सरकार कर तिर भनेर कर कर मात्रै गर्छ, विकल्प दिँदैन

|

काठमाडौंः जोरपाटी चोकमा कपडा पसल गर्दै आएका जगदीश श्रेष्ठलाई अहिले चिन्ता छ,‘व्यापार गर्न पाएको छैन। कसरी सटर भाडा तिर्ने? कसरी कर तिर्ने?अब परिवार कसरी पाल्ने।’

त्यही समस्याबी थोरै राहत मिल्छ भनेर उनले मंगलबार बिहान कपडा पसल खोले। फाट्टफुट्ट पसलभित्र ग्राहक छिरिरहेकै बेला बौद्धबाट प्रहरी टोली आएर किन सटर खोलेको भन्दै पसल बन्द गर्न लगाए।

उनीहरुले अरु होटलहरु खुलेका छन हामी चाहिँ किन खुला गर्न नपाउने भनी प्रश्‍न त गरे तर प्रहरीले बन्द गर्न भनेपछि पसल बन्द गरे। त्यसपछि अन्तत: उनी लगायत जोरपाटीकै व्यापारी मिलेर पसल खोल्न पाउनुपर्ने माग राख्दै आन्दोलन गर्न बाध्य भए। ‘घरबेटीले भाडा माग्छन,’उनले थाहाखबरसँग भने,‘कसरी तिर्ने? पसल सञ्चालन गर्न नपाएको तीन महिना हुन लागिसक्यो। अरु होटलहरु खुलै राख्‍न पाइने। हामीलाई चाहिँ पसल खोल्न नदिएकाले आन्दोलन गर्न बाध्य भयौँ।’ 

उनले होटल र ग्यारेज खोल्दा प्रहरी प्रशासन मौन रहने तर, कपडा, मोबाइल पसल खोल्दा बन्द गर भन्‍न नमिल्ने तर्क गरे। उनले आक्रोश पोख्दै भने, ‘सरकारले कर तिर, तिर भनेर ताकेता गर्ने। पसल भने चलाउन नदिने। कसरी हामी लकडाउनमा कर तिर्न सक्छौँ ?’

सटर भाडा तिर्न पनि धौ धौ भएको उनले बताए। उनले मासिक सटर भाडा ४० हजार तिर्नुपर्छ। तर, लकडाउन लागेपछि व्यापार नहुँदा अहिलेसम्म उनले भाडा तिर्न नसकेको बताए।

बिहान ६ बजेदेखि ११ बजेसम्म पसल खोल्न पाएमा केही राहत मिल्ने उनको आशा छ। ‘कोरोना महामारी छ भन्ने त हामीलाई थाहा छ। संक्रमणको त्रास छ। बन्द गर्ने हो भने सबै होटल लगायत पसल बन्द गरोस नभए सबै चल्न दिनुपर्छ,’ उनले थपे। 

जोरपाटी चोकका व्यापारी बजराज गिरीले पनि सरकारले कर तिर्न ताकेता गरेको भन्दै पसल सञ्चालन गर्न पाउनुपर्ने माग राखे। उनले भने,‘पसल बन्द राखेको तीन महिना पुग्‍न लागेछ। सरकारले कर तिर, तिर भनेर दबाब दिइरहेको छ। अहिले एक पैसाको व्यापार गर्न पाएकै छैन। यो अवस्थामा कसरी तिर्न सक्छौँ। यो त अन्य भएन र सरकार?’

उनको मोबाइल पसल छ। तर, लकडाउन लागेपछि अहिलेसम्म खोल्न पाएका छैनन्। ‘आज पसल सफा गर्न मात्रै आएको,’बुधबार बिहान पसलको आधा सटर खोलेको देखाउँदै उनले भने,‘अब बन्द गर्नुपर्छ। धेरै भिडभाड हुने होटल खोल्न पाइने रहेछ। हामीले मात्रै पसल खोल्न नपाइने रहेछ।’ उनले पनि सटर भाडा तिर्नमै समस्या भएको बताए।

व्यावसायीको पक्षमा नगरप्रमुख 
गोकर्णेश्‍वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले पसल व्यापारीको समस्या बुझेर पसल सञ्चालन गर्न दिइने बताए। ‘पसल बन्द गर्दा धेरै व्यापारीहरु मर्कामा परेका छन,’ उनले भने,‘हिजो पनि आन्दोलन गरे। सबै व्यापारीलाई छलफलका लागि नगरपालिकामा बोलाएको छु। छलफल गरेर पसल सञ्चालन गर्न दिने निर्णयमा म छु।’ 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.