भोजपुर : जिल्लाको पूर्वी क्षेत्रमा अवस्थित पौवादुङमा गाउँपालिकालाई सिल गरिएको छ। मंगलबार ३३ जनाको आरडिटी परीक्षण गर्दा स्वास्थ्यकर्मी सहित नौ जनाको रिपोर्ट पोजेटिभ आएपछि सबै वडा सिल गरिएको गाउँपालिकाले जनाएको छ।
आरडिटी पोजेटिभ आउनेमा ६ जना स्वास्थ्यकर्मीसहित जनप्रतिनिधि र स्थानीय छन्। उनीहरु विभिन्न वडाका स्वास्थ्य इन्चार्ज र स्वास्थ्यकर्मी हुन्।स्वास्थ्यकर्मीहरुको नै आरडिटी पोजेटिभ देखिएपछि कोरोनाको संक्रमण फैलन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गाउँपालिका नै सिल गरिएको गाउँपालिका अध्यक्ष किरण राईले जानकारी दिए।
अध्यक्ष राईले भने, ‘आरडिटी परीक्षण गर्दा ६ जना स्वास्थ्यकर्मीसहित नौ जनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप सतर्कता अपनाउन गाउँपालिका नै सिल गर्ने निर्णय गरेका हौं।’
आरडिटी किट अभावले अन्यको परीक्षण गराउन नसकिएको र स्वास्थ्य सामग्री अभाव भएको उनले बताए। आरडिटि रिपोर्ट पोजेभिट आएका सबैलाई वडा नम्बर १ श्यामशीलामा रहेको राधाकृष्ण माध्यमिक विद्यालयमा आइसोलेसन वार्ड निर्माण गरेर राखिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ज्ञानु दाहालले जानकारी दिए।
उनीहरुको बुधबार स्वाब संकलन गरेर परीक्षणका लागि पठाउने तयारी रहेको उनले जानकारी दिए।
गाउँपालिकामा स्वाब संकलनमा लागि १० ओटा मात्र भिटिएम रहेको रहेको संयोजक दाहालको भनाइ छ। सोमबार पाँच जनामा परीक्षण गरिएको आरडिटी रिपोर्ट भने नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष सम्झना राईले जानकारी दिइन्।
जिल्लामा हाल एक जना पनि कोरोना संक्रमित छैनन्। हतुवागढी गाउँपालिकाका एक जना युवकमा कोरोना देखिए पनि उनी कोशी अस्पतालको आइसोलेसनमा उपचारपछि निको भएर फर्किसकेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।