डा. अधिकारी भन्छन् : लकडाउनले कोरोना समुदायमा पुगेन

|

काठमाडौं : कोरोना भाइरस नियन्त्रणका लागि चार चरणको रणनीति तयार पारेको छ। कोरोना भाइरसको फैलावटका आधारमा सरकारले यसविरुद्ध चार चरणको लडाईं तय गरेको हो। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता  डा. समिर अधिकारीका अनुसार सरकारले अहिले कोरोनाविरुद्धको पहिलो चरणको लडाईंबाट दोस्रो चरणमा प्रवेश गरेको बताएका छन्। 

नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघ्दै तीन हजार नजिक पुगिसकेको छ। बिहीबार मात्रै ३३४ जना संक्रमित थपिँदै जम्मा संख्या २६३४ जना पुगेको छ। यही क्रममा सरकारले जनस्वास्थ्य विपद अवस्थाको घोषणा गने तयारी गरेको छ।

सहप्रवक्ता अधिकारी कोभिड-१९ महामारी स्वास्थ्य क्षेत्र आपतकालीन योजना अनुसार संक्रमितको संख्या २ हजार नाघेपछि जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार जनस्वास्थ्य विपदको अवस्था घोषणा गर्न लागिएको बताउँछन्। 

बिहीबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै अधिकारीले कोरोनाबिरुद्ध दोस्रो चरणको लडाईं सुरु भइसकेको बताउँदै लकडाउनकै कारण समुदायमा कोरोना फैलिन नपाएको तर्क गर्छन्।

'कोरोनाविरुद्धको चरणको कुरा गर्दा हाम्रो रेस्पोन्सको चरणमा चाहिँ हेल्थ सेक्टरको इमरजेन्सी रेस्पोन्स प्लान बनाउँदा पहिलो चरणमा २ हजारसम्म केस हुँदा एउटा चरण भनेका छौं। यो अवस्थामा हरेक पोजेटिभ भएका केसहरुलाई हामीले अस्पताल लैजान्छौं', उनले भने, 'उहाँहरुको अवलोकन गछौं । त्यसमा उहाँहरुको कसरी विकास भइराखेको छ। लक्षण के समस्या आउँछ त्यो पछि हामीलाई त्यो अवलोकनले पछि केसहरु बढ्दै जाँदा हामीलाई अरु योजना बनाउन अरु रेस्पोन्स गर्न सजिलो हुन्छ भन्‍ने अर्थले पहिलो चरणमा त्यसरी काम भइराखेको हो।'

उनले दुई हजारभन्दा धेरै एक्टिभ केसहरु भएपछि दोस्रो चरणमा पुग्ने उनले बताए। 'दोस्रो चरणमा गइसकेपछि हामीले पब्लिक हेल्थ इमरजेन्सी डिक्लियर गर्ने कुराहरु हामीले प्लानमा राखेका छौं', उनले भने, 'त्यतिबेला हामीले को कोसँग सहयोग के के लिनुपर्ने हो? त्यसका लागि अलिक बढी तीब्रता दिने विषय र लक्षण भएकालाई मात्रै स्वास्थ्य संस्थामा लैजाने कुराहरु हामीले राखेका छौं ।'

सहप्रवक्ता अधिकारीका अनुसार त्यसपछि तेस्रो चरणमा ५ हजारभन्दा बढी केस भएपछि अर्को रणनीति बनाइने पनि जानकारी दिए। '५ हजार एक्टिभ केस भएको अवस्थामा थप अरु के के गर्नुपर्छ भन्‍ने कुरा गरेका छौं', उनले थपे, 'त्यसपछि चौथो चरण १० हजारभन्दा बढी केसहरु भएपछि हो। त्यसका लागि पनि हामी तयार छौं। हामीले चार चरणमा हाम्रो रेस्पोन्सलाई विभाजन गरी काम गरिरहेका छौं।'

लकडाउन नै औषधि 

अधिकारीले अहिलेसम्म सरकारले गरेको लकडाउन र अन्य प्रयासका कारण कोरोना समुदायमा फैलिन नपाएको बताए। 'विश्वव्यापी देशहरुमा तुलना गर्दा हामी राम्रो अवस्थामा छौं । हामीले राम्रो रेस्पोन्स गरेका छौं। हामीले ठूलो क्षति व्यहोरेका छैनौं', उनले भने, 'अहिले पनि हामीले लकडाउन पालना गरेका छौं। त्यसैको परिणाम यो सबै भएको हो। सुरुदेखि नै लकडाउन नभएको भए यसरी हामी सबैले दुःख कस्टका साथ पालना नगरिदिएको भए आजसम्म केसहरु समुदाय समुदायमा फैलिसकेको हुन्थ्यो।'

लकडाउन पालना नभएको अहिले धेरैलाई गुमाउनुपर्ने अवस्था आइसक्ने उनले बताए। 'त्यो अवस्था आएको छैन। त्यसैले लकडाउनलाई उलङ्घन गर्दा म बाहिर गए भने मैले संक्रमण लिएर आउने हो संक्रमण लिएर आउँदा घरमा मैले सबैभन्दा बढी माया गर्ने मेरो श्रीमान, मेरो श्रीमती, मेरो छोरा मेरो छोरी, दाई, भाई आमा, बुबा, काका, काकी, हजुरबुबा हजुरआमालाई सार्छु भन्‍ने बुझ्‍नुपर्छ', उनले भने, 'सारेपछि म सँग त रोगसँग लडने क्षमता होला म त निको हुन्छु मेरो भाइपनि निको होला तर मेरो वृद्धवृद्धा बा आमा मेरो श्रीमती, श्रीमान जसको रोगसँग लडने क्षमता कम हुन्छ। उहाँहरुलाई हामीले जोगाउन नसक्ने अवस्था आउन सक्छ । त्यसैले लकडाउनको पालना गर्नु जरुरी छ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.