मनाङ : रोजगारीको सिलसिलामा अन्य पेसा र क्षेत्रमा रहेकाहरु यतिबेला ग्रामीण भेग फर्किन थालेका छन्। पर्यटन तथा होटल व्यवसायमा रमाउँदै आएका मनाङवासी पनि पुख्र्यौली ग्रामीण पेसातिरै लागिपरेका छन्।
पर्यटन तथा होटल क्षेत्रमा लागेका अधिकांश मनाङबासी अहिले खेतीपाती र पशुपालनमा लागिपरेका छन्। पर्यटकले खचाखच हुने समयमा महामारीका कारण व्यवसाय ठप्प भएपछि उनीहरुको विकल्प नै यही भएको छ। थोरै जनसंख्या रहेको यस जिल्लामा चार वटा गाउँपालिका छन्।
होटल व्यवसायबाट मनग्य आम्दानी भए पनि बन्दबन्दीका कारण पुख्र्यौली पेसालाई उनीहरुले बाध्यता सही पछ्याएका छन्। अहिले यहाँका मानिसहरु गोठमा चौरीसँगै रमाएका देखिन्छन्। चौरीका बाच्छाबाच्छी स्याहारसुसार र खेतबारीमा दिन बिताउँछन्।
मनाङमा गहुँ, मकै, करु, फापर, आलुजस्ता अन्नबाली उत्पादन हुने गर्छ भने पशुपालनमा चौरी, भेडाच्यांग्रा पालिन्छन्। मानिसहरु चौरीका ऊन कात्ने, त्यसबाट दोचा, भांग्रालगायत कपडा बनाउन थालेका छन्। कोभिड १९ ले मानिसलाई पुख्र्यौली पेसामा फर्काएको र आत्मनिर्भर बनाउन टेवा पुगेको नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले बताए।
‘कोभिड १९ ले कृषि कर्मलाई प्रोत्साहन मिलेको छ, मनाङका बाहिर रहने युवा पुस्ताले समेत पेसा सिक्नतर्फ तल्लिन देखिन्छन्, कृषि कर्मको युवा पुस्तामा हस्तान्तरण गरी प्रोत्साहित समेत बनाएको छ, कोभिडले उत्पादनमुखी बनाउनेछ,’ घलेले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।