|

सिर्जना अधिकारी (लमजुङ) : लमजुङका उच्च पहाडी भेगहरुमा जडिबुटी अवैध संकलन भइरहेको पाइएको छ। कोरोना महामारी नियन्त्रणका लागि लकडाउन गरिएको मौका छोपी जिल्लाका लेकहरुमा जडिबुटी संकलनका विभिन्न जिल्लाबाट मानिस पुग्ने गरेको थाहा थालेको हो।

विशेष गरी मर्स्याङ्दी गाउँपालिकाअन्तर्गत उच्च लेकहरुमा जडिबुटी संकलकहरु पुगेका हुन्। यतिबेला उच्च लेकहरुमा यार्सागुम्बा संकलनको समय भएकोले जिल्ला भित्र र जिल्ला बाहिरबाट समेत यार्सा संकलकहरु उच्च लेकमा पुगेका हुन्‌। 

जडिबुटी संकलन गर्ने सम्भावित क्षेत्रहरुमा केही दिनअघि गस्ती गरिएपनि रोकथाम गर्न कठिन भएको मर्स्याङ्दी गाउँपालिकाले जनाएको छ। स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुको समूहले गाउँपालिकाको बराह पोखरीलगायतका क्षेत्रमा गस्ती गरेपनि त्यो भन्दा पनि उच्च भेगहरुमा संकलकहरु पुगेको गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए। 

अध्यक्ष गुरुङका अनुसार भौगोलिक विकटता र खुला सिमानाका कारण जिल्ला भित्र र बाहिरी जिल्लाबाट समेत संकलकहरु उच्च लेकमा पुगेका छन्। कोरोना भाइरस संक्रमणको जटिल अवस्थामा बिना अनुमति संकलकहरु लेकसम्म पुग्ने गरेपनि हालको अवस्थामा नियन्त्रण गर्न कठिन भएको अध्यक्ष गुरुङको भनाई छ।आगामी वर्षबाट भने गाउँपालिकाले नै सिष्टम बनाएर जडिबुटी संकलनलाई वैध बनाउने र राजश्व संकलनलाई बढवा दिने तयारी गरेको अध्यक्ष गुरुङले बताए। 

डिभिजन वन कार्यालय लमजुङका अनुसार यसवर्ष कोभिड–१९ को कारण जडिबुटी संकलनका लागि पुर्जी वितरण भएको छैन। यद्यपी विना पुर्जी संकलकहरु उच्च लेकमा पुगिरहेका छन्‌। भौगोलिक विकटताका कारण नियमन गर्न कठिन भएको डिभिजन वन कार्यालयका प्रमूख मोहन काफ्लेको भनाई छ। 

उच्च लेकहरुमा सामान्य व्यक्ति पुग्नै कठिन र अन्य श्रोत साधनको समेत अभाव हुँदा प्रभावकारी नियमन गर्न नसकिएको कार्यालय प्रमूख काफ्लेले बताए। जडिबुटीको अवैध संकलन बारे आएको सूचनालाई आधार मानी आवश्यक अनुगमन र कारवाहिको प्रक्रिया अघि बढाउने उनको भनाई छ।  

जिल्लाको उच्च लेकहरुमा पाइने जडिबुटीबाट मात्रै पनि वार्षिक लाखौँ रुपैया राजश्व संकलन हुने गरेको छ। तर महत्वपुर्ण जडिबुटीको अवैध संकलन हुन थालेपछि राजश्व संकलन कमी आउनुको साथै अवैध क्रियाकलापले प्रश्रय पाउने सरोकारवालाहरु बताउँछन्। 

लमजुङमा यार्सागुम्बा, सतुवा, बन लसुन, टिमुर लगायतका दर्जनौ बहुमुल्य जडिबुटीहरु पाइन्छन्। अहिले यार्सा संकलनको समय भएको डिभिजन कार्यालयले जनाएको छ। श्रोतका अनुसार अवैध जडिबुटी संकलन सँगै उच्च लेकहरुमा अवैध शिकार पनि हुने गरेको छ।

आगामी वर्षहरुमा भने अवैध जडिबुटी संकलन, चोरी निकासी रोक्न स्थानीय सरकारसँग थप समन्वय गरिने डिभिजन वन कार्यालय लमजुङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.