|

काठमाडौं : ‘विदेशी एजेन्ट’हरु नै सरकारमा पुगी गाडीमा प्रयोग गर्दै बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको छ। 

स्वतन्त्र राष्ट्रिय अभियान नेपालले माइतीघर मण्डलमा भेला भएर विरोध गरेका हुन्। विदेशी एजेन्ट होसियार, राष्ट्रघाती एमसिसी चाहिँदैनलगायत नारा उनीहरुले लगाएका थिए। उपस्थित प्रदर्शनकारीले झण्डा धोएर झण्डालाई सलाम गरेका थिए। 

त्यसैगरी अभियानले ७७ वटै जिल्ला समिति, नगर र गाउँ समिति तथा अभियानका २२ वटा देशमा रहेका शाखामा समेत राष्ट्रिय झण्डा धोइएको भन्दै सांकेतिक विरोध गरिएको जनाएका छन्। 

कार्यक्रममा अभियानका संयोजक तथा अधिवक्ता स्वागत नेपालले यस्तो सांकेतिक विरोध सबैभन्दा शक्तिशाली शान्तिपूर्ण विरोध कार्यक्रम भएको बताए। सन् २००० पेरुमा महिलाले मात्र आफ्नो देशको सरकारले विदेशीको इच्छाअनुसार जनघाती र राष्ट्रघाती सम्झौता गरेको विरोधमा राष्ट्रिय झण्डा धोएएका र त्यसैबाट सुरु भएको यस्तो विरोध आन्दोलनले अल्बर्टो फुजीमोरीको सरकार ढलेको उनले उदाहरण दिएका थिए। 

साथै उनले पवनपुत्र हनुमानले समेत आफ्नो झण्डा विरोधीहरुले अपवित्र बनाइदिएपछि जडीबुटी र जलले धोई पवित्र बनाएको पनि स्मरण गराए। कार्यक्रममा स्वतन्त्र राष्ट्रिय साहित्यकला अभियानका विभागीय अध्यक्ष साहित्यकार तथा अधिवक्ता कृष्ण प्रसाइ, अर्थ विभाग प्रमुख बोधनाथ न्यौपाने, विद्यार्थी अभियानका इञ्चार्ज के के थापा, केन्द्रीय सदस्य फत्ते परियार समेतले बोलेका थिए । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.