प्रवास

डेनमार्कबाट ‘एक साथीलाई घर पठाऔं’ अभियान सुरु

असार २८, २०७३

    काठमाडौं: नेपालको पर्यटन प्रर्वधनका लागि यूरोपको डेनमार्कबाट ‘एउटा साथीलाई घर पठाऔं’ अभियान सुरु गरिएको छ। 

    नेपाल भ्रमण वर्ष सन् २०१८ लाई लक्षित गरेर नेपाल पर्यटन बोर्डले कोपनहेगनबाट एउटा साथीलाई नेपाल पठाऔं अभियान सुरु गरेको हो। डेनमार्कबाट बार्षिक नौ देखि १० पर्यटकले मात्र नेपाल भ्रमण गर्ने गरेकामा यो संख्यालाई १५ हजार पुर्‍याउने लक्ष्यसहित सोमबारदेखि सुरु गरिएको अभियानमा डेनिस पर्यटकलाई नेपाल जानका लागि प्रेरित गरिनेछ। 

    सोमबार सुरु गरिएको अभियान अन्तर्गत चार जना डेनिस नागरिकलाई डेनमार्कको कोपनहेगन विमानस्थलमा नेपाल पर्यटन बोर्डका प्रतिनिधि एवं एनआरएनए आइसीसी सदस्य सोम सापकोटाले ढाकाटोपी, खादा र अविर लगाएर बिदाई गरेर कार्यक्रमको सुरुवात गरे। उनले डेनिस नागरिकलाई नेपालमा घुम्नै पर्ने ठाउँहरुको बारेमा जानकारी सहित नेपाल भ्रमणका लागि शुभकामना दिएका छन्। एक जनाले एक विदेशीलाई नेपाल भ्रमणमा पठाउन सके नेपालको सामाजिक आर्थिक अवस्था बदल्नका लागि सहयोग पुग्ने सापकोटाले बताए।  

    परिवारका तीन सदस्य सहित मोर्टेन रोलस्डेले आफू नेपाल भ्रमण गर्न लागेको र नेपाल पर्यटन बोर्डको तर्फबाट यो अभियान सुरुवात गरेको जानकारी पाउँदा खुसी व्यक्त गर्दै नेपालको पर्यटन बोर्डले गरेको कार्यक्रमले थप उत्साही भएको बताए। उनी परिवारका सदस्य सहित तीन हप्ताका लागि नेपालका विभिन्न ठाउँको भ्रमणमा आएका छन्। उनले भने, ‘म नेपालको शुभ चिन्तक हूँ। नेपाल बसाइका क्रममा मैले नेपालको मनमोहक ठाउँको भ्रमण मात्र गर्नेछैन। मैले त्यहाँ केही सामाजिक क्षेत्रमा पनि काम गर्ने सोच बनाएको छु।’ 

    नेपाल बसाइका क्रममा उनले विभिन्न सामाजिक क्षेत्रमा पनि काम गर्ने बताएका छन्। बोर्डका मानार्थ प्रतिनिधि एवं एनआरएनए नेता सापकोटाले 'साथीलाई नेपाल पठाऔं' भन्ने अभियान यूरोपका अरु देशबाट पनि छिट्टै शुरु गर्नेगरी यूरोपका अन्य पर्यटन बोर्डका प्रतिनिधिसँग छलफल भैरहेको जानकारी दिए। उनले भने, ‘यो अभियानमा हामीले एक जनाले कम्तीमा पनि एक जना साथीलाई नेपाल जान प्रेरित गर्न यूरोपमा बस्ने सबै नेपालीलाई अनुरोध गर्नेगरी अभियान बिस्तार गर्ने योजनामा छौं।’

    लगत्तै यूके र आयरल्याण्डबाट यो अभियान सुरु गर्ने तयारी पनि गरिएको छ। आगामी सेप्टेम्बर र अक्टोबर महिनामा सामुहिक रुपमा एकै पटक यूरोपका सबै देशबाट यो अभियान संचालन गर्ने तयारी गरिएको बताइएको छ। केही समयअघिदेखि सापकोटाले यूरोपबाट नेपालको पर्यटन प्रर्वधनमा विभिन्न कार्यक्रम गर्दै आएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल[email protected]
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: [email protected]

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]