पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर जान दिन माग

|

रौतहट : रौतहटको राजपुर नगरपालिकामा रहेको क्वारेन्टाइनमै स्वास्थ्यकर्मी कुटिएका छन्।  राजपुर नगरपालिका–९ बैरियास्थित मदरसामा रहेको क्वारेन्टाइनमा रहेकाहरुको आरडिटी टेष्ट गर्ने क्रममा २ जना स्वास्थ्यकर्मीलाई कुटेका हुन्। 

क्वारेन्टाइनमा रहेकाहरुको एक समूहको कुटाईबाट राजपुर नगरपालिकाका स्वास्थ्य शाखाका सह संयोजक तथा सिनियर अहेव शेख खुसैद र स्वास्थ्यकर्मी र राम नरेश साह घाइते भएका छन्।

उनीहरुको टाउकोमा चोट लागेको राजपुर नगरपालिकाका स्वासथ्य शाखा संयोजक रबिन्द्र झाले जानकारी दिएका छन्। उक्त क्वारेन्टाइनमा रहेकामध्ये १ सय ८४ जनाको पिसिआर रिर्पोट नेगेटिभ आएपछि घर पठाउन आरडिटी टेष्ट गरिएको थियो। 

आरडिटी टेष्ट गर्दा नेगेटिभ आएकालाई मात्रै घर पठाउने निर्णय भएअनुसार परीक्षण शुरु गरिएको थियो। केही ब्यक्तिको रिर्पोट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि एक्कासि आक्रमण गरेको स्वास्थ्य संयोजक झाले जानकारी दिए। 

पिसिआर रिर्पोट नेगेटिभ आए पनि आरडिटी परीक्षण गराएर मात्रै  घर पठाउने नगरपालिकाको निर्णय भएको उनले बताए। उक्त क्वारेन्टाइनको माथिल्लो तलामा ७३ जना कोरोना संक्रमित छन्। 

पिसिआर रिर्पोट नेगेटिभ आएपछि आफुहरु घर जान पाउनु पर्ने माग उनीहरुको छ।  उनीहरुले ३ वटा मोटरसाइकल पनि तोडफोड गरेको राजपुर नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत बैजु ठाकुरले जानकारी दिएका छन्। घाइतेहरुलाई थप उपचारका लागि गौर ल्याउने तयारी भएको ठाकुरले जानकारी दिए।

अहिले त्यहाँको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय राजपुरका प्रहरी नायव निरीक्षक दीपक कुमार गुप्ताले जानकारी दिएका छन्। स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि त्यस क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.