|

रुकुम : रुकुम पश्‍चिमको चौरजहारी नगरपालिकास्थित सोती गाउँमा गत १० गते ६ जनाको ज्यान जाने गरि भएको घटनामा संलग्‍न भएको अभियोगमा पक्राउ परेकालाई थप १० दिन हिरासतमै राख्न अदालतले अनुमति दिएको छ।

अनुसन्धानका लागि ११ दिनको म्याद थप माग गरिएकोमा जिल्ला अदालत रुकुम पश्चिमबाट १० दिनको म्याद थप गरिएको श्रेस्तेदार कृतबहादुर बोहोराले जानकारी दिए। यो घटनामा मुछिएका चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्मरबहादुर मल्ल, वीरबहादुर मल्ल, प्रकाश मल्लसहित १८ जनालाई हिरासतमा राखिएको छ।

उनका अनुसार अब म्याद थप हुनसक्ने सम्भावना कम छ। ‘एकजना बालिकासमेत रहेका कारण फेरि म्याद थप हुनसक्ने सम्भावना कम छ, सायद यो म्याद सकिनुभन्दा अघि नै सरकारी वकिल कार्यालयबाट अभियोग दर्ता हुन्छ’ श्रेस्तेदार बोहराले भने, ‘अन्यलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने व्यवस्था भएपनि बालबालिकाको हकमा २१ दिन मात्र पाइन्छ ।’ 

पहिलो पटकलाई १० दिन हिरासमै राख्‍न आदेश भएको थियो। यो थप १० दिनसँगै जम्मा २० दिन हिरासतमा राख्‍ने आदेश हुन्छ। मृतक परिवारको तर्फबाट २० जनामाथि किटानी जाहेरी दर्ता भएपछि प्रहरीले १८ जनालाई पक्राउ गरि अनुसन्धान गरिरहेको छ।

जेठ १० गते सोतीस्थित मल्ल थरकी प्रेमिकालाई बिहे गरेर लैजान जाजरकोटबाट आएका युवामाथि गाउँलेले आक्रमण गरेका थिए। उनीहरुको आक्रमणमा ६ जना युवाको ज्यान गएको थियो। 

त्यस घटनामा परेर भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सन्दीप (सञ्जु) विक, लोकेन्द्र सुनार र गोविन्द शाहीले ज्यान गुमाएका थिए। त्यसैगरी रुकुम पश्चिम चौरजहारी नगरपालिकाका टीकाराम नेपालीको पनि हत्या भएको थियो। उनीहरु सबैको शव भेरी नदी आसपास भेटिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.