पुर्ख्याैली पेसामा रमाउँदै छन् स्थानीय
पुर्ख्याैली पेसामा रमाउँदै छन् स्थानीय
सोलुखुम्बु : लकडाउनका कारण अधिकांशको जनजीवन अस्तव्यस्त बनेको छ। तर हिमाली जिल्ला सोलुखुम्बुबासीका लागि भने लकडाउनले खासै प्रभाव पारेको छैन। यहाँका मानिसलाई यसले थप सिर्जनशील बनाएको छ।
२ वर्षदेखि अध्ययनको सिलसिलामा काठमाडौं बस्दै आएका महाकुलुङ गाउँपालिका पेल्माङका सुरेश कुलुङ अहिले गाउँघरमै भेटिन्छन्। उनलाई यतिबेला गफ गर्नेसम्म फुर्सद छैन। राजधानी पसेपछि गाउँघर भुलिसकेका कुलुङलाई कोरोना भाइरस एक हिसाबले अवसर बनेको बताउँछन्। माध्यमिक तह सम्मको अध्ययन गाउँमै पूरा गरेका सुरेशलाई अहिले बाबुबाजेको पेसा प्यारो लाग्न थालेको छ। यसैमा उनी व्यस्त छन्।
सुरेशलाई मात्र होइन, सोलुखुम्बुका अधिकांश मानिसलाई लकडाउनमा समय बिताउन समस्या छैन। माप्यदूधकोसी काँकुका ल्हाक्पा तामाङ पनि ३ वर्ष मलेसिया बसेर केहीअघि मात्रै गाउँ आएका थिए। वैदेशिक रोजगारीमा हुँदा बाँझो बनेको उनको खेतीयोग्य जमिनमा अहिले तरकारी तथा फलफूले भरिएका छन्।
अम्बा, कफी, खुर्सानी, चियाजस्ता बोटविरुवा रोप्ने, अन्य खेतीबाली गोडमेल गर्दै उनको दैनिकी बित्छ। विभिन्न पेसा व्यवसायका लागि जिल्लाबाहिर रहेका नागरिक यहाँका आठ वटै स्थानीय तहमा लगभग आइसके।
उनीहरुको जनजीवन कस्तो होला भन्ने धेरैलाई चासो र चिन्ता छ। तर उनीहरु गाउँमा आएर कृषि कर्ममा व्यस्त छन्, अरुका लागि उनीहरु उदाहरण भएका छन्।
‘लक डाउनमा गरिएको लगानीले भोलिको दिनमा आफैंलाई सहज हुन्छ’, काठमाडौंबाट आएर कृषिमा व्यस्त लोखिमका खेमप्रसाद राई भन्छन्, ‘भोकमारीको संकेत देखिँदै छ, भारतले नाकाबन्दी गर्छ रे भन्छन्, त्यसैले यो बेला सबैले मेहनतका साथ खेतीपाती गर्नुको विकल्प छैन।’
जिल्लाका अधिकांश गाउँका खेतीयोग्य जमिन बाँझो मात्रै भएन, पुर्ख्याैली पेसासमेत लोप हुँदै गएका छन्। आरन, भेडापालन, राडिपाखीलगायत पेसासमेत लोप हुँदै गएकाले यसको संरक्षण गर्नुपर्ने आवाज समेत उठिरहेका छन्।
करिब सात वर्षदेखि वैदेशिक रोजगारीमा समय बिताएका सोलुदुधकुण्ड ५ का सुब्बे विक पनि अहिले घरैमा छन्। यतिबेला उनी पनि पुरानो पेसा तामाको डाली बनाउन व्यस्त छन्।
सोलुखुम्बुको मुख्य कोसेलीको रुपमा प्रयोग गरिने तामाको डालीको माग धान्न नसेकेका विकलाई लकडाउन अवसर भएको छ। ‘जोकोहीलाई कोसेली पठाउन हाम्रै हातले बनाएको डाली पहिलो रोजाइमा पर्छ,’ उनी भन्छन्, ‘अहिले निर्माण गरेको डालीले लकडाउन खुलेपछिको माग धान्न सजिलो हुन्छ।’
तर कच्चा पर्दा अभाव हुनेमा चिन्तित छन् उनी। बुबाले समेत यो पेसालाई छाडेका छैनन्। उनीजस्तै अन्य पनि लक डाउनमा त्यत्तिकै बसेका छैनन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।