‘विरोधी होइनौँ तर अरू विकल्प हुँदा हुँदै क्याम्पसमै दिँदैनौं’

|

धनकुटा : धनकुटाको पाख्रिबास नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालय अन्तरगतको प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्‍न क्वारेन्टाइन बनाउने निर्णय नगरपालिकाले गरेपछि विवाद सुरु भएको हो। कृषि क्याम्पसमा नगरपालिकाले एकलौटी ढंगले स्थानीयसँग समन्वय नगरी जबरजस्ती क्वारेन्टाइन राख्‍न लागेको स्थानीयको आरोप छ।

वार्ता भए पनि सहमति जुटेन

 कृषि क्याम्पसको निर्माणाधीन भवनमा क्वारेन्टाइन राख्ने विषयमा ५ दिनयता पटकपटक नगरपालिका र वडावासीबीच वार्ता भए पनि सहमति जुटेको छैन। नगरपालिकाको विपत व्यवास्थापन समितिले कृषि क्याम्पस उपयुक्त रहेकाले क्वारेन्टाइन बनाउने निर्णय गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहम्मद स्माइलले बताए। उनले सरकारले देशबाहिर रहेका नागरिक ल्याउने निर्णय गरेपछि क्वारेन्टाइन बनाउनुपरेको बताए।

पाख्रीवास नगरपालिकाका १ हजार ४ सय ४२ जना देशबाहिर रहेकोमा तीमध्ये करिब ४ सय मानिस भारतमा रहेको बताए। भारतमा रहेका नागरिक तत्काल आउने भएकाले क्वारेन्टाइन बनाउनुपरेको उनको भनाइ छ। नगरपालिकाले अन्य ठाउँमा क्वारेन्टाइन बनाउँदा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई असहज हुने भएकाले कृषि क्याम्पस नै उपयुक्त रहेको स्माइलको जिकिर छ। बाहिरबाट आएका मानिसहरु सिधै गाउँ पठाउन नमिल्ने भएकाले क्वारेन्टाइन तत्काल आवश्यक परेको छ।

स्थानीयवासीमा सन्त्रास

यता, वडावासीहरुले भने कृषि क्याम्पसमा क्वारेन्टाइन राख्दा स्थानीयवासीमा सन्त्रास उत्पन्न हुने र क्याम्पसको पठनपाठनमा अवरोध पुग्ने भन्दै पाख्रीवास कृषि क्याम्पस संरक्षण संघर्ष समिति गठन गरी आन्दोलनमा उत्रिएका छन्।

क्याम्पस निर्माणको चरणमा रहेकाले क्वारेन्टाइन बनाउँदा निर्माण कार्यसमेत प्रभावित हुने उनीहरुको भनाइ छ। निर्माणाधीन क्याम्पसलाई क्वारेन्टाइन बनाएर क्याम्पस अन्यत्र स्थान्तरण गर्न लागेको संघर्ष समितिका संयोजक प्रणयकुमार गुरुङले बताए।

अरू प्रयोजनका लागि जग्गा दिएको होइन

अरू सबै नगरपालिकाले वडावडा क्वारेन्टाइन निर्माण गरेको भए पनि पाख्रिबास नगरपालिकाले भने कृषि क्याम्पसलाई नगरभरिको लागि क्वारेन्टाइन बनाउन लागेको स्थानीयको भनाइ छ। देशमा लकडाउन नभएको भए गएको वैशाखबाट नवनिर्मित भवनमा कक्षा सञ्चालन हुने तयारी गरिएको थियो। तर, चैतबाट भएको लकडाउनले निर्माण सम्पन्न हुन ढिलाइ भएको उनीहरूको भनाइ छ।

देशमा भएको लकडाउन खुल्नेबित्तिकै कक्षा सञ्चालन हुँदा क्याम्पसको नवनिर्मित भवनमा कक्षा सञ्चालन होस भन्ने स्थानीयको चाहाना रहेकाले सो ठाउँमा क्वारेन्टाइन बनाउन नदिने क्याम्पसकी जग्गादाता रुपा राईले बताइन्। ‘खाइ नखाइ गरेर हामी मिलेर सय रोपनी जग्गा क्याम्पस सञ्चालन गर्न दिएको हो।’

उनले भनिन् ‘हामी चाँडै क्याम्पस सञ्चालन भएको हेर्न चाहन्छौँ, अरू के के गर्न हामीले जग्गा दिएको होइन।’ निर्माणाधीन क्याम्पसमा खानेपानी, विधुत, शौचालय, तारबेरा लगायत आवश्यक पूर्वाधार निर्माणको चरणमा रहेको छ।

अरू विकल्प हुँदा हुँदै क्याम्पस रोज्‍नु गलत

क्वारेन्टाइन निर्माणका लागि नजिकै रहेको जाल्पादेवि मावि, जाल्पादेवि क्याम्पस, सिटिइभिटिइको कलेज, नगरपालिकाको नवनिर्मित तयारी भवन र ९२ हेक्टर क्षेत्रफलमा रहेको कृषि अनुसन्धान केन्द्रको सुविधा सम्पन्न भवनहरु छोडेर जवरजस्ती कृषि क्याम्पसमा क्वारेन्टाइन बनाउन लागेकाले क्याम्पस संघर्ष समिति बनाएर आन्दोलन लागेको संघर्ष समितिका सचिब राजेन्द्र बस्नेतले बताए।

उनले आफूहरु क्वारेन्टाइन निर्माणविरोधी नभएको र अन्य विकल्प हुँदा हुँदै कृषि क्याम्पस नै रोज्न गलत भएको बताए। क्याम्पसमा क्वारेन्टाइन बनाउँदा निर्माण अवरुद्ध हुने र निर्माण सम्पन्न गरेर क्वारेन्टाइन बनाए पनि लकडाउन खुलेपछि शैक्षिक संस्था सञ्चालन हुँदा सोही ठाउँबाट क्याम्पस सञ्चालन हुनुपर्ने आफूहरुको माग रहेको बताए।

क्वारेन्टाइन निर्माण गर्ने विषयमा भएको विवाद समाधानको लागि नगरपालिका कार्यालयमा दुवै पक्षबीच भएको वार्ता विना निष्कर्ष टुङ्गिएको छ। नगरपालिका प्रमुख प्रशासकीय अधिकृत डिकवहादुर राईले जिल्ला विपत व्यावस्थापन समितिको निर्देशनमा २४ घण्टा भित्रमा १ सय वेडको क्वारेन्टाइन वनाउनु पर्ने भएपछि कार्य अघि बढाइएको बताए।

नगरपालिकामा रहेको विपत व्यवास्थापन समितिको निर्णयले कृषि क्याम्पस उपयुक्त भएकोले क्वारेन्टाइन राख्ने निर्णय गरेको राईको भनाइ छ। उनले वडावासीलले क्वारेन्टाइन र आइसोलेसनको वारेमा नबुझेर र तथा नगरपालिकाले वुझाउन नसकेर कमजोरी भएको बताए।

विवाद मिलिसक्यो : नगर प्रमुख

पाख्रीवास कृषि क्याम्पस व्यावस्थापन समितिका स्थानिय प्रतिनिधि कृष्ण कट्वालले निर्माणधिन क्याम्पसलाई क्वारेन्टाइन बनाएर क्याम्पस अन्यत्र स्थान्तरण गर्न लागेको बताए। उनले वार्ताका क्रममा नगर प्रमुख विर्खबहादुर राईले क्याम्पसमा क्वारेन्टाइन बनाउन नदिए क्याम्पस उडाइदिन्छु भनेर धम्की दिएको बताए। यस विषयमा नगर प्रमुख राईसँग बुझ्दा सामान्य विवाद भएको तर मिलिसकेको र अब कृषि क्याम्पसमै क्वारेन्टाइन बनाइने बताए।

नगरपालिकाकी उप–प्रमुख देवकला तिम्सिनाले क्वारेन्टाइन बनाउने विषयमा नगरपालिकाको केही कम्जोरी रह्यो होला, यस्लाई सच्याएर जाने वताइन। क्वारेन्टाइन नबनाई नहुने भएपछि उपयुक्त स्थान कृषि क्याम्पस नै देखिएकाले नगरपालिकाले पाख्रिबासको कृषि क्याम्पसमा वनाउने निर्णय गरेको उनको भनाइ छ। उनले यस अघि १० वेडको क्वारेन्टाइन तयारी अवस्थामा भए पनि अपुग हुने भएकाले काँही न काँही क्वारेनटाइन नबनाई नहुने भएकाले सबै नगरबासीले सहयोग गर्नुपर्ने बताइन।

कृषि क्याम्पसमा क्वारेन्टाइन राख्ने विषयमा दुवै पक्ष बिच सहमति नजुटेपछि स्थानिय प्रशासनको रोहवरमा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख टंङ्गकवहादुर चुहानको अगुवाईमा वार्ता भएपनि कुनै सहमति भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.