|

डडेल्धुरा : डोटीमा दुई महिलाले क्‍वारेन्टाइनमा शिशुलाई जन्म दिएकी छन्। दिपायल सिलगढी नगरपालिका २ खातिवडास्थित देवी माविमा रहेको क्‍वारेन्टाइनमा रहेकी २१ वर्षीया गीता आउजी र शिखर नगरपालिका ३ छडिमाडौंस्थित भवानी आवि खन्याडीमा रहेको क्‍वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्कीले शिशुलाई जन्म दिएकी हुन्।

पूजाले बिहीबार बिहान करिब साढे ५ बजेतिर उनले क्‍वारेन्टाइनभित्रै छोरा जन्माएको भवानी आधारभूत विद्यालयका प्रधानाध्यापक गणेश कठायतले जानकारी दिए। उनी सो नगरपालिका ३ नकुरालाका स्थायी बासिन्दा हुन् ।

कामको शिलशिलामा भारतको मुम्बै बान्द्रामा बस्दै आएकी पूजा सार्की कोरोना महामारीको जटीलताका कारण जेठ १५ गते डोटी फर्केकी थिइन्। उनका श्रीमान् गगनसिं सार्कीसँगै क्‍वारेन्टाइनमा रहेकी उनले सकुशल बच्चालाई जन्म दिएको बताइएको छ।

यस्तै गीताले बुधबार राती १ बजेर ४४ मिनेट जाँदा क्‍वारेन्टाइनभित्रै छोरा जन्माएको वडा नं २ का वडाध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए। उनी सो नगरपालिकाको वडा नं २ खुल्लेकका स्थायी बासिन्दा हुन्। कामको शिलशिलामा भारतको राजस्थान बस्दै आएकी गीता आउजी कोरोना महामारीका कारण यहि जेठ १२ गते डोटी फर्केकी थिइन्। 

भारतबाट आएका ७४ जनाको टोलीसँगै उनका श्रीमान अमर आउजी र पहिलो सन्तान पनि सँगै क्‍वारेन्टाइनमा नै रहेकी उनले सकुशल बच्चालाई जन्म दिएको खातीवडा स्वास्थ्यचौकी प्रमुख रामबहादुर भण्डारीले बताए। 

उनीहरुलाई क्‍वारेन्टाइनमै अलग्गै सुरक्षितसँग राखिएको छ। अहिले दुबै बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्यकर्मीको भनाइ छ। यसअघि पनि जेठ १६ गते शिखर नगरपालिका १ कपल्लेकीकी २७ वर्षीया मञ्जु खातीले सोही वडामा रहेको क्‍वारेन्टाइनमा छोरालाई जन्म दिएकी थिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.