प्रदेशमा अटोमेटिक मेसिन र पिसिआर मेसीन थपिँदै

|

काठमाडौंः नेपालमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढिरहेका बेला परीक्षण भने कछुवाको गतिमा भइरहेको छ। संक्रमण भित्रिएको पाँच महिना हुँदासमेत सरकारले आवश्यक पूर्व तयारी गर्न नसक्दा परीक्षणले गति लिन नसकेको हो। 

पछिल्लो विवरणअनुसार देशभरका सातै प्रदेशमा रहेका सम्भावित कोरोना संक्रमितको करिब २० हजार स्वाब संकलन गरिएको छ, जुन परीक्षणका क्रममा छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभरका २१ वटा प्रयोगशालामा पिसिआर परीक्षण भइरहेको छ। ती प्रयोगशालामा एक दिनमा करिब ३ हजार बढी परीक्षण हुने गरेको छ।

यी प्रयोगशालामा दिनमा ५ हजारसम्म परीक्षण हुनुपर्नेमा क्षमता नहुँदा संकलित स्वाबको नतिजा आउन हप्ता दिनबढी लाग्ने गरेको छ। यही गतिमा परीक्षण हुँदा हालसम्म जम्मा भएका स्वाबको रिपोर्ट आउन अझै एक साता लाग्ने देखिन्छ। अहिले सुदूरपश्चिमबाहेक अन्य प्रदेशमा स्वाब संकलन भइरहेको छ। यसकारण स्वाब अझै बढ्ने अवस्था छ। त्यहीकारण रिपोर्ट आउन कति समय लाग्छ? भन्‍न सकिने अवस्था छैन। 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंमा दैनिक एक हजार नमुना परीक्षण हुनुपर्नेमा १५० देखि २५० वटा मात्र हुने गरेको बताइन्छ। त्यस्तै अन्य प्रयोगशालामा २ सय स्वाब परीक्षण हुनुपर्नेमा कुनै दिन परीक्षण नै नभएको पाइन्छ। 

हालसम्म सबैभन्दा धेरै प्रदेश २ मा ८ हजार ३९ वटा स्वाब परीक्षण गर्न बाँकी रहेको छ। प्रदेश ५ मा ४ हजार ७ सय ५३ वटा, प्रदेश १ मा १ हजार ७ सय ६२ वटा, कर्णाली प्रदेशमा १ हजार २ सय ७४ वटा तथा बागमति र गण्डकी प्रदेशमा एक–एक हजार स्वाब संकलन गरिएको छ।

सुदुरपश्चिम प्रदेशमा १ हजार ८३ वटा स्वाब संकलन भएपछि परीक्षण गर्न समय लाग्ने भन्दै एक साताका लागि संकलन रोकिएको छ। यो संख्या जोड्दा संकलन गरिएको स्वाबको संख्या १८ हजार ८ सय ६८ पुगेको छ। जसको पिसिआरको परीक्षण हुन बाँकी छ। 

हालसम्मको विवरणअनुसार प्रदेश १ मा १० हजार ५७ नमुना संकलन भएकोमा ८ हजार २ सय ९५ वटा स्वाब मात्र परीक्षण भएका छन्। प्रदेश २ मा १९ हजार ९५९ स्वाब संकलन गरिएकोमा अहिलेसम्म ११ हजार ९ सय २० वटा परीक्षण गरिएको छ।

बागमती प्रदेशमा १० हजार १ सय ३ स्वाब परीक्षण हुँदा गण्डकी प्रदेशमा ५ हजार ४९ वटा परीक्षण भएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त निर्देशक सपना सुवेदीका अनुसार त्यस प्रदेशमा दैनिक १५० देखि २ सयसम्म जाँच भइरहेको छ।

अहिले पनि दैनिक ३ सय वढी स्वाब संकलन भइरहेको छ। यस्तै प्रदेश ५ मा २० हजार ४ सय ३६ स्वाब संकलनमा १५ हजार ६ सय ८३ वटा परीक्षण गरिएको छ।

कर्णाली प्रदेशमा ९ हजार २ सय स्वाब संकलनमा ७ हजार ९२६ वटा परीक्षण भएको छ। त्यसैगरी सुदूरपश्‍चिम प्रदेशमा अहिलेसम्म कति परीक्षण गरियो भन्‍ने जानकारी भने प्राप्त हुन सकेन।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले भने थप पिसिआर मेसिनसहित हरेक प्रदेशमा अटोमेटिक मेसिन जडान गर्ने तयारी भइरहेको बताएका छ्न्। मेसिन जडानपछि कम्तीमा पनि हजार केश नयाँ थपिने प्रवक्ता देवकोटा बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.