सरकारको नीतिविपरीत आफूखुसी सिल गरिँदै

|

काठमाडौं :  पछिल्लो एक सातादेखि नेपालमा कोरोना भाइरस संक्रमण दर ह्वात्तै बढेको छ। जनस्वास्थ्यवविद्हरुले जुन र जुलाईमा नेपालमा भाइरस संक्रमितको संख्या झन् बढ्ने भन्दै सरकारलाई अझै बलियो तयारी गर्न आग्रह गरिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि कोरोना संक्रमण बढ्ने र संक्रमितहरुको स्वास्थ्य अवस्था अनुसार उपचार गर्न लेभल-१, लेभल-२ र लेभल-३ गरी देशभर २८ अस्पताललालाई हब अस्पतालका लागि छुट्याएको छ। विरामीको लक्षण र अवस्था हेरेर कोरोना भाइरस संक्रमितलाई उपचार गर्ने अस्पतालहरु छुट्याइएको हो।

अति विशेषज्ञता सम्पन्‍न भनेर लेभल-१ र लेभल-३ गरी छुट्याइएका यी अस्पतालमा कोभिड-१९ संक्रमित देखिँदा झन् अन्योल सिर्जना भएको छ। मंगलबार दुई चिकित्सक र दुई बिरामीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पताल अनिश्चितकालका लागि बन्द भएको छ।

अस्पताल प्रशासनले बुधबार अर्को सूचना प्रकाशित नहुँदासम्म अस्पतालका सबै सेवा बन्द भएको जानकारी गराएको छ।

‘काठमाडौं मेडिकल कलेजको सिनामंगलस्थित शिक्षण अस्पतालमा उपचारार्थ आएका दुई बिरामी र दुई स्वास्थ्यकर्मीलाई कोभिड पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिले हाललाई यस अस्पतालबाट प्रवाह भइरहेका आकास्मिक लगायतका विभागहरुमा निर्मलीकरण गर्नुपर्ने अवस्था आएकाले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभइन्जेल  लागि स्थगित गरिएको जानकारी गराउँछौं,’ अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. मुकुन्दराज जोशीले भनेका छन्। 

यस्तै १ जेठमा जो नाक, कान, घाँटीको समस्या लिएर कपिलवस्तुकी ६ वर्षीया बालिका उपचारका लागि शिक्षण अस्पताल आएकी थिइन्। ती बालिकामा कोभिड-१९ संक्रमण देखिएको थियो।

बालिकामा कोभिड संक्रमण पुष्टि भएपछि कोरोना भाइरस संक्रमितको उपचारका लागि लेभल ३ मा छुट्याइएको त्रिवि शिक्षण अस्पतालको सेवा नै अवरुद्ध भएको थियो । यसअघि पनि त्रिवि शिक्षण अस्पताल महाराजगंजले केही विभाग बन्द गरेको थियो।

त्रिविअन्तर्गतको मनमोहन कार्डियो भास्कुलर ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज उपचारकै लागि आएकी हेटौँडाकी एक महिलामा कोरोना पुष्टि भयो। त्यसैगरी टोखामा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ल्याबमा कार्यरत युवामा पनि कोरोना पोजेटिभ देखियो। कोरोना पुष्टि भएका यी देशकै दुई ठूला अस्पतालका सेवा केही समय अस्तव्यस्त रहे।

उपचारका लागि आएका सेवाग्राहीहरु अलमलमा परे। कन्ट्याक्ट ट्रेसिङको नाममा अस्पताल सिल भए। त्यस्तै प्रसुति गृह थापथलीमा पनि एक जना बिरामीलाई कोरोना देखिएपछि एउटा विभाग बन्द गरिएको छ।

यी माथिका घटनाहरु उपत्यकाकै ठूला केन्द्रीय अस्पतालहरुको हो। यसले कोभिड-१९ को नेपालमा पहिलो संक्रमण पुष्टि भएको ४ महिना बितिसक्दा पनि अस्पताल अझै गम्भीर छैनन् भन्‍ने पुष्टि हुन्छ। उनीहरुको तयारी फितलो छ भन्‍ने यसले पुष्टि गरेको छ। 

सबैभन्दा ठूलो कुरा एउटा कोभिड-१९ को पोजेटिभ केस देखिनासाथ अस्पताल नै बन्द गर्ने अवस्था आउनु भनेको यसबारेमा अस्पतालहरुले राम्रो तयारी नगरेको देखिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म कोभिड जियन्त्रणको लागि बनाएका निर्देशिका नियमहरुमा पनि भाइरस संक्रमित देखिनासाथ अस्पतालहरु सिल गर्नुपर्ने नियम कहीँ नभएको बताउँछ।

स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समिर अधिकारी कोभिड-१९ संक्रमण देखिनासाथ अस्पताल सिल गर्नुपर्छ भन्‍ने नियम कहीँ पनि नभएको बताउँछन्। उनले भने ‘तत्काल कन्ट्याक्ट ट्रेसिङका लागि निश्‍चित ठाउँलाई केही घण्टाका लागि कडा  गर्नु त अस्पतालको स्वास्थ्य सुरक्षाको हिसाबले राम्रो हो। तर, अस्पताल नै सिल गर्ने कुरा कोभिड-१९ को कुनै पनि गाइडलाइनमा छैन। हामीले यस्तो नगर्नु भनेर निर्देशन पनि दिइसकेको अवस्था छ।’

अस्पताल सिल नै गर्नुपर्ने र अस्तव्यस्त वातावरण सिर्जना हुनु भनेको कोभिड-१९ का संक्रमितहरु आउलान् भनेर पूर्वतयारी नगर्नुको परिणाम रहेको विज्ञहरु बताउँछन्।

यसरी एउटा संक्रमण देखिनासाथ अस्पतालका सबै सेवा बन्द गरेर सिल गर्ने परिपाटीले कोरोनाभन्दा अन्य रोगका बिरामीहरुलाई बढी मार पर्ने अवस्था छ। काठमाडौंकै सरकारी अस्पतालमा लकडाउनयता १५० जना अन्य रोगका बिरामीले ज्यान गुमाइसकेका छन्। निजी अस्पतालको अझ हिसाब भएकै छैन। 

अहिलेको अवस्था हेर्दा संक्रमण झनै बढ्ने देखिँदैछ। 'हाम्रा अस्पताल तथा प्रयोगशाला झन् चुस्त दुरुस्त हुनु जरुरी रहेको बताउँछन् त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका जनस्वास्थ्यविद् प्राडा शरद वन्त।

‘संक्रमणको दर हेर्दा हाम्रा स्वास्थ्य संस्था क्‍वारेन्टाइनहरु झन् चुस्त बनाउनुपर्ने बला छ। यसमा स्वास्थ्य संस्था र सरकारको अझै तयारी गर्नु पर्ने जरुरी भइसकेको छ', उनले भने, 'एकजना संक्रमित देखिँदैमा दर्जनौँ चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई क्‍वारेन्टाइन गर्नुपर्ने अवस्था आउनुले महामारीको पूर्वतयारीमा गम्भीर लापरवाही पुष्टि हुन्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.