|

तनहुँ : फल्नै लागेका धान, मकैलगायत अन्नबालीमा फौजी र गुबारो किरा लाग्दा जिल्लाभरका किसान यतिबेला  चिन्तित छन्। कोरोना भाइरस संक्रमणको चिन्ता एकातिर छ भने वर्षभरि लगाएर मिहिनेत गरेको अन्नमा किरा प्रकोप अर्कोतिर। 

जसले गर्दा आवश्यक मलजल गर्न पनि नपाएको किसानले दुखेसो गर्दै आएका छन्। जिल्लाका विभिन्न ठाउँमा अमेरिकन फौजी र गुबारो किराले बालीनाली सखापै बनाएको छ। 

लकडाउनले जनजीवन प्रभावित भएको अवस्थामा तनहुँका कृषक दोहोरो मारमा परेका छन्। तनहुँमा गुबारो किरा फाट्टफुट्ट देखिने गरेको भए पनि गत वर्षदेखि भने यहाँ अमेरिकन फौजी किरासमेत देखा पर्न थालेको जिल्ला कृषि ज्ञान केन्द्र तनहुँका कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मोहन प्रकाश श्रेष्ठ बताउँछन्।

समूह बनाएर फौजी किराले एकै पटक धेरै क्षति पुर्‍याउने गरेको किसानहरु बताउँछन्। व्यास, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिकामा फौजी किरा बालीमा लाग्न सुरु भइसकेको छ। देवघाट गाउँपालिकामा करिब एक हजार रोपनीमा लगाइएको मकैबाली यस्ता किरा देखिएका छन्। 

देवघाट १, ३ र ५ वडाका पिपलटार, कोटा, झारखानी, कालीमाटी, गोहीटार र भजनखोलालगायत क्षेत्रमा लगाइएको मकैबाली किराले सखाप पारेको देवघाट गाउँपालिका कृषि शाखाकी प्राविधिक सहायक नौमती गुरुङले जानकारी दिइन्। 

फौजी किरा एक रातमा एक सय किलोमिटरसम्म क्षेत्रफलमा लाग्ने र छोटो समयमा धेरै बालीमा लाग्ने भएकोले मकैबाली नपाए धान, कोदो, गहुँ र तरकारी बाली समेतमा क्षति पुर्‍याउने हुँदा समयमै विषादी प्रयोग गरी नियन्त्रण गर्न सकिने कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीको भनाइ छ। 

फौजी किरा रोक्न यस्तो सुझाउँछन् विज्ञ

कृषकले मकैको जात छान्दा खोष्टाले पूरै घोगा छोपिने जात छान्नुपर्ने श्रेष्ठ बताउँछन्। साथै मकैको पातको सतहमा कीराको अण्डा र लार्भा बनाउने हुँदा साबुनपानीमा डुबाएर त्यसलाई मार्न सकिने उनी सुझाव दिन्छन्। 

त्यसैगरी मकैको पातमा सिसाका झ्यालजस्ता आकृति देखिएमा निमजन्य विषादी एजाडिराक्टिन पाँच मिलिमिटर पानीमा मिसाएर छर्नेलगायत कार्य गर्न सकिने कृषि ज्ञान केन्द्रले जनाएको छ। 

‘जिल्लाका विभिन्न क्षेत्रबाट दैनिक कृषकले फोन गरेर जानकारी लिने गरेका छन्,’ उनले भने, ‘कीराको प्रकोपबाट बचाउन सकिने उपायबारे कार्यालयले जानकारी गराउँदै आएको छ, बन्दाबन्दीले समस्या परेका बेला कृषकको खेतबारीमा पुग्न भने समस्या छ।’ 

समुदायमा नै गएर सचेत बनाउनुपर्ने भए पनि लकडाउनका कारण जमघट हुन सक्ने अवस्था नहुँदा कृषकले दैनिक बालीको रेखदेख गर्दै स्पाइनेटोराम, इमामेक्टिन बेन्जोएट र स्पाइनोस्याडलगायत रासायनिक विषादी प्रयोग गर्न उनी सुझाउँछन्। 

‘निरन्तर एकै प्रकारका विषादी प्रयोग गर्दा कम प्रभाव पर्ने हुँदा आलोपालो गरी विषादी प्रयोग गर्नुपर्छ,’ उनले भने। धानचमरा निस्किएपछि विषादीको प्रयोग प्रभावकारी नहुने तिवारीले जानकारी दिए। 

समयमै रासायनिक विषादी प्रयोग गर्न सके बालीनाली जोगाउन सकिने उनको भनाइ छ। ‘किरा नष्ट गर्नतर्फ कृषकले बीउ रोप्नेदेखि नै चनाखो हुन जरुरी छ,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.