काला खेलाडीमाथि मैदानमै अपमान, मिडिया पनि उकास्छन्

|

विश्‍व खेलकुदमा हरेक वर्ष रंगभेदी व्यवहारले चर्चा पाउँछ। अमेरिकामा अश्‍वेत जातिका जर्ज फ्लोइडलाई श्‍वेत पुलिस अधिकारीले घुँडाले घाँटीमा थिचेर मारेपछि विश्‍व खेलकुदमा रंगभेदको बहसले पुनः चर्चा पाएको छ।

विशेष गरेर फुटबलमा हुने रंगभेदको व्यवहारले मिडियामा राम्रै स्थान पाउँछ। सोमबार जर्मन बुन्डेस लिगामा पार्डबोर्नमाथि जित निकालेसँगै डर्टमन्डका केही खेलाडीहरूले फ्लोइडको न्याय मिल्नुपर्ने भन्दै टिसर्टमा लेखेर प्रदर्शन गरेका थिए।

त्यस्तै इङ्लिस क्लब लिभरपुलका खेलाडीले पनि फ्लोयडको हत्याविरुद्द ऐक्यबद्धता जनाएका छन्। सोमबार एनफिल्ड स्टेडियममा सेन्टरमा घुँडा टेकेर गोलो घेरा हाल्दै फ्लोयडको हत्याविरुद्ध ऐक्यबद्धता जनाएका हुन्। खेलाडीहरुले उक्त तस्बिर शेयर गर्दै 'ब्लाक लाइभ्स म्याटर्स’, 'युनिटी इज स्ट्रेन्थ’ लगायतका क्याप्सन दिएका छन्।

म्यानचेस्टर युनाइटेडका खेलाडी मार्कस रासफोर्डले फ्लोइडमाथि न्याय मागेका छन्। म्यान‍ युकै मिडफिल्डर पाउल पोग्बाले इन्स्टाग्राममा पोष्ट गर्दै लेखेका छन् ‘बितेका दिनमा मैले मिनियापोलिसमा के भयो भन्‍नेबारे मेरो भावना कसरी व्यक्त गर्ने भन्‍ने धेरै सोचेको छु। मैले रिस, दया, घृणा, क्रोध, पीडा, उदासी महसुस गरें। जर्ज र सबै काला मानिसका लागि दु:ख छ। जो हरेक दिन जातिवादबाट पीडित छन् ! चाहे फुटबलमा, काममा, स्कुलमा, जहाँ भए पनि! यो रोक्नुपर्दछ, एक पटक र सबैको लागि! भोलि वा अर्को दिन होइन, आज नै समाप्त गर्नुपर्नेछ!’

पोग्बा आफैं पनि रंगभेदी व्यवहारको सिकार भएका थिए। प्रिमियर लिगअन्‍तर्गत वुल्भसविरुद्ध बराबरी भएको खेलमा खेलमा पेनाल्टी सदुपयोग गर्न नसक्दा उनीमाथि रंगभेदी व्यवहार भएको थियो ।

त्यस विषयमा पोग्बाले ट्विट गरेका थिए। जहाँ आफनो सन्तानसहितको फोटो राखिएको थियो। स्वर्गीय पिता फासु एन्टोनी र नागरिक अधिकारका लागि लडेका मार्टिन लुथर किंगसँगै रहेको फोटोमा लेखेका छन्, ‘आफ्ना सन्तानहरु अहिले स्वतन्त्र हुन् भनेर मेरा अभिभावक र पूर्खाहरु लडेका थिए, हामीले काम गर्न सकौँ, हामी सजिलै बस चढ्न सकौँ, हामी फुटबल खेल्न सकौँ भनेर।’

शालीन खेलको पहिचान बनाएको क्रिकेटमा पनि रंगभेदको व्यवहार उत्तिकै छ। जसको सिकार बनेका थिए वेष्ट–इन्डिजका पूर्व कप्तान डयारेन सामी। इन्डियन प्रिमियर लिग दौरान सनराइजर्स हैदराबादबाट खेल्दा आफू र श्रीलंकन खेलाडी थिसारा परेरामाथि रंगभेद भएको सामीले आरोप लगाए।

‘प्रतियोगिताको क्रममा हामी दुबैलाई कालु भनेर धेरैपटक सम्बोधन भएको छ’, उनले भने, ‘आफू र परेरालाई कालु भनेर बोलाउँदा जसको अर्थ बलिलो घोडा भनेर बुझिदिन्थ्यौँ। तर होइन रहेछ, हामीलाई रंगभेदको सिकार बनाइएको रहेछ, यसले त रंग जनाउँदो रैछ। यसको अर्थ थाहा पाएर अहिले मलाई रिस उठिरहेको छ,’ उनले भनेका छन्।

क्रिकेटमा युनिभर्सल बोसका रुपमा परिचित क्रिस गेलले क्रिकेटमा पनि रंगभेद हुने गरेको धारणा राखेका छन्। रंगभेदबारे ट्विट गर्दै गेलले भनेका छन्, ‘काला मान्छेहरूको जीवन पनि अरूको जीवन जस्तो हुन्छ। ब्ल्याक लाइफ म्याटर्स, मैले सम्पूर्ण विश्‍व यात्रा गरेको छु र मेरो छाला कालो भएकै कारण जातीय कुरा सुनेको छु। रंगभेद बढ्ने क्रम जारी छ। जातिवाद फुटबलमा मात्रै होइन, क्रिकेटमा पनि छ। र, यो चारैतिर छ।

रंगभेदको सबैभन्दा बढी घटना फुटबल जगतमा पाइन्छ। फुटबल आफैंमा त्यसै चर्चित भएको होइन, यसका खेलाडीका कारण यो चर्चाको शिखरमा छ। तर, आलोचना र दुर्व्यवहारका कारण एउटा खेलाडीले आफ्नो खेल करिअर नै समाप्त पार्नु र त्यसैका आधारमा दर्शकमासमेत नकारात्मक धारणा विकास हुँदै आएको छ। त्यही रंगभेदी व्यवहारका कारण जर्मन फुटबलर मेसुट ओजिलले सन् २०१८ को विश्‍वकपपछि राष्ट्रिय टोलीबाट ९ वर्षे करियर अन्त्य गरे। ओजिल त्यसबेला ३० वर्षका मात्र थिए।

यो समय फुटबल करिअरमा खेलाडीको उच्च फर्मको उमेर हो। तर फुटबल मैदान बाहिरको व्यवहार ओजिलका लागि राष्ट्रिय जर्सी लगाउन सहज भएन। त्यसपछि अहिले प्रिमियर लिग क्लब आर्सनलको करिअरलाई विशेष ध्यान दिइरहेका छन्।

मुस्लिम समुदायका ओजिलमाथि रंगभेदको कारणका रुपमा टर्किस राष्ट्रपति रेसेप टाइप एर्दोगोनसँग खिचाएको फोटो र रुस विश्‍वकपबाट डिफेन्डिङ च्याम्पियन लिग चरणबाटै बाहिरिनुलाई लिइएको थियो।

सन् २०१४ को ब्राजिल विश्‍वकपको उपाधि दिलाउन ओजिलले महत्वपूर्ण भूमिका खेलेका थिए। समर्थक र जर्मन फुटबल संघबाटै ओजिलविरुद्ध नश्लवादी आरोप आएपछि उनी राष्ट्रिय टोलीबाट बाहिरिए। ओजिल तिनै खेलाडी हुन् जसलाई जर्मन फुटबल फ्यान्सहरुले ५ पटक वर्ष खेलाडी चुनेका थिए।

ओजिल जर्मनीमै जन्मिए पनि टर्किस मूलका मुस्लिम हुन्। तीन पुस्ताअघि ओजिलको परिवार उत्कृष्ट जीवनयापनका लागि जर्मनी गएको थियो। २ वर्षअघि ओजिलले ट्वीटरमार्फत सार्वजनिक गरेको अपिलमा आप्रवासी भएका कारण आफूलाई सदैव विभेद हुँदै आएको खुलाएका थिए।

त्यसैले पनि जर्मनी टिमबाट फुटबल खेल्न असमर्थ रहेको उनले स्पष्ट पारेका छन्। उनले लेखेका थिए, 'म जर्मनीमा हुर्किएँ, मेरो परिवारको पृष्ठभूमिमा यसको दुई जरा टर्कीमा आधारित छ। त्यसैले मेरो दुईवटा हृदय छ। एउटा जर्मनी, अर्को टर्किस।’ ओजिलको ट्विटमा जातिवादबारे लेखिएको छ ‘जब म जित्छु, तब म जर्मन हुन्छु। र, जब म हार्छु, तब एक प्रवासी नागरिक हुन्छु।’

भर्खरै ओजिलको स्पोर्टस् ब्रान्ड एडिडाससँग ७ वर्षे सम्झौता नवीकरण भएन। यसको मुख्य कारण विश्‍व फुटबलबाट सन्यास र टर्किस राष्ट्रपतिसँगको विवादास्पद फोटो भएको चर्चा चल्यो। यद्यपि अन्तराष्ट्रिय संचारमाध्यमहरुले साझेदारी विस्तार नगर्ने निर्णय ओजिलले गरेको कुनै पनि विवादसँग नजोडिएको उल्लेख गरेका छन्। ओजिलसँगको २२ मिलियनको सम्झौता सन् २०१३ मा भएको थियो।

जुन समय उनी रियल मड्रिडबाट प्रतिसाता ३ लाख ५० हजार पाउन्ड आम्दानी गर्थे। तर जर्मन राष्ट्रिय टोलीको स्पोर्ट्स किट पार्टनर एडिडाससँग ओजिलको सम्झौता १७.५ मिलियन पाउन्डसम्म मात्र जारी रहयो।

फुटबलमा रंगभेदी र नश्लवादी आरोप भोग्‍ने ओजिल मात्र एक्ला होइनन्। यसको फेहरिस्त लामै बन्छ। बार्सिलोनाका राइट व्याक डिफेन्डर ड्यानी अल्भेसले समेत रंगभेदको व्यवहार भोगे। सन् २०१४ मा ला लिगाअन्‍तर्गत भिल्लारियलको मैदानमा कर्नर किक प्रहार गर्न लाग्दा दर्शकदीर्घाबाट केरा फालियो

उनले त्यो केराको एक टुक्रा खाए र कर्नर किक प्रहार गरे। स्पेनमा काला वर्णका खेलाडीलाई जिस्काउँदा र होच्याउँदा बाँदरको संज्ञा दिने गरिन्थ्यो। त्यो केरा त्यसैको प्रतीक थियो।

केरा हान्‍ने भिल्लारियलका सर्मथकलाई पक्राउ गरिएपछि ब्राजिलियन अल्भेसले प्रतिक्रिया दिँदै भनेका थिए, 'मलाई आशा छ कि यो (अभियान) फुटबलबाट पूर्ण रूपमा यस किसिमको मनोवृत्तिमाथि प्रतिबन्ध लगाउन सर्तक हुन सक्छ। नश्लीय पूर्वाग्रहबारेमा बहस हराउने छैन, स्थायी रुपमा रहनेछ र फुटबलमा मात्र सीमित रहनेछैन।’

स्पेनी फुटबल संघले भिल्लारियल घरेलु मैदानमा भएको घटनालाई लिएर क्लबलाई १५ हजार डलर जरिवाना तिराएको थियो। त्यसैरी सन २०१५ मा ला लिगाकै दौरान इस्पान्योलका सर्मथकले ब्राजिलको जोडी नेयमार र ड्यानी अल्भेसलाई बाँदरको संज्ञा दिएका थिए।

सन् २०१२ मा इङल्यान्ड टिमका पूर्व कप्तान जोन टेरीलाई रंगभेदी आरोप लागेको थियो।  उनले इंग्ल्यान्ड फुटबल टिमका पूर्वकप्तान रियो फर्डिनान्डका भाइ क्‍विन्सपार्क रेन्जर्स (क्युपिआर) का एन्टोन फर्डिनान्डले रंगभेदको आरोप लगाए। प्रिमियर लिग दौरान चेल्सीका टेरीले रंगभेद गरेको भन्दै अदालतमा मुद्दासमेत परेको थियो। यद्यपि आरोप प्रमाणित भएन। ४ दिनपछि उनले सफाइ पाएका थिए। त्यसलगतै टेरीले राष्ट्रिय टोलीबाट सन्यास लिए।

मिडियासँग स्टर्लिङको आक्रोस : काला खेलाडीमाथि हुने रंगभेदी व्यवहार मिडियाले उकास्छन्

सन् २०१८ को अन्त्यमा म्यानचेस्टर सिटीका फरवार्ड रहिम स्टर्लिङले फुटबलमा खेलाडीले भोग्‍नुपर्ने रंगभेदी व्यवहारवारे सार्वजनिक रुपमा आक्रोश पोखेपछि विश्‍व फुटबलमा यस्ता घटनाहरु धेरै बाहिर आउन थालेका छन्।

स्टर्लिङले काला खेलाडीमाथि हुने रंगभेदी व्यवहारलाई सञ्‍चारमाध्यमले झनै उकास्‍ने गरेकोसमेत गुनासो गरेका थिए। स्टर्लिङ्गले आफ्नो सामाजिक पोष्टमा म्यानचेस्टर सिटीका साथी तोसिन अदाराबियोले खरिद गरेको घरकोबारेमा मेल अनलाइनमा लेखिएको समाचारको शीर्षक उल्लेख गरेका छन्।

मेल अनलाइनले २० वर्षे डिफेन्डर अडाराबिओयो (जो तत्कालीन समयमा वेस्टब्रोममा ऋणमा थिए, हाल ब्ल्याक बर्नस रोबरमा छन्) लाई औंल्याउँदै हेडलाइनले ‘प्रिमियर लिग खेल सुरु नगरे पनि सम्पत्तिमा उसले २.२ मिलियन डलर कसरी खर्च गर्‍यो’ भन्दै आलोचनासहितको समाचार प्रकाशन गरेको थियो। त्यसैगरी १८ वर्षीय फिल फोडेनले आफनी आमाका लागि २ मिलियन पाउन्डमा खरिद गरेको घर र पछि भविष्यबारे चर्चासहितको समाचार छापेको थियो। 

नाइजेरियन मुलका अडराबिओयोले सन २०१२ देखि २०१५ बीचको अवधिमा इङल्यान्डको यु-१६ देखि यु-१९ राष्ट्रिय टोलीबाट खेलेका छन्। उनले १६ वर्षको उमेरमा इङल्यान्डको यु–१८ टिमको कप्तानी गरेका थिए। यता फोडेनले सन् २०१५ यता उमेर समूहबाट प्रतिनिधित्व गरिरहेका छन्।

स्टर्लिङ आफैं पनि बारम्बार रंगभेदको सिकार भएका छन्। सन् २०१३ जनवरीमा एसी मिलानका मिडफिल्डर केभिन प्रिन्स बोएटिङले रंगभेदी नाराको सामना गर्न पुगे। दोश्रो श्रेणीको क्लब प्रो पेट्रिआविरुद्धको मैत्रीपूर्ण खेलमा घानाका मिडफिल्डरविरुद्ध रंगभेदको नारा लाग्यो।

त्यसपछि उनले मैदानको बीच भागबाटै बल विपक्षी समर्थकतिर प्रहार गरे। खेलको पहिलो हाफको २६औँ मिनटेमा लगाइएको रंगभेदी नारा कम नभएपछि बोएटिङ जर्सी खोल्दै मैदानबाट बाहिरिए। रेफ्रीले खेल रोके र सबै खेलाडी मैदानबाहिर आए। एक खेलाडीप्रति भएको दुव्र्यवहारविरुद्ध सारा टोली खडा भएको यो नै पहिलो घटना थियो। बोएटिङ हाल स्पेनिस क्लब बार्सिलोनाबाट खेल्छन्।

त्यसलगतै बोएटिङले ट्विट गर्दै लेखे ‘लज्जित छ कि यी कुराहरू अझै हुन्छ ...’ नश्लवादविरुद्ध लड्न प्रेरित गरेको भन्दै बुन्डेसलिगा क्लब फ्रेन्कफर्टमा रहँदा उनलाई सन् २०१७ मा डब्लुडिआर रेडियो वान लाइभ क्रोनमा विशेष विधाको अवार्ड दिइएको थियो। जुन पाउने उनी पहिलो फुटबलरसमेत हुन्। उनले त्यो अवार्ड रंगभेदविरुद्ध लड्नेका लागि सर्मपण गरेका छन्।

गत विश्‍वकप दौरान रंगभेदी ब्यानरका कारण आयोजक रुसलाई अन्तराष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० हजार स्विस फ्रयान्क जरिवाना लगाएको थियो। उरुग्वेविरुद्धको खेल चलिरहेका बेला रुसका प्रशंसकले रंगभेद झल्किने ब्यानर प्रर्दशन गरेको फिफाले जनाएको छ। त्यस्तै सर्बियाले ब्राजिलसँगको खेलमा राजनीतिक तथा अपमानजनक शब्दसहितको ब्यानर प्रदर्शन गरेका कारण १५ हजार पाउण्ड जरिवाना लगाएको थियो।

रंगभेदको बढी पीडित बालाटोली

बढी रंगभेदी व्यवहार भोग्‍नेमा इटालियन फुटबलर मारियो बालाटोली रहेका छन्। २९ वर्षीय बालाटोली करियरका अधिकांश अवधिमा रंगभेदमा परिरहेका छन्। उनी इन्टर मिलानका लागि खेल्दा प्रतिद्वन्द्वी प्रशंसकले उनलाई ‘त्यहाँ कालो इटालियन छैनन्’ भन्‍ने नारा लगाउँथे। र, उनी एसी मिलानबाट एस रोमाविरुद्ध सन् २०१३ मा खेल्दा सबैभन्दा बढी रंगभेदीको सिकार भएका थिए। सन् २०२० को सुरुवातमा लाजियोविरुद्धको खेलमासमेत बालाटोली रंगभेदको सिकार बन्‍न पुगेका थिए।

उनलाई कालो बाँदरको संज्ञा लाग्दै आएको छ। फ्रेन्च लिग वानको नाइस क्लबमा खेल्दा उनलाई कालो बाँदर भन्दै दर्शकहरुले अभद्र व्यवहार गरेको उनी बारम्बार गुनासो गर्छन्। हाल सिरिए क्लब ब्रेसियमा रहँदा पनि उनीमाथि रंगभेदको व्यवहार उस्तै छ। सन् २०१२ को युरो कपको दौरान स्पेनी फुटबल समर्थकहरूले इटालीका बालाटोलीलाई इंगित गर्दै बाँदरको स्वर निकालेका थिए।

स्पेन र इटालीबीच १-१ को बराबरी खेलपछि समर्थकहरूले यस्तो व्यवहार गरेका थिए। त्यसअघि त्यही प्रतियोगितामा बालाटोलीमाथस क्रोएसियाली समर्थकले रंगभेदी व्यवहार गरेको आरोपमा कारवाहीसमेत गरिएको थियो।

नेपाली फुटबल पनि छैन अछुतो

रंगभेदको व्यवहारबाट नेपाली फुटबल पनि अछुतो छैन। ६० को दशकयता गेम चेन्जर बन्दै आएका अफ्रिकीमूलका खेलाडीहरु अभद्र व्यवहारको सिकार भएका छन्। गत वर्षको शहिद स्मारक लिगमा जावलाखेलमा फरवार्ड ड्याडी जुनियर वाम्बाले विभागीय टोली त्रिभुवन आर्मीका कप्तान भरत खवासले आफूमाथि रंगभेदी व्यवहार गरेको आरोप लगाए।

नवौँ चरणको खेल चलिरहको थियो। पहिलो हाफको इन्ज्युरी समयमा जावलाखेलले फ्री-किक पाएको थियो। त्यो ‘डेड बल’ प्रहार गर्ने क्रममा रहेका आफ्नै साथीलाई रोक्दै वाम्बाले बल समाते अनि उनले आफूलाई भरतले ‘मंकी’ (बाँदर) भनेको भन्दै रेफ्री कविन व्यन्जनकारलाई सुनाए।

रेफ्रीले खेलमा खासै वास्ता गरेनन्, सुचारु गर्न लगाए । दाफिन्स नामको क्लब बनाएर क्यामरुनी खेलाडी नेपाल आएका थिए। वाम्बाले ‘प्लेयर बक्स’ मै पुगेर पनि प्रशिक्षक र अफिसियललाई भरतले दुईपल्ट बाँदर भनेको भन्दै खेल्न नचाहेको बताएका थिए । पछि साथीहरूले सम्झाइबुझाइ गरेपछि मात्रै उनी खेललाई निरन्तरता दिन तयार भएका थिए ।

रंगभेदी व्यवहार बढ्दै : किक इट आउट

रंगभेद विरोधी संस्था किक इट आउटको तथ्याङ्क अनुसार फुटबलमा हुने भेदभावपूर्ण व्यवहार पछिल्लो समयमा ३२.३ प्रतिशतले वृद्धि भएको छ। तथ्यांक अनुसार २०१८/१९ मा विश्‍व फुटबलमा ४२२ वटा भेदभावपुर्ण व्यवहार गरिएको थियो। जुन अघिल्लो वर्ष ३१९ थियो।

विश्‍वासमा आधारित भेदभाव जसमा इस्लामफोविया र दुश्मनी वा यहुदीहरुविरुद्धको पूर्वाग्रहमा ७५ प्रतिशतले बृद्धि भएको छ। यो संख्या ३६ वटा ६३ पुगेको तथ्यांकमा देखाइएको छ।

विभिन्‍न अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यम एवम् खेलाडीको सामाजिक सञ्‍जालको पोष्टका आधारमा  तयार पारिएको

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.