिनेटमा विद्यार्थीहरुलाई रेडियो सुन्दै पढाइ गर्न, अभिभावकहरुलाई रेडियो सुनेर पढ्ने वातावरण मिलाइदिन र गाउँटोलमा रहेका शिक्षकहरुलाई सहयोग गरिदिन आग्रह गरेका छन्।

रेडियो कार्यक्रम दैनिक ३ घण्टा ३० मिनेटको रहने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजालले बताए। कक्षा ४ देखि १० सम्मका मुख्य विषयहरु आइतबारदेखि बिहीबारसम्म र शुक्रबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि रेडियोबाट पढाइ कार्यक्रम असार मसान्तसम्म सञ्चालन हुने नगरपालिकाले जनाएको छ।

कार्यक्रममा सहभागिताका लागि सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक र विद्यालयलाई नगरको शिक्षा शाखाले अनुरोध गरेको छ। रेडियो पढाइ कार्यक्रम ठाकुरबाबा नगरपालिकाको मुख्य आयोजनामा प्लान इन्टरनेशनल नेपाल नेपालगञ्ज र स्याक नेपाल बाँकेले रेडियो टाइगर बर्दियासँगको सहकार्य तथा बर्दियाका सबै स्थानीय तहहरुसँग एवं शिक्षा विकास तथा समन्वय इकाई बर्दियाको सहआयोजनामा सञ्चालन भइरहेको छ।

कार्यक्रमबाट ठाकुरबाबा नगरपालिकासहित गेरुवा, बारबर्दिया, मधुवन, राजापुर, गुलरिया, बढैयाताल र बाँसगढीभित्रका सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग पुग्ने नगरपालिकाले जनाएको छ। यसैगरी संस्थागत विद्यालयहरुको संस्था प्याब्सन ठाकुरबाबाले पनि रेडियोबाट पढाई कार्यक्रम ‘रेडियो पाठशाला’ आइतबारदेखि सञ्चालन गरेको छ। प्याब्सनमा आबद्ध नगरभित्र रहेका १२ वटा (बोर्डिङ) स्कुलका विद्यार्थी लक्षित कक्षा २ देखि ७ सम्मको पढाइ कार्यक्रम रेडियो टाइगरबाट दिउँसो २ बजेदेखि सञ्चालन गरिएको प्याब्सन अध्यक्ष घनश्याम शर्मा अधिकारीले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.